शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘सुरेश वाग्ले क्यान्सर सेन्टर’ को सेवा शुभारम्भ हुँदै

बुधबार, ०१ भदौ २०७९, १० : ३४
बुधबार, ०१ भदौ २०७९

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक सय ४० शय्याको ‘सुरेश वाग्ले क्यान्सर सेन्टर ’निर्माण भएको छ । क्यान्सरबाट पीडित बिरामीलाई विशिष्टिकृत सेवा प्रदान गर्ने उद्देश्यले रु ५५ करोडको लागतमा सेन्टर निर्माण गरिएको हो । उक्त सेन्टरको चाँडै शुभारम्भ गरिने जनाइएको छ ।

नयाँ सेन्टरबाट २५ शय्याको क्यान्सर वार्ड, २० शय्याको आइसीयू, ३० शय्याको एचडीयू, १५ शय्याको डेकेयर केमोथेरापीलगायतका सेवा प्रदान गरिने अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्लेले जानकारी दिए ।

यसबाहेक उक्त सेन्टरमा तीन रेडियोथेरापी बङ्कर, एम्बुलेटरी बेड, बोनम्यारो ट्रान्सप्लान्ट सेन्टरलगायत रहनेछ । अहिले उक्त भवनमा कोरोनाका बिरामी राखेर उपचार गरिँदै आएको कार्यकारी निर्देशक डा काफ्लेले बताए । ‘अण्डरग्राउण्ड’ सहित आठतले उक्त भवनमा कर्मचारी व्यवस्थापन चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।

वि.सं २०४० असार ३१ गते स्थापना भएको त्रिवि शिक्षण अस्पताल महाराजगन्जले सुरुमा तीन सय शय्यामार्फत सेवा प्रदान गरिएको थियो ।   हाल उक्त सेवालाई विस्तार गरी एक हजार शय्यामार्फत बिरामीको उपचार गर्दै अस्पतालले जनाएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानद्वारा सञ्चालित सो अस्पतालले दैनिक दुई हजार हाराहारीमा बिरामीलाई बहिरङ्ग सेवा प्रदान गर्दै आएको छ । उक्त अस्पतालले ३६ विभिन्न विभागमार्फत बिरामीको उपचार गर्दै आएको कार्यकारी निर्देशक प्राडा.काफ्लेले बताए । 

सो अस्पतालले गत आर्थिक वर्षमा चार लाख ५० हजार बिरामीलाई बहिरङ्ग सेवा प्रदान गरेको थियो भने एक हजार सात सय कडा खालको रोगको समेत उपचार गरेको थियो । कडा खालको रोगमा क्यान्सर, किड्नी, स्पाइनल इन्जुरी, अल्जाइमरलगायत रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप