बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

३ वर्षपछि सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सापटी दिन थाल्यो

बुधबार, ०१ भदौ २०७९, १७ : ४१
बुधबार, ०१ भदौ २०७९

सामाजिक सुरक्षा कोषले योगदानमा आधारित ऋण (सापटी) दिन थालेको छ । स्वचालित विद्युतीय प्रणालीमा मार्फत कोषले योगदानकर्ताहरूलाई सापटी दिन थालेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले एक कार्यक्रमकाबीच उक्त कार्यको सुरुवात गरेका छन् । सामाजिक सुरक्षा कोष लगानी कार्यविधि, २०७७ अनुसारको योगदानकर्ता सापटी अन्तर्गत कोषले योगदानकर्ताको अवकाश योजनामा जम्मा भएको रकमको ८० प्रतिशतसम्म विशेष सापटी दिन थालेको हो । 

कोषमा योगदान गरेको तीन वर्ष पुरा भएपछि सापटी लिन पाउने व्यवस्था छ । सोही आधारमा मापदण्ड पुगेका २ जनाले विशेष सापटी लिएका छन् । योगदानकर्ताहरू बिनय कुमार महतो र पवनबाबु प्रधानले उक्त विशेष सापटी लिएका छन् । त्यस्तै पहिलो पटक अवकाश भुक्तानी समेत गरिएको छ । सोल्टी होटलबाट अवकाश पाएका केशव खड्कालाई अवकाश भुक्तानी प्रदान गरिएको कोषका प्रवक्ता बिबेक पन्थीले जानकारी दिए । 
त्यस्तै कोषको एसएसएफ एप पनि प्रयोगमा ल्याइएको छ । कोषका योगदानकर्ताहरूले कोषमा जम्मा भएको आफ्नो रकमबारे जानकारी पाउन, आफ्नो केवाईसी भर्न, अवकाश हुँदा अवकाश योजनाको रकम भुक्तानी लिन, योगदानकर्ता विशेष सापटीका लागि आवेदन दिन र अस्पतालमा उपचारका लागि योग्य रहे नरहेकोबारेमा जानकारी लिन मोबाइल एपबाटै सकिने भएको छ । यसअघि यी सबैका लागि अनलाइन मार्फत वेबसाइटमा मात्र हुन्थ्यो । अबदेखि सबै सेवा मोबाइल एपबाट लिन सकिने प्रवक्ता पन्थीले बताए । 

एप मार्फत नै सापटी लिने प्रक्रिया अगाडि बढाउन सकिनेछ । त्यसका लागि कोषले उपलब्ध गराएको योगदानकर्तको नम्बर, कोषमा रजिष्र्टड गरिएको फोन नम्बर र जन्ममिति राखेपछि सापटीको प्रक्रिया अगाडि बढाउन सकिने र आवश्यक निर्देशन अनुसार अगाडि बढ्दै जानुपर्छ । सबै प्रक्रिया पुरा गरेको खण्डमा कोषले एप्रुभ गरेपछि योगदानकर्ताको खातामा सिधै पैसा जम्मा हुने प्रवक्ता पन्थीले बताए । 
कार्यक्रममा मन्त्री कुँवरले कोषका योगदानकर्ताले प्रविधिमैत्री र सर्वसुलभ सुविधा प्राप्त गर्नेमा विश्वास व्यक्त गरे । सूचना तथा प्रविधिमा आएको विकासलाई प्रभावकारी रूपमा उपयोगी गरी श्रम बजारलाई थप व्यवस्थित र मर्यादित बनाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । 

मन्त्रालयका सचिव तथा कोष सञ्चालन समितिका अध्यक्ष एकनारायण अर्यालले एपको भरपूर प्रयोग गरेर यसका कमीकमजोरी औँल्याइदिन सबैमा अनुरोध गरे । 
विगतमा कोषको पैसा परिचालन गर्न सकिएन भन्ने गुनासो आएको भन्दै अब नयाँ नयाँ योजना अघि सार्दै गएको बताए । विदेशमा बस्ने नेपालीलाई समेत कोषमा आबद्ध गराउने काम अगाडि बढिरहेको उनको भनाइ छ । कोष अहिले बैंकिङ क्षेत्र भन्दा एक कदम अगाडि बढेको सचिव अर्यालको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप