शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसदीय निर्वाचनमा जाऔँ : यादव

मङ्गलबार, ३१ साउन २०७९, २० : ४१
मङ्गलबार, ३१ साउन २०७९

सत्तारुढ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको राजनीतिक स्थायित्वका लागि कार्यकारी राष्ट्रपतीय प्रणालीको आवश्यकता औंल्याएका छन् । मंगलबार जनकपुरधाममा जसपा नेपालको भ्रातृ संगठन समाजवादी युवा संघ नेपालको राष्ट्रिय भेला उद्घाटन कार्यक्रममा यादवले वर्तमान संसदीय व्यवस्थाका कारण राजनीतिक अस्थिरता बढेको बताए ।

उनले राजनीतिक अस्थिरता अन्त्य गर्न, विकास र समृद्धिको बाटोमा लाग्न प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थाको विकल्प नरहेको बताए । अध्यक्ष यादवले भने, ‘अहिलेको संसदीय व्यवस्था अन्तर्गत निर्वाचन प्रणाली महँगिएको छ, करोडौँ रुपैयाँ खर्चेर चुनाव जितेकाहरूबाट सेवाको अपेक्षा गर्न सकिँदैन, त्यसैले निर्वाचन प्रणाली फेर्नुपर्ने हुन्छ ।’ प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसदीय निर्वाचन अंगिकार गरेको खण्डमा भ्रष्टाचार नियन्त्रण हुने र समृद्धिको बाटोमा लाग्न मद्दत पुग्ने उनले बताए ।

सांसदहरु मन्त्री बन्ने व्यवस्थाको अन्त्य भए चुनावमा हुने खर्च आफै नियन्त्रित हुने र भ्रष्टाचार पनि अन्त्य हुने उनले स्पष्ट पारे । उनले हतारमा ल्याइएको संविधानको बेथितिहरु एकपछि अर्को उजागर हुन थालेको उल्लेख गर्दै अध्यक्ष यादवले पहिचानसहितको संघीय पुनःसंरचना र निर्वाचन प्रणालीको विषयमा संविधान संशोधन हुनुपर्ने बताए ।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जसपाको प्रमुख प्राथमिकतामा सुरुदेखि नै युवा रहँदै आएकाले मधेस सरकार युवाहरुको शिक्षा र रोजगारको क्षेत्रमा अघि बढेको बताए । उनले मधेसका युवाहरुलाई प्रदेशमै रोजगार उपलब्ध गराउन प्रदेश निजामती ऐन, प्रदेश प्रहरी ऐन ल्याई त्यसमा जनसंख्याको आधारमा आरक्षण एवं महिलाका लागि ५० प्रतिशत आरक्षणसमेत गरेको दावी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप