बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अलिकति बिग्रिए पनि ​ सच्चा क्रान्तिकारी हामी नै हौँ : प्रचण्ड

‘वामपन्थी ध्रुवीकरणका सकारात्मक समाचारहरू आइरहेका छन्’
बिहीबार, ०२ भदौ २०७९, ०९ : ४६
बिहीबार, ०२ भदौ २०७९

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय नेताहरू व्यक्तिवादी र आत्मकेन्द्रित बन्न थालेकोमा चिन्ता व्यक्त गरेका छन् । रामवृक्ष यादवको २८ औँ स्मृति दिवसको अवसरमा पार्टी मुख्यालय, पेरिस डाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नेताहरूको भनाइ र गराइमा ठूलो अन्तर आएको बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘हामी अलिकति बिग्रेका छौँ । हामी हिजो जस्तो छैनौँ । हामी व्यक्तिवादी भएका छौँ, आत्मकेन्द्रित भएका छौँ, स्वार्थी भएका छौँ ।’ क्रान्ति, समाज र राष्ट्रका निम्ति त्याग गर्नेतिर भन्दा पनि नेताहरू आफ्नै निम्ति कसरी गर्ने भनेर उद्धत हुन थालेको उनको भनाइ थियो ।

‘हामी सामूहिक भावना र टिम स्प्रीटबाट जानेभन्दा पनि स्वार्थ समूह बनाउनेतिर उद्धत हुन थालेका छौँ,’ अध्यक्ष प्रचण्डले थपे, ‘यसले पार्टीको वर्ग चरित्र र क्रान्तिकारी स्प्रीटमा नराम्रो स्खलन आएको छ । हामीले भर्खरै महाधिवेशन सम्पन्न गरेर फेरि क्रान्तिकारी पार्टी नै बनाउने संश्लेषण त गरेका छौँ तर हामी विचारमा, किताबमा, दस्तावेजमा र मुखमा क्रान्तिकारी नै भए पनि हाम्रो व्यवहार हाम्रो आचरण दैनिकी त्योसँग मिल्दैन । हाम्रो भनाइ र गराइमा ठूलो अन्तर आइसकेको महसुस हुन्छ ।’

अध्यक्ष प्रचण्डले यो समस्यालाई हल गर्न सकिएन भने आफूहरू ‘क्रान्तिकारी हौँ’ भन्ने औचित्य समाप्त हुने बताए । उनले अब आफैतिर फर्केर चिन्तन गर्नुपर्ने आवश्यकता औँल्याए । तैपनि नेकपा माओवादी केन्द्र नै क्रान्तिकारी बन्ने सम्भावना रहेको पार्टी भएको उनले दाबी गरे । ‘फेरि पनि देशमा भएका पार्टीहरू मध्ये हाम्रो पार्टीमात्र हो विचार र राजनीतिको प्रश्नलाई उच्च प्राथमिकतामा राखेर सामाजिक र सांस्कृतिक रूपान्तरण र संघीय लोकतान्त्रिक गणतन्त्रमा टेकेर समाजवादको यात्रा गर्नुपर्छ इमानदारिता साथ भन्ने । विचलन हुँदा हुँदै पनि यो पार्टी नै क्रान्तिकारी बन्ने सम्भावना रहेको पार्टी हो ।’

लेनिन र माओले क्रान्ति गर्दाको जस्तो आजको अवस्था नभएको अध्यक्ष प्रचण्डले जिकिर गरे । उनले वर्ग संघर्षको अवस्थामा र पुँजीवादको विकासको चरणमा धेरै फरक आइसकेको बताउँदै मार्क्‍सवादलाई विकसित गरेर आजको आवश्यकता अनुसार परिमार्जन गर्न चुनौती रहेको बताए । उनले भने, ‘यो सजिलै समाधान हुने खालको छैन । विचारको विकास नगरी अबको दुनियाँमा समाजवादी क्रान्तिलाई अघि बढाउन सकिँदैन ।’

फरक प्रसङ्गमा उनले नेपालमा कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले ध्रुवीकृत गर्ने प्रयास भइरहेको जानकारी दिए । अध्यक्ष प्रचण्डले भने, ‘सच्चा वामपन्थीबीच एकता होस् भनेर हामीले प्रयास गरिरहेका छौँ । केही दिन यता सकारात्मक समाचारहरू आइरहेका छन् । चाहे त्यो साथीहरूले हँसिया हथौडामा चुनाव लड्ने निर्णय होस् या एकीकृत समाजवादी पार्टीले पार्टी एकता संयोजन समिति बनाएर ध्रुवीकृत गर्ने कुरा होस् । समाजवादी क्रान्तिलाई अघि बढाउन हाम्रो जोड छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप