बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

६ वर्षदेखि अंकुराएको सौगात–सृष्टिको प्रेम यात्रा

प्रेम गरेपछि समाजले के भन्छ भनेर लुकाउन चाहेनौँ
बुधबार, ०१ भदौ २०७९, १३ : ३८
बुधबार, ०१ भदौ २०७९

चलचित्र ‘माइकल अधिकारी’ प्रदर्शनका संघारमा छ । त्यसैले, यस चलचित्रका दुई मुख्य पात्र सौगात मल्ल र सृष्टि श्रेष्ठको दौडधुप पनि खुबै बढेको छ । सरोगेसी अर्थात् कोख भाडामा दिने कथालाई मुख्य विषय बनाएर तयार पारिएको चलचित्र भदौ ३ गते अर्थात् शुक्रबारबाट देशैभरी प्रदर्शनमा आउँदैछ । 

चलचित्रले नयाँ कथा बोकेको र दर्शकका लागि फरक स्वाद चखाउन सक्नेमा अभिनेता सौगात मल्ल विश्वस्त छन् । अनि भिन्न क्यारेक्टरले दर्शकको मन जित्नेमा ढुक्क छिन् अभिनेत्री सृष्टि श्रेष्ठ । रातोपाटीसँगको बसाइँमा यी दुवै पात्रले दर्शकको मन जितेर चलचित्र सफल हुने अपेक्षा राख्दै गर्दा यही मितिमा अन्य दुई  नेपाली चलचित्र ‘प्रेम गञ्ज’ र ‘कृष्ण लीला’ प्रदर्शनमा आउँदैछ ।

तथापि, सामाजिक कथा बस्तुमाथि ‘ड्रामेडी’ अर्थात् ‘कमेडी र ड्रामा’को फ्युजनले दर्शकको मन छुने सौगातको विश्वास छ । उनी भन्छन्, ‘सामाजिक कथा वस्तुमाथि ‘ड्रामेडी’ अर्थात् ‘कमेडी र ड्रामा’को फ्युजन गरिएको छ । सँगै कोख भाडामा दिने विषयलाई परिवारले कसरी लिन्छ, आफ्नै श्रीमानदेखि लिएर समाजले यसलाई कसरी हेर्छ भन्ने विषयलाई गहन ढंगबाट प्रस्तुत गरिएको छ ।’ 

अभिनय गर्नु अघि चलचित्रको कथाका बारेमा आफैपनि अन्जान रहेको र चलचित्र निर्माणका क्रममा नै सरोगेसीका बारेमा धेरै कुरा सिक्न पाएको बताउँछिन् अभिनेत्री सृष्टि श्रेष्ठ । अधिकांश दर्शकले पनि यो विषयमा चलचित्रबाट जानकारी पाउने उनको विश्वास छ । साथै, यही समाजका आमाहरूले हेर्ने दृष्टिकोणबारे पनि चलचित्र ‘माइकल अधिकारी’ले प्रष्ट पार्ने उनको बुझाइ छ । 

अर्काेतर्फ नेपालमा सरोगेसीका लागि अझै पनि कानूनी उल्झन् बाँकी रहेको अवस्थामा चलचित्रले नीति निर्माणको बहसका लागि पनि भूमिका निर्वाह गर्न सक्ने सृष्टि र सौगातको बुझाइ छ ।

रञ्जित रौनियारको लेखन तथा निर्देशनमा तयार ‘माइकल अधिकारी’ चलचित्रमा सौगात र सृष्टि श्रीमान श्रीमतीको भूमिकाका छन् । जो, वास्तविक जीवनका प्रेमी प्रेमिका पनि हुन् । जसले गर्दा चलचित्रमा काम गर्न निकै सहज भएको उनीहरूको अनुभव छ । 

रातोपाटीसँगको कुराकानीमा सौगात र सृष्टि आफ्नो प्रेम जीवनका बारेमा पनि खुलेका छन् । 

‘रगमञ्चका गुरु सुनिल पोखरेलको क्लासबाट हामी बोलचाल गर्न सुरु गरेका थियौं’, सौगात पूराना दिन स्मरण गरे, ‘तर, त्यस पछिका केही वर्ष हामी बीचमा भेटघाट कुराकानी केही भएन । पछि सृष्टिको अभिनय रहेको शेक्सपियरको ‘ह्यामलेट’ नाटक हेर्न थिएटर गएको थिएँ । उनी पनि पछि मेरो चलचित्र डाइङ क्यान्डल हेर्न हल आएकी थिइन् । त्यहीँबाट नै होला, हाम्रो दोहोरो संवाद बढेको ।’ 

लगभग ६ वर्षअघि अंकुराएको प्रेम यात्रामा हिँड्दै गर्दा आज सौगात र सृष्टि सुन्दर प्रेम जोडी भएर हिँडिरहेका छन् । एक अर्का बीचमा ‘सेयरिङ, केयरिङ’ अनि मनसँग मन साट्न पाउँदा जीवन निकै खुसी र सहज भएको अनुभव पनि सुनाउँछन् सौगात । उसै गरी सृष्टि पनि आफूलाई बुझ्ने प्रेमी पाएकोमा मख्ख छिन् । 

‘काम वा उसको परिचयले हामी बीचमा प्रेम अंकुराएको होइन, मन भित्रको भाव, एक अर्कालाई बुझ्न सक्ने व्यवहारले हामी एक भयौं जस्तो लाग्छ’, एउटै भाव व्यक्त गर्छन् उनीहरू, ‘सुरु सुरुमा हामी एक अर्काे जहाँ हुन्थ्यौं, त्यहाँ पुग्न मन लाग्थ्यो, केही कुरा गर्न मन लाग्थ्यो, त्यसरी नै हामी नजिकिएका थियौं ।’

पछिल्लोे समय सौगात र सृष्टि वास्तविक जीवनमा मात्र नभएर रिल लाइफमा पनि सँगसँगै देखिने गरेका छन् । विवाह अघिको प्रेमलाई केही संकुचित भावमा हेर्ने नेपाली समाजका लागि सृष्टि र सौगातको प्रेम भने खुल्ला कितावजस्तै छ । जसले प्रश्न गरेपनि उनीहरू संकोच मान्दैनन् । भन्छन्, ‘हामी सम्बन्धमा रहेको विषय केही महिनामै बाहिर आयो । तथापि यो हामी दुईजना बीचको ‘अन्डरस्ट्यान्डिङ’ थियो । मान्छेले के भन्छ भन्दा पनि प्रेम गरेको कुरालाई स्वीकार गर्न ठूलो विषय नै भएन नि !’

यी र यस्तै प्रसंगमा उनै अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठसँग रातोपाटीको नियमित कार्यक्रम ‘टक विथ द टप’का लागि गरिएको भिडियो संवाद : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप