शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमालेको चुनाव चिह्न लिँदा हारिन्छ, त्यसैले माओवादी रोजेँ : वामदेव गौतम

मङ्गलबार, ३१ साउन २०७९, १६ : ०४
मङ्गलबार, ३१ साउन २०७९

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले निर्वाचनमा जित सुनिश्चित गर्नका लागि नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न रोजेको बताएका छन् । मंगलवार आगामी निर्वाचनमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिन्हबाट चुनावमा सहभागी बन्ने सम्बन्धी नियम, कानुनबारे जानकारी लिन निर्वाचन आयोग पुगेका गौतमले यस्तो बताएका हुन् । 

नेकपा एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका उनले चुनाव जित्ने आधार भनेकै गठबन्धन भएको बताए ।  गौतमले माओवादी केन्द्रको तर्फबाट चुनाव लडेर जितेपछि पनि संसदमा आफ्नो भूमिका स्वतन्त्र उम्मेदवारको रुपमा रहने जिकिर गरे ।

उनले नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिष्पर्धा गर्दा हार्ने सुनिश्चित रहेको जिकिर गरे ।  हँसिया हथौडाको पछि गठबन्धन रहेको र गठबन्धन अनेक हिसावले अरु सबै गठबन्धन र पार्टी भन्दा अघि रहेकाले माओवादीको चिह्नबाट जित्न सहज भएको उनको जिकिर छ । उनले इमान्दारिसाथ गठबन्धन गर्ने हो भने अन्य पार्टीले जित्ने ठाउँ र आधार नै नरहेको जिकिर गरे । उनले गठबन्धनमा नै विद्रोही निस्किएको खण्डमा केही ठाउँमा अन्य पार्टीले जित्ने तरपनि गठबन्धन अगाडि नै रहने दाबी गरे । 

उनले भने, ‘हामी गोलाकार भित्र हँसिया हथौडा चुनाव चिन्ह लिएर चुनावमा जाने भन्ने प्रचण्ड र मेरो बीचमा सहमति भयो । समझदारी बन्यो । त्यसअनुसार जाँदा कानूनी प्रक्रियाहरु के छन्, भोलि गाह्रो पर्ने हो की, सजिलो हुन्छ कि, कसरी मिल्नसक्छ भन्ने सन्दर्भमा कानून विभागका प्रमुखसँग सल्लाह गर्न आएको हुँ । माओवादी केन्द्रको तर्फबाट चुनाव लडेर गएपनि म स्वतन्त्र हो, त्यसरी मैले भुमिका निर्वाह गर्छु सदनमा । प्रत्यक्षमा उम्मेदवार दिनुभन्दा पहिले मैले राष्ट्रिय सभा सदस्यको पद छोड्नुपर्छ । छोडेर राजीनामा स्वीकृत भएको व्यक्ति भएर आफैँ प्रमाण बनेर उम्मेदवार दिन जानुपर्छ । म अहिले सूर्य चिन्ह लिएर गएँ भने हार्छु । त्यसो भएर जित्नको लागि म यसमा आएको छु । जित्ने आधार भनेको गठबन्धन हो । हँसिया हथौडाको पछि गठबन्धन छ, गठबन्धन अनेक हिसावले अरु सबै गठबन्धन र पार्टी भन्दा अघि छ । मैले भन्दा धेरै मान्छे रिसाउन सक्छन्, एमाले नेताहरु सबै रिसाउन सक्छन् । इमान्दारिसाथ गठबन्धन गर्ने हो भने अरुले जित्ने ठाउँ म देख्दिन । तर यहाँ भित्रै छिद्र पैदा हुने र अन्तर्घात गर्ने, विद्रोही उठ्ने जस्ता गतिविधि भए भने त्यसबाट अरुलाई फाइदा पुग्छ । त्यो फाइदा पुग्दा पनि गठबन्धन धेरै अघि हुन्छ । यो चुनावसम्मको मात्रै गठबन्धन हो, सरकार बनाउने सन्दर्भमा फेरि अर्को गठबन्धन शुरु हुन्छ । प्रधानमन्त्रीको कुरै नसोध्नुस्, भन्ने बित्तिकै मेरो सबै बिग्रिन्छ ।’
निर्वाचन जितेपछि प्रधानमन्त्री बन्ने हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले प्रधानमन्त्रीको कुराले सबैकुरा बिग्रिने भन्दै प्रश्न नगर्न आग्रह गरे ।  

 मंगलवार बिहान पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले नेता गौतम र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेताहरुलाई आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा सहभागी हुन पार्टीको चुनाव चिन्ह दिने निर्णय गरेको थियो ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप