शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसले कारबाही गरेका पुष्करनाथ फेरि बन्न सक्छन् आरजुका लागि चुनौती

बुधबार, ०१ भदौ २०७९, १४ : २७
बुधबार, ०१ भदौ २०७९

प्रतिनिधिसभाको आसन्न निर्वाचनमा कैलालीको क्षेत्र नम्बर ५ बाट नेपाली काँग्रेसकी नेतृ आरजु देउवा राणा उम्मेदवारी दिने तयारीमा छन् । उनी प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी हुन् । त्यसैले पनि सत्तारुढ गठबन्धनबाट सो क्षेत्रमा उनले उम्मेदवारी पाउन सकस छैन ।

तर, आरजुलाई यस पटक पनि सो क्षेत्रमा पुष्करनाथ ओझा ठुलो चुनौती बन्न सक्ने देखिएको छ । ओझा २०७० मा भएको उपनिर्वाचनमा सो क्षेत्रबाट विजयी भएका थिए । त्यतिबेला शेरबहादुर देउवाले डडेल्धुरा र कैलाली–५ बाट उम्मेदवारी दिएका थिए । दुवै स्थानमा विजयी भएपछि देउवाले डडेल्धुरा नै रोजेका कारण कैलाली–५ मा उपनिर्वाचन भएका थियो । जसमा काँग्रेसबाट ओझा विजयी भए ।

२०७४ को निर्वाचनमा भने सो क्षेत्रबाट ओझाले टिकट पाएनन् । काँग्रेसले सो क्षेत्रबाट आरजु देउवालाई उम्मेदवार बनाएको थियो । उक्त निर्वाचनमा कैलाली–५ बाट एमाले–माओवादी गठबन्धनका नारदमुनि राना २७ हजार २०२ मत ल्याएर विजयी भए । आरजुले २२ हजार ३२२ मत ल्याइन् । रानासँग ४ हजार ८८० मत अन्तरले आरजु पराजित हुँदा काँग्रेसभित्र अन्तर्घात नै मुख्य कारक रहेको औँल्याइएको थियो ।

अन्तर्घातको नेतृत्व पुष्करनाथ ओझाले नै गरेको भन्दै काँग्रेसले उनीमाथि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । आसन्न निर्वाचनमा उनै ओझा फेरि पनि आरजुका लागि मुख्य चुनौती बन्ने भएका छन् । किनकि, ओझाले कैलाली–५ बाट स्वतन्त्र रूपमा उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् ।

कैलाली–५ मा काँग्रेसको जनाधार राम्रो देखिन्छ । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पनि सो क्षेत्रभित्रका वडाहरूमा काँग्रेसले राम्रो मत ल्याएको छ । सो क्षेत्रमा २१ वडा छन् जसमध्ये १३ वटा वडामा काँग्रेस विजयी भएको छ । दुई वटा वडामा नेकपा माओवादी केन्द्रले जितेको छ भने नेकपा एमालेले ६ वटा वडा जितेको छ ।

कारबाहीमा परेका ओझा काँग्रेसका पुरानो नेता हुन् । उनले कैलाली–५ मा आफूले कसैका लागि उम्मेदवारी त्याग्नु परेमा शेरबहादुर देउवामात्र त्यस्तो व्यक्ति रहेको बताउँदै आएका छन् । काँग्रेस सभापति देउवाबाहेक अरू कसैका लागि आफूले सो क्षेत्र नत्याग्ने उनको घोषणा छ । देउवाले डडेल्धुराबाटै यस पटक पनि उम्मेदवारी दिने तयारी गरेका छन् भने उनकी पत्नी आरजुले कैलाली–५ रोजेकी छन् ।

अघिल्लो निर्वाचनमा पराजित भए पनि आरजुले सो क्षेत्रका विकास निर्माणमा चासो राख्दै आएकी छन् । आरजुकै पहलमा सो क्षेत्रमा ४८ करोड रुपैयाँ बराबरको बजेट आएको काँग्रेसका जिल्ला सचिव केशव मिश्रले रातोपाटीलाई जानकारी दिए ।

उनले ओझाको लहैलहैमा काँग्रेसका केही कार्यकर्ताले अन्तर्घात गरे पनि यस पटक आरजु देउवाका लागि चुनाव जित्न कठिन नहुने दाबी गरे । ‘अन्तर्घातमा संलग्न हुँदा कारबाहीमा परिन्छ भन्ने सन्देश प्रवाह भइसकेको छ,’ उनले भने, ‘पार्टीभित्रबाट त्यसरी असहयोग हुने अवस्था छैन । अपवादमा केहीले त्यस्तो भूमिका निर्वाह गरे पनि गठबन्धनबाट सहयोग मिल्ने नै छ, त्यसैले आरजु देउवाको अवस्था बलियो देखिन्छ ।’

सो क्षेत्रमा नेकपा एमालेबाट फेरि नारदमुनि राना नै उम्मेदवार बन्ने चर्चामा छ । तर यस पटक उनलाई पनि त्यति सहज देखिँदैन । किनकि अघिल्लो निर्वाचनमा उनले माओवादीको मतसमेत पाएका थिए । अहिले उनकै दल एमाले विभाजित भइसकेको छ भने माओवादी, काँग्रेस, नेकपा एकीकृत समाजवादी, जसपासहितको गठबन्धनबाट आरजु उम्मेदवार बन्दा तुलनात्मक रूपमा बलियो देखिन्छिन् ।

तर एमालेका रानाले राष्ट्र राष्ट्रियता, स्वाधीनताका निम्ति निडर भएर लागेको पार्टीबाट आफूले उम्मेदवारी पाए फेरि पनि विजय हासिल गर्ने दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप