शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१० जना केन्द्रीय सदस्य मनोनित गर्दा देउवाले दिए चार नेतालाई भाग

मङ्गलबार, ३१ साउन २०७९, २० : ५१
मङ्गलबार, ३१ साउन २०७९

नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले १० जना महिला केन्द्रीय सदस्य मनोनित गरेका छन् । केन्द्रीय कमिटीमा महिला सहभागिता ३३ प्रतिशत पुर्याउन देउवाले मंगलबार १० जना केन्द्रीय सदस्य मनोनित गरेका हुन् । काँग्रेस केन्द्रीय समितिमा यसअघि ४३ जना महिलाको उपस्थिति थियो ।

अब १० जना थपिएका छन् । १० जना महिला केन्द्रीय सदस्य मनोनित गर्दा सभापति देउवाले शेखर कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र शशांक कोइराला निकटलाई पनि समेटेका छन् ।

यसअघि पार्टीमा एकलौटी गरेको आरोप खेप्दै आएका देउवाले मंगलबार शेखर पक्षबाट २ , प्रकाशमान, सिटौला र शशांक निकट १–१ जनालाई केन्द्रीय सदस्य मनोनित गरेका हुन् । मनोनित हुनेमा केन्द्रीय सदस्यमा पराजित हुनेदेखि क्षेत्रीय सभापतिमा पराजित भएका महिला नेतृसम्म रहेका छन् ।

देउवाले शेखर पक्षकी यादव र रुक्मिणी कोइरालालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् भने शशांक काेइराला  निकट उर्मिला थपलिया पनि केन्द्रीय सदस्यमा मनोनित भएकी छिन् । शेखर कोइराला निकट किरण यादव र  रुक्मिणी कोइराला १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएकी थिइन् भने शशांक कोइराला निकट उर्मिला थपलिया पनि केन्द्रीय सदस्यमा पराजित भएकी थिइन् । नेविसंघकी पूर्वमहामन्त्री थपलियालाई शेखर समूहले टिमबाट हटाएको थियो ।
यस्तै नेता कृष्णप्रसाद सिटौला निकट धना खतिवडालाई पनि देउवाले केन्द्रीय सदस्य मनोनित गरेका छन् । महिला संघकी निवर्तमान महासचिव खतिवडाले महिला संघको अध्यक्षमा आकांक्षा राखेकी थिइन् । महिला संघको अध्यक्षमा उषा राउत मिश्रलाई मनोनित गरेका देउवाले खतिवडालाई केन्द्रीय बनाएका छन् । देउवाले प्रकाशमान सिंह निकट कल्याणी रिजाललाई पनि केन्द्रीय सदस्य बनाएका हुन् । रिजालले महिला संघमा लामो समय काम गरेकी थिइन् ।​

देउवा पक्षबाट भने राधा घले, गोमा भट्टराई, गंगा शाही, लक्ष्मी खतिवडा र  सीता देवकोटा केन्द्रीय सदस्य भएका छन् । बागमती प्रदेश काँग्रेसकी मुख्य सचेतक हुन् भने खतिवडा सुनसरी क्षेत्र नम्बर १ को सभापतिमा पराजित भएकी थिइन् ।  शाही रुपन्देही महिला संघकी अध्यक्ष थिइन् भने गोमा भट्टराई केन्द्रीय सदस्यमा पराजित भएकी थिइन् । ​गंगा शाही गृहमन्त्री बालकृष्ण खाणको सिफारिसमा केन्द्रीय सदस्य भएको बुझिएको छ ।​

याे पनि


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप