शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगरका १९३ मध्ये १९ सहकारी झोलामै सीमित

९ वटा सहकारी कारबाहीमा
बिहीबार, ०२ भदौ २०७९, १० : ०२
बिहीबार, ०२ भदौ २०७९

विराटनगरका १९३ वटा सहकारी मध्ये १९ सहकारीले आफ्नो कार्यालय नै नखोलेको पाइएको छ । यस्तै कतिपय सहकारीले आफ्नो क्षेत्रभन्दा बाहिर गएर काम गरेको पनि पाइएको महानगरपालिकाकी सहकारी शाखाकी प्रमुख पृथ्वी कुमारी बस्नेतले जानकारी दिइन् । 

महानगरले गरेको अनुगमनको क्रममा गैर कार्य क्षेत्रमा लगानी गर्ने र सहकारी ऐन अनुसार काम नगर्ने १० वटा सहकारी भेटिएका छन् । उनीहरूलाई शाखाले कारबाहीको दायरामा ल्याएको छ । 

विराटनगरको एउटा सहकारीले भने आफ्नो कार्यक्षेत्र भन्दा बाहिर गएर नवलपरासीमा पनि काम गरेको भेटिएको बस्नेतको भनाइ छ । उक्त सहकारी विराटनगरको सिद्धार्थ सहकारी रहेको छ । उक्त सहकारीले गैर सदस्यसँग कारोबार गरेको पनि पाइएको बस्नेतले बताइन् । सो सहकारीले बचतकर्ताको निक्षेप रकम फिर्ता नगरेको पनि आरोप लागेको छ । 

सिद्धार्थले साधारण सभा नगरी महानगरपालिकामा लेखा परीक्षण प्रतिवेदन नबुझाएको, सेवा शुल्क तोकिएभन्दा बढी लिएको र गैर सदस्यसँग कारोबार गरेको अनुगमनको क्रममा भेटिएको बस्नेतले जानकारी दिइन् । ‘एक ठाउँमा स्वीकृत लिएर सञ्चालन गरेको सहकारीले सेवा केन्द्र भन्दै अन्यत्र जिल्लामा गएर सञ्चालन गर्न पाइँदैन,’ बस्नेतले भनिन्, ‘तर, सिद्धार्थ सहकारीले नवलपरासीमा गएर सेवा केन्द्र खोलेको पाइयो ।’ 

बस्नेतको नेतृत्वमा आर्थिक वर्ष २०७८/०७९ मा ७७ वटा सहकारी अनुगमन गरिएको थियो । त्यसमध्ये ९ वटा सहकारी कारबाहीमा परेका छन् । जसमा विराटनगर १ पोखरीयामा रहेको अनमोल बचत तथा ऋण सहकारी, विराटनगर ७ हस्पिटल चौकमा रहेको सुमेरु बचत तथा ऋण सहकारी, विराटनगर ११ मानुषी बचत तथा ऋण सहकारी संस्था, विराटनगर ९ मा रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्था रहेका छन् । यस्तै विराटनगर ११ महेन्द्रचोकस्थित सिद्धार्थ बहुउद्देश्यीय सहकारी, विराटनगर ९ घोगापुल चौकमा रहेको नारायण बचत तथा ऋण सहकारी संस्था, विराटनगर २ मा रहेको युनिक सहकारी संस्था विराटनगर ८ मा रहेको स्वागतम् बचत तथा ऋण सहकारी संस्थालाई कारबाही गर्ने निर्णय गरेको बस्नेतले जानकारी दिइन् । 

कारबाहीमा पर्ने सहकारीमध्ये अनमोलले गैरकार्य क्षेत्रमा कारोबार गरेको कसुरमा कारबाहीको दायरामा आएको हो । अनमोलले किर्ते कार्यक्षेत्र परिवर्तन गरि नियमनकारी निकायलाई पनि बेवास्ता गर्दै पूर्व स्वीकृत बेगर कारोबार गरेको अनुगमनको क्रममा पाइएको हो । उसलाई ५३ हजार रुपैयाँ जरिमाना गराइएको छ । 

कारबाहीमा परेका मध्ये नारायण आगमन, मानुषी र दैनिक बचत तथा ऋण सहकारी संस्थाले महानगरपालिकाले तोकेको जरिमाना रकम तिरेका छन् । ६ वटा सहकारीले जरिमाना तोकेको रकम तिर्न अटेरी गरेर बसेको बस्नेतले जानकारी दिइन् । 

अनुगमनको क्रममा दर्ता स्वीकृत लिएका मध्ये १९ वटा सहकारीको कार्यालय नभेटिएको र ती कार्यालयहरू अहिलेसम्म महानगरपालिकाको सम्पर्कमा पनि नआएको शाखा अधिकृत बस्नेतले बताइन् । यसरी सम्पर्कमा नआएका सहकारीहरूमा सक्रिय, परिचय, सगुन, पुष्पाञ्जलि, विराट उपभोक्ता, सहयोगी, भिजन, उत्यम ओमसाइ, सबल, बहुमूल्य कृषि, प्रभावकारी, इच्छा, नेशनल, बाटिका र उपकार बचत तथा ऋण सहकारी रहेका छन् । यी सहकारीको अवस्थाबारे आफूहरु अनविज्ञ रहेको उनले बताइन् । 

जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले निरन्तर तीन वर्षसम्म  वार्षिक लेखा परीक्षण प्रतिवेदन नबुझाउने सहकारी खारेजी गरिनुपर्ने बताए । ‘दर्ता मात्र भएर निष्क्रिय रहेको सहकारीहरू खारेजी हुनुपर्दछ,’ उनले भने । सहकारी ऐन नियम अनुसार सञ्चालनको लागि जिल्ला सहकारीमा आबद्ध सदस्यीय सहकारीहरूलाई प्रशिक्षण, तालिम पनि दिँदै आएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप