मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सांस्कृतिक पर्वहरूको संरक्षण सबैको दायित्व : राष्ट्रपति भण्डारी

मङ्गलबार, ३१ साउन २०७९, २२ : ५८
मङ्गलबार, ३१ साउन २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले सांस्कृतिक पर्वहरूको संरक्षण सबैको साझा दायित्व रहेको बताएकी छन् ।  गुरुङ समुदायको ऐतिहासिक एवं परम्परागत सांस्कृतिक पर्व ट्होटेंका अवसरमा तमुधिँ नेपालले मंगलबार पोखरामा आयोजना गरेको विशेष कार्यक्रममा उनले नेपाली संस्कृतिको संरक्षण र सम्वर्द्धनमा विभिन्न जातजाति तथा भाषा समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गरिन् । 

राष्ट्रपति भण्डारीले नेपाली संस्कृतिको संरक्षण र सम्वद्र्धनमा गुरुङ समुदायको योगदान उल्लेखनीय रहेको चर्चा गरिन् । उनले भनिन्, “नेपाल राष्ट्रको एकीकरण प्रक्रियामा समेत गुरुङ जातिको विशेष योगदान रहेको छ  । विभिन्न जाति तथा समुदायको भाषा, चाडपर्व, वेषभूषा, गीत नाच, रीतिरिवाजबाटनै नेपाली राष्ट्रिय संस्कृतिलाई सबल र समृद्ध बनाउन ठूलो योगदान पुगेको छ भन्ने मलाई लागेको छ ।” तमुहरुको चाडपर्वमध्ये ट्होटें पनि एक मौलिक ऋतु पर्व रहेकाले यस पर्वले सबैमा सकारात्मक ऊर्जा दिने काम गर्दछ भन्ने जनविश्वास रहेको राष्ट्रपतिले बताइन् । उनले समाजमा विद्यमान कुप्रथा, अन्धविश्वास र पछौटेपन हटाउन ट्होटेंले ऊर्जा थप्ने विश्वास व्यक्त गरिन् ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपाल विविध संस्कृतिले सम्पन्न मुलुक भएको बताउँदै यी संस्कृतिको संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिए । विविधतामा एकता हाम्रो मौलिकता भएको उल्लेख गर्दै उनले राष्ट्रिय एकता, सद्भाव कायम गर्दै राष्ट्र निर्माणमा जुट्नुपर्ने आवश्यकता औँल्याए । 

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तमु जातिको उद्गमस्थल क्होलासोथरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि प्रदेश सरकारले काम अघि बढाएको बताए । उनले चालु वर्षको सरकारको नीति कार्यक्रममा समेत यस विषय समेटिएको उल्लेख गरे । हिमालदेखि तराईका फाँटसम्म फैलिएको गण्डकी प्रदेश विभिन्न जातिका कला, संस्कृति र विभिन्न सांस्कृतिक पर्व तथा जात्राहरुमा सम्पन्न रहेको मुख्यमन्त्रीले बताए । 

ट्होटेंका अवसरमा पोखराको मानवअधिकार चोकदेखि नयाँबजारसम्म विभिन्न मौलिक वेषभूषा, बाजागाजा, झाँकी, सांस्कृतिक प्रस्तुतिसहित ट्होटेंं ¥यालीको आयोजना गरिएको थियो । गुरुङ समुदायले साउन महिनाको अन्तिम मङ्गलबार र चैत महिनाको अन्तिम मङ्गलबार गरी वर्षमा दुई पटक आफ्नो मौलिक पर्वका रूपमा ट्होटें पर्व मनाउने गरेको तमुधिँका अध्यक्ष हुमबहादुर गुरुङले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप