बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘पेलोसीको ताइवान भ्रमण क्षेत्रीय अस्थिरता बढाउन हो’

बुधबार, ०१ भदौ २०७९, १८ : ००
बुधबार, ०१ भदौ २०७९

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसीको हालैको ताइवान भ्रमण क्षेत्रीय अस्थिरता बढाउने अमेरिकी रणनीतिको एउटा भाग भएको टिप्पणी गरेका छन् । मङ्गलबार यहाँ भएको अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी दशौँ वार्षिक सम्मेलनमा उनले पेलोसीको यो भ्रमण एउटा गैरजिम्मेवार राजनीतिज्ञद्वारा मात्र नभएर संयुक्त राज्य अमेरिकाले एसिया–प्रशान्त क्षेत्र र सारा विश्वको अवस्थालाई अस्थिर बनाउने अन्तर्निहित रणनीतिको एक अङ्ग भएको बताए । राष्ट्रपति पुटिनले पेलेसीको भ्रमणलाई ‘अन्य देशहरूको सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय दायित्वहरूको अनादरको निर्लज्ज प्रदर्शन भएको बताए । 

रक्षामन्त्री सर्गेई शोइगुले पनि पेलोसीको ताइवान भ्रमणलाई ‘उत्तेजक अवतरण’ को संज्ञा दिँदै उक्त क्षेत्रलाई अस्थिर बनाउने अमेरिकाको अर्को कदम भएको बताए । चीनको चेतावनीलाई वेवास्ता गर्दै उनले गर्नुभएको ताइवान भ्रमण उत्तेजना भड्काउन गरिएको उनको कटु टिप्पणी थियो । 

सभामुख पेलोसीले हालै ताइपेइ पुगेर  राष्ट्रपति साई इङ्ग वेनसँगको भेटवार्तामा वर्तमान विश्वले लोकतन्त्र र निरङ्कुशतामध्ये एउटालाई रोज्नुपर्ने परिस्थितिको सामना गरिरहेको बताउँदै उनले  विश्वभरि लोकतन्त्रको प्रवद्र्धनका निम्ति अमेरिका दृढ रहेको उल्लेख गरेका थिए । साथै उनले आफ्नो देशले ताइवानको साथ नछाड्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

कम्युनिस्ट शासित चीनले ताइवानलाई आफ्नो क्षेत्र मानेको छ भने आवश्यक परेमा बल प्रयोग गरेर उक्त टापुलाई पुनः दाबी गर्न सक्ने बताउँदै आएको छ । अमेरिकाले पनि ‘एक चीन’ नीति पालना गर्दै आएको छ । उसले बेइजिङलाई चीन सरकारको रूपमा मान्यता पनि दिएको छ तर ताइवानसँगको अनौपचारिक रक्षा सम्बन्धलाई कायम राखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप