शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङ र मनाङवासीलाई सधै खरखरे पहिरोको त्रास

मङ्गलबार, ३१ साउन २०७९, १२ : ५७
मङ्गलबार, ३१ साउन २०७९

लमजुङको बेंसीशहर नगरापालिका- ६, बेलाउती बसौनानजिकै रहेको खरखरे पहिरोका कारण सिङ्गो मर्स्याङ्दी गाउँपालिका र मनाङबासीले वर्षौंदेखि सास्ती भोग्दै आएका छन् । हिउँद महिना जेनतेन चले पनि बर्खा लाग्ने बित्तिकै यो पहिरोले यातायात ठप्प हुन्छ । २०४७ सालमा घनपोखरा निवासी खगेन्द्रजङ गुरुङ र खुदी निवासी शेरबहादुर भण्डारीको नेतृत्वमा बेसीशहर खुदी सडक निर्माण सुरु भएको थियो ।

सोही वर्ष बेंसीशहर-खुदीसम्मको कच्ची सडक तयार भइ यातायात सञ्चालन भयो । स्थानीयवासी आफ्नो गाउँ ठाउँमा यातायात चलेकोमा खुसीले गदगद भए । तर, उक्त खुसी धेरै समय टिक्न पाएन । सोही सालको बर्खामा खरखरेमा ठूलो पहिरो गएर बर्खाभरि यातायात रोकियो ।  यसरी खरखरे पहिरोले यातायात ठप्प हुनेक्रम प्रत्येक वर्ष उही नियति भोगिरहनु परेको छ । 

खरखरे पहिरो रोकथाम र सडक दिगो बनाउने कुरामा यहाँका सरोकारवाला निकाय ३२ वर्षसम्म के हेरेर बसेका छन् स्थानीयवासीले प्रश्न गरिरहेका छन् । केन्द्रीकृत राज्य व्यवस्थाले तल दूरदराजका समस्या देखेन भनेर संघीय व्यवस्थामा देश गयो । संघ, प्रदेश र स्थानीय सरकारले काम गर्न थालेको पनि ६ वर्ष भइसक्यो । अझैसम्म यी कसैको पनि नजर खरखरे पहिरोमा जान सकेन । 

प्रत्येक निर्वाचनमा यही बाटो देखाएर सबै पार्टीका चुनावी मसला बनाइन्छ तर स्थायी समाधान गर्ने विषयमा किन दलहरू सम्बेदनशील छैनन ? भनी प्रश्न गर्छन् मर्स्याङ्दी गाउँपालिका-९ का भद्रमोहन थापा । सबैभन्दा ठूला र धेरै जलविद्युत आयोजना उत्तरी लमजुङमै पर्छन् र यही मार्ग भएर जानुपर्छ ।

आयोजनाका ठूला र वजनदार मेशिन, गाडीहरू समेत यही बाटो भएर लैजानुपर्छ । ती ठुला गाडीहरू सजिलोसँग दोहोरो पास हुनेगरी स्तरीय सडक निर्माण गर्ने आयोजनाको योजनामै हुन्छ । तर, यी आयोजनाहरूले किन सडक मर्मतसम्म पनि गर्दैनन् ? थापा भन्छन्( २०२४ सालमा त्रिशुली देवीघाट जलविद्युत आयोजनाले काठमाडौंको बालाजुदेखि दोलखा देवीघाटसम्मको सडक निर्माण गरेर आयोजना पूरा गरेको थियो ।

सडक, पुल निर्माणका लागि आयोजनाले बजेटमै राखेको हुन्छ । तर, यहाँका आयोजनाले यो बजेट कहाँ खर्च गर्‍यो ? स्थानीय सरकार, सरोकारवाला, नागरिकले खोज्नुपर्दैन उनी प्रश्न गर्छन् ?  मर्स्याङ्दी(९ को वडाअध्यक्ष हरिशचन्द्र थापा, मर्स्याङ्दी(३ का अध्यक्ष दुधमान तामाङ र  बेंसीशहर नगरपालिका-६ का अध्यक्ष प्रकाश थापासहितको टोलीले केही दिन अगाडी बाटोको विषयमा मर्स्याङ्दी गाउँपालिकाको कार्यालय र बेंसीशहर नगरपालिकाको कार्यालयमा डेलिगेसन गएका छन् । अब पर्यटनको सिजन र चाडबाडको समय आएकाले छिटोभन्दा छिटो सडक मर्मत गरेर सञ्चालन गर्न माग राखेको अध्यक्ष थापाले बताए । 

पहिरोले गाडी रोकिएपछि उत्तरी लमजुङ र मनाङका व्यापारीको सामान लैजान समेत पाएका छैनन् । स्थानीयबासीमा दैनिक उपभोग्य वस्तु लैजान पनि धेरै कठिनाई परेको छ । वर्षा रोकिएपछि सामान्य मर्मत गरेर हिउँद भरि यातायात चलाउने काम मात्रै हुँदै आइरहेको छ । तर, दिगो संरचनासहितको सडक निर्माण गर्ने कुरामा अझै योजना बनेको छैन । सडक डिभिजन कार्यालयले बेसीशहर चामे सडक फराकिलो बनाउने, नाली बनाउने काम गरिरहेको छ ।

बेलाउती बिसौनाबाट मर्स्याङ्दीमा पुल हालेर लेते लैजाने र फेरि अर्को पुल हालेर मलेबगरमा जोड्ने योजना सडक डिभिजन कार्यालयको रहेको छ । यो काम कहिलेसम्म सम्पन्न हुने हो अझै अन्योल छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप