बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी पदाधिकारीमा को-को पर्दैछन् ?

बुधबार, ०१ भदौ २०७९, २० : ४९
बुधबार, ०१ भदौ २०७९

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन सकिएको आठ महिनापछि पार्टी पदाधिकारी टुङ्गो लाग्ने भएको छ । गत पुस ११ गतेदेखि १८ गतेसम्म चलेको महाधिवेशन पदाधिकारी नटुङ्ग्याई सम्पन्न भएको थियो ।

गत असार १९ गतेदेखि २३ गतेसम्म चलेको केन्द्रीय समिति बैठकमा नेताहरुले पदाधिकारीसहित सबै कमिटी टुङ्गो लगाउन दबाब दिएका थिए । केन्द्रीय समितिलाई अध्यक्ष प्रचण्डले पूर्णता दिए पनि पोलिटब्यूरो सदस्यको नाम तीन पटक पढेर सुनाए । कमिटीमा बस्ने नेताको नामका विषयमा पर्याप्त गृहकार्य नगरेको भन्दै बैठकमै नेताहरुले आपत्ति जनाए ।

अन्त्यमा प्रचण्डले बैठक स्थगित गरेर कमिटीमा परेका नेताहरुको नाम तीन पटकसम्म पढेर सुनाए । लगत्तै तत्कालीन नेकपामा भएका नेताहरुलाई स्थायी समितिमा समेटेको भन्दै नाम पढे । पुनः नेताहरुले स्थायी समिति र पदाधिकारी समेत टुङ्गो लगाउन भन्दै होहल्ला गरे । प्रचण्डले पदाधिकारी सहित सबै कमिटी फाइनल गर्न तत्कालै सक्ने भए पनि सबैलाई चित्त बुझाएर लग्नुपर्ने भएकाले २/४ दिन गृहकार्य गर्न समय माग गर्दै बैठक टुंग्याए ।

प्रचण्डले झण्डै दुई महिनाको गृहकार्यपछि केन्द्रीय समिति, पोलिटब्यूरो र स्थायी समिति फाइनल गरेका छन् । अब माओवादीको केन्द्रीय समिति ३४१ जना, पोलिटब्यूरो १२५ जना र स्थायी समिति ४३ जनाको हुने भएको छ । शुक्रबार बिहान बस्ने स्थायी समितिले पदाधिकारी टुङ्गो लगाउने नेता हरिबोल गजुरेलले बताए ।

‘पार्टी बैठकमा पदाधिकारी टुङ्गो लगाउने निर्णय गरेको छ । अहिलेसम्म अध्यक्ष र वरिष्ठ उपाध्यक्षबाहेक कति पदाधिकारी बनाउने भन्ने विषयमा विधानमा स्पष्ट उल्लेख छैन,’ रातोपाटीसँग कुरा गर्दै गजुरेलले भने, ‘अध्यक्ष प्रचण्ड कमरेडले उपाध्यक्ष, उपमहासचिव, सचिव लगायत कति पदाधिकारी बनाउने भन्ने विषयमा गृहकार्य गर्नुहुन्छ । त्यसपछि पदाधिकारीमा बस्ने नेताको नामसमेत प्रस्ताव गर्नुहुने छ ।’

कति पदाधिकारी बनाउने भन्ने विषय फाइनल नभएकाले कुन पदमा को को रहने भन्ने टुङ्गो नलागेको गजुरेलले बताए । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको नाममा लगभग सर्वसम्मत भइसकेको छ । यस्तै महासचिवमा चयनमा भने सकस छ । पार्टीका स्थायी समिति सदस्य जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, देवेन्द्र पौडेलले महासचिवमा दाबी गरेका छन् । अन्तिममा शर्मा र पुन नै मुख्य दाबेदार हुने स्रोत बताउँछ ।

पार्टी पदाधिकारीका विषयमा छलफल गर्न राखिएको खुमलटार बैठकमा वर्षमान पुनले महासचिवमा दाबी छोड्ने संकेत गरेको सहभागी एक नेताले बताए । त्यसपछि महासचिवका विषयमा दोहो¥याएर पार्टीमा छलफल नभएको र अध्यक्षले नै महासचिवको टुङ्गो लगाउने उनको भनाइ छ ।

प्रचण्ड पनि शर्मा र पुनमध्ये एक जनालाई महासचिव दिने मनस्थितिमा छन् । तर पदकै कारण पार्टीमा दुई नेताबीच टसल हुनुहुँदैन भन्ने पक्षमा पनि उत्तिकै सजग रहेको स्रोत बताउँछ ।

शुक्रबार बस्ने बैठकमा प्रचण्डले कति पदाधिकारी र कुन नेतालाई कसरी व्यवस्थापन गर्ने प्रस्ताव गर्छन् भन्नेबारे पार्टीभित्र चासो बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप