विकास

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यकता कि रहर ?

अर्बौँ लगानीका विमानस्थलले सञ्चालन खर्च जुटाउँछन् ?

person explore access_timeभदौ २, २०७९ chat_bubble_outline0

नेपालमा अन्तर्राष्ट्रिय उडान सुरू भएको ७४ वर्षसम्म एउटामात्र अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएकोमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भर्खरै सञ्चालनमा आएको छ । गत वैशाखदेखि भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीआईए) औपचारिक रूपमा सञ्चालनमा आएको छ ।


हाल यस विमानस्थलमा कुवेतको जजिरा एयरवेजले मात्रै अन्तर्राष्ट्रिय उडान भर्दैछ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्नका लागि संयुक्त अरब इमिरेट्सलाई आधार बनाएर विश्वभर उडान भरिरहेको हङ्गेरीको विज एयरलाइन्सले समेत इच्छा देखाएको छ । तर, यसले औपचारिकरूपमा भने उडान सुरू गरिसकेको छैन ।



एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको विमानस्थलको पहिलो चरणमा ११ अर्ब रुपैयाँ खर्च भएको छ । यस आयोजनाको दोस्रो चरणको निर्माण कार्यसमेत छिट्टै सुरू हुने बताइएको छ । तर, विमानस्थल सञ्चालनमा आएको चार महिना बितिसक्दा समेत राम्रोसँग चल्न सकेको छैन ।



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलकारूपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन ७४ वर्ष लाग्यो । तर, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको करिब ९ महिना भित्रै (पुस १७ देखि) पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आउने छ ।

यतिमात्र होइन, यीभन्दा धेरै ठूलो क्षमतासहित बारामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने तयारी तीव्र गतिमा अघि बढिरहेको छ । यही क्रममा एक पक्षले ८ हजार हेक्टरभन्दा धेरै क्षेत्रफलमा फैलिएको वन मासेर निजगढजस्तो ठूलो विमानस्थल नचाहिनेतर्क गरिरहेका छन् ।

यही मान्यतालाई आधार मानेर पूर्वसचिव द्वारिकानाथ ढुंगेल, रञ्जु पाँडे क्षेत्री, विजयकुमार सिंह दनुवार, पंकजकुमार कर्ण र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी लगायतले विमानस्थलको निर्माण रोक्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । उनीहरूले एकै पटक हजारौं हेक्टर क्षेत्रफलमा फैलिएको वनलाई मासेर निजगढजस्तो ठूलो विमानस्थल बनाउँदा पर्यावरणमा ठूलो क्षति पुग्ने दाबी गरेका थिए । उनीहरूको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले यही वर्षको जेठ दोस्रो साता विकल्प खोज्न सरकारको नाममा परमादेश जारी गरेको थियो ।

यससँगै, सन् १९९५ मै प्रारम्भिक चरणको अध्ययन गरिएको आयोजना अघि बढ्नेमा अन्यौल सिर्जना भएको छ । तर सरकारी पक्षले भने आयोजना जसरी पनि बन्ने बताइरहेको छ ।

४ चरणमा सम्पन्न हुने आयोजनाका लागि ३८ सय हेक्टर जंगल फडानी गरे हुने भनिए पनि ८ हजार ५० हेक्टर जंगल फडानी गर्नेगरी तयारी अघि बढेको छ । यससँगै, आयोजनाको भविष्य नै अन्यौलमा परेको हो ।

यद्यपि, निजगढजस्तो ठूलो विमानस्थल सञ्चालनमा नआएमा भविष्यमा नेपालको हवाई यात्रुको चाप थेग्नै नसकिने देखिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार पछिल्लो समय नेपालमा वार्षिक सदरदर ९० लाख यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय हवाईमाध्यमबाट यात्रा गर्छन् । यसमध्ये अन्तर्राष्ट्रियतर्फ ४४ लाखले यात्रा गरेका छन् भने आन्तरिकतर्फ ५० लाख हाराहारीले यात्रा गरेका छन् ।

नेपालमा हवाई यात्रुको वृद्धिदर अन्तर्राष्ट्रियतर्फ वार्षिक १० प्रतिशत र आन्तरिकतर्फ २० प्रतिशतको देखिएको छ ।

‘यही दरमा नेपालको हवाई यात्रु बढ्दै गएमा अबको २० वर्षपछि नेपाली आकाशमा थप १ करोड ८० लाख यात्रु थपिन्छन्,’ प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने, ‘अहिले नै ८०–९० लाख जनाले हवाईमाध्यमबाट यात्रा गर्छन् । यसमध्ये अन्तर्राष्ट्रियतर्फको ४४ लाखको भार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक्लैले सम्हाल्छ ।’

आर्थिक वर्ष २०७८/७९ मा आन्तरिकतर्फको ४०–५० लाखमध्ये ३३ लाख यात्रुले त्रिभुवन विमानस्थललाई नै आधार बनाएर ओहोरदोहोर गरेका छन् । यसआधारमा वार्षिक १० प्रतिशतको वृद्धिदर राख्दा पनि अबको २० वर्षपछि १ करोड ८० लाख हवाई यात्रु थपिने निरौलाको भनाइ छ ।

यसमध्ये, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय गरेर अधिकतम वार्षिक यात्रु व्यवस्थापन क्षमता ९० लाख हो । यसको क्षमता धेरै बढाउन सकिँदैन । यसैगरी, सञ्चालनमा आइसकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अधिकतम क्षमता वार्षिक ३० लाखमात्रै हो । यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक क्षमता १५ लाख हो ।

यी विमानस्थलमा पनि अधिकतम क्षमताभन्दा माथि गएर यात्रु व्यवस्थापन सम्भव छैन । यी तीनै वटा विमानस्थलको कुल क्षमता जोड्दा वार्षिक १ करोड ३५ लाख यात्रुको चापमात्रै धान्न सक्ने देखिन्छ ।

‘तर, अहिले ९० लाख यात्रु रहेको नेपाली हवाई उद्योगमा अबको १० वर्षमा शतप्रतिशत यात्रु बढ्छन्,’ निरौलाले भने, ‘यस आधारमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प छैन । यो आयोजना निर्माण भएपछि मात्रै नेपालको हवाई यात्रुको चाप थामिन्छ ।’

अहिलेकै योजनाअनुसार निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनेमा ४ चरणमा मात्रै विमानस्थलको सम्पूर्ण काम सम्पन्न हुन्छ । निजगढ विमानस्थलमा ४ वटा रनवे हुनेछन् । एउटा रनवेले वार्षिक कम्तीमा १५ लाख यात्रुको चाप धान्दा पनि ४ वटा रनवेले कम्तीमा वार्षिक ६० लाख यात्रुको व्यवस्थापन गर्न सक्छ ।

यही गतिमा हवाई यात्रुको चाप बढ्दै गएमा सन् २०२३ मा नेपाली विमानस्थलहरूको कुल आम्दानी बढेर १५ अर्ब रुपैयाँभन्दा माथि पुग्छ । कोरोना महामारी अघि नेपालमा विश्वका ३१ वटा विमान कम्पनीले उडान भर्थे । जुन, महामारीको समयमा घटेर शून्यप्रायः बनेको थियो । अहिले फेरि नेपालमा उडान भर्ने विमानको संख्या बढेर २६ भन्दा बढी पुगिसकेको छ ।

अर्बौँ लगानीका विमानस्थलले सञ्चालन खर्च जुटाउँछन् ?

आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्कअनुसार नेपालमा सञ्चालनमा रहेका २ वटामध्ये २ वटै अन्तर्राष्ट्रिय विमानस्थल नाफामा छन् । प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ५ अर्ब ३५ करोड रुपैयाँ नाफामा छ । विमानस्थलले गत आर्थिक वर्ष हवाई उडान र ल्याण्डिङ तथा पार्किङमार्फत ६ अर्ब ११ करोड रुपैयाँ कमाएको थियो । जसमध्ये सञ्चालन खर्चबापत (कर्मचारीको तलबबाहेक) ७५ करोड ८७ लाख रुपैयाँमात्रै खर्च भएको छ ।

यसैगरी, यही वैशाखदेखि सञ्चालनमा आएर जेठदेखि जजिरा एयरवेजले उडान भरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समेत नाफामा छ । विमानस्थलले यस अवधिमा १३ करोड २ लाख रुपैयाँ आम्दानी गर्दा ८ करोड ८१ लाख मात्रै व्यवस्थापनमा खर्च गरेको छ ।

यसअनुसार, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ४ करोड २१ लाख रुपैयाँ नाफामा छ । गौतमबुद्ध विमानस्थलमा आगामी ५ वर्षसम्म वार्षिक ५ लाख हाराहारी यात्रु आउने अपेक्षा गरिएको छ । त्यसपछिका वर्षहरूमा भने यात्रुको संख्या बढ्दै जाने प्राधिकरणको अपेक्षा छ । वार्षिक ५ लाख यात्रुले यो विमानस्थलबाट यात्रा गरेमा उडान, ल्याण्डिङ र पार्किङबाट मात्रै वर्षमा ३ अर्बभन्दा धेरै आम्दानी गर्नेछ ।

यसबाहेक विमानस्थल भित्रको सवारी पार्किङ, सटरहरू भाडामा दिने लगायत पनि आम्दानीका स्रोत बन्नेछन् । यो विमानस्थलमा हाल कुवेतको जजिरा एयरले सातामा एक उडान भर्दैछ । १७० सिट क्षमताको जहाजबाट उडान भर्दा प्रतिसाता १६०–१६५ जनासम्म यही विमानस्थललाई आधार बनाएर हवाई यात्रा गर्दैछन् । यस्तै, बिज एयरले समेत उडान सुरू गर्दैछ । जजिराले सात दिन नै उडान भर्ने तयारी गरिरहेको छ ।

‘हामीले गरेको प्रक्षेपणअनुसार आयोजना अघि बढेमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लिइएको ऋण आगामी ८/१० वर्षमा तिरिन्छ,’ निरौलाले भने, ‘यस्तै, पोखरा विमानस्थल बनाउन चीनले दिएको ऋण १५ वर्ष लगाएर तिर्ने योजना छ ।’

हाल सञ्चालनमा रहेको विमानस्थलले दिउँसोमात्रै सेवा प्रदान गर्छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि आन्तरिकतर्फको उडान पनि २४ घन्टा नै सञ्चालनमा ल्याइने छ । जसले अन्तर्राष्ट्रियतर्फको उडान उल्लेख्यरूपमा नभए पनि आन्तरिक उडानले नै सञ्चालन खर्च जुटाउने अपेक्षा सरकारी पक्षको छ ।

चीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि २२ अर्ब रुपैयाँ ऋण दिएकामा २५ प्रतिशत ऋण अनुदानमा परिणत गर्ने घोषणा गरिसकेको छ । यसअनुसार ५ अर्ब रुपैयाँ ऋण अनुदानमा परिणत हुनेछ । बाँकी १७ अर्ब ऋण १५–२० वर्ष लगाएर तिर्ने योजना प्राधिकरणको छ ।

पोखरा विमानस्थलमा वाइडबडी विमान आउन नसक्ने हुँदा उक्त विमानस्थलमा न्यारोबडी जहाजले मात्रै उडान भर्छन् । यसअनुसार, यसलाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भनिएको छ । न्यारोबडी विमानले एक पटकमा ४–५ घन्टाको दूरीमा उडान भर्न सक्छ । यसअनुसार, पोखरा विमानस्थलबाट ५ घन्टासम्मको दूरीबाट मात्रै उडान भर्न सकिन्छ । यस आधारमा यो विमानस्थल चिनियाँ र भारतीय पर्यटक र त्यहाँका विमान कम्पनीलाई लक्षित गरेर निर्माण गरिएको प्रष्टिन्छ ।

यसैगरी, हाल सञ्चालनमा रहेको पोखराको विमानस्थल बन्द गरेर आन्तरिक सेवा पनि अन्तर्राष्ट्रिय विमानस्थलबाट दिइने छ ।

हाल सञ्चालनमा रहेको विमानस्थलले दिउँसोमात्रै सेवा प्रदान गर्छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि आन्तरिकतर्फको उडान पनि २४ घन्टा नै सञ्चालनमा ल्याइने छ । जसले अन्तर्राष्ट्रियतर्फको उडान उल्लेख्यरूपमा नभए पनि आन्तरिक उडानले नै सञ्चालन खर्च जुटाउने अपेक्षा सरकारी पक्षको छ ।

अहिले आन्तरिक सेवामात्रै चल्दा पोखराबाट वार्षिक १२–१५ करोड आम्दानी हुँदै आएको छ । अन्तर्राष्ट्रियतर्फको सेवा सञ्चालनमा आएपछि वार्षिक कम्तीमा ५० करोडभन्दा बढी आम्दानी हुने आकलन छ । २२ अर्ब मोटामोटी लगानी रहेको उक्त विमानस्थलले आफ्नो सञ्चालन खर्च सहजै उठाउने आकलन गरेको छ ।

कोभिड–१९ महामारी अघि नेपालका सम्पूर्ण विमानस्थलको (हवाई जहाडको उडान र ल्याण्डिङबाट) कुल आम्दानी ९ अर्ब रुपैयाँसम्म पुगेको थियो । यो आम्दानी नेपालका अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलको कुल आम्दानी हो । तर, कोरोना महामारीको समयमा २ अर्बरुपैयाँसम्म घटेर ७ अर्ब हाराहारीमा आइपुगेको थियो । कोरोनाको प्रभाव घट्दै गएपछि सन् २०२१ मा नेपाल हवाई यात्रुको संख्या ह्वात्तै बढेर दोब्बर बनेको प्राधिकरणले बताएको छ ।

यही गतिमा हवाई यात्रुको चाप बढ्दै गएमा सन् २०२३ मा नेपाली विमानस्थलहरूको कुल आम्दानी बढेर १५ अर्ब रुपैयाँभन्दा माथि पुग्छ । कोरोना महामारी अघि नेपालमा विश्वका ३१ वटा विमान कम्पनीले उडान भर्थे । जुन, महामारीको समयमा घटेर शून्यप्रायः बनेको थियो । अहिले फेरि नेपालमा उडान भर्ने विमानको संख्या बढेर २६ भन्दा बढी पुगिसकेको छ ।

निजगढ विमानस्थलको विगत र भविष्य

सरकारले भविष्यलाई मध्यनजर गर्दै छैटौं पञ्चवर्षीय योजनाअन्तर्गत निजगढमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने योजना समेटेको थियो । तत्कालीन हवाई विभागका महानिर्देशक विरेन्द्रबहादुर देउजाले छैटौं पञ्चवर्षीय योजनामा समेट्नुअघि देशका विभिन्न स्थानमा घुमेर ठूलोस्तरको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन मिल्ने स्थानको खोजी गर्दा निजगढमा सम्भाव्यता देखिएको जानकारी दिए । उक्त टोलीले गरेको अध्ययनबाट निजगढमा अन्तर्राष्ट्रियस्तरको ठूलो विमानस्थल बनाउन सबैतर्फबाट योग्य देखिएपछि सरकारले योजनालाई अघि सारेको हो ।

अध्ययनका क्रममा चितवन, सिमरा, भैरहवा लगायत देशका भिन्न–भिन्न स्थानमा स्थलगतरूपमै पुगेर अध्ययन गरिएको थियो । अध्ययनले निजगढमा सम्भावना देखाएपछि सन् १९९५ मा एउटा विदेशी कम्पनीको नेतृत्वमा निजगढमा विमानस्थलको सम्भाव्यताबारे अध्ययन गरियो । उक्त सम्भाव्यता अध्ययनले पनि निजगढमा उच्च क्षमतासहितको विमानस्थल बनाउन सकिने प्रतिवेदन दियो । उक्त कम्पनीले आफै निजगढमा विमानस्थल बनाउनेगरी नेपाल सरकारसमक्ष सर्त अघि सा¥यो ।

उक्त कम्पनीले निजगढमा विमानस्थल निर्माण गरेपछि नचलेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आम्दानी धितो राख्नुपर्ने सर्त राख्यो । जुन, नेपालका लागि स्वीकार्य विषय थिएन । ‘यदि निजगढमा विमानस्थल बनाएर नचलेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आम्दानी दिने निर्णय गरेको भए उनीहरूले कहिल्यै उक्त आयोजना बनाउँदैनथे,’ देउजा भन्छन् । यस हिसाबले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा भएको र यससँग सम्बन्धित काम अघि बढेको अढाई दशकभन्दा धेरै भइसकेको छ ।

चार चरणमा निर्माण गरिने यस आयोजनाको पहिलो चरण निर्माणमै करिब २ बिलियन अमेरिकी डलर लागत लाग्न सक्ने देउजा बताउँछन् । उनले सुरूमा एउटा रनवे मात्रै निर्माण गरेर आम्दानी गर्दै थप रनवे बनाउनतर्फ सरकार लाग्नुपर्ने बताए । यसो गरेमा आयोजनाको निर्माण लक्ष्यबाट सरकार पछाडि फर्कन नपर्ने र निर्माण लागत जुटाउन पनि मुस्किल नपर्ने देउजाको भनाइ छ ।

व्यापार पूर्वाधारको भरपर्दो विकल्प बन्न सक्छ निजगढ

नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा कुल २१ खर्ब २० अर्ब रुपैयाँको वैदेशिक व्यापार गरेको छ । यसमध्ये, नेपालको आयात बढेर १९ खर्ब २० अर्ब र निर्यात बढेर २ खर्बभन्दा माथि पुगेको छ । यो व्यापार नेपालका कुल २६ वटा नाकाबाट भएको भन्सार विभागले जनाएको छ । २६ मध्ये २ वटा नाका विमानस्थलबाट सञ्चालन हुन्छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय पनि सञ्चालनमा आइसकेको छ । तर, गत वर्षसम्मको तथ्याङ्कमा उक्त भन्सार कार्यालयबाट ३ लाख ८० हजार रुपैयाँको आयात हुँदा शून्य निर्यात छ । यद्यपि, यो भन्सार कार्यालयबाट विस्तारै वैदेशिक व्यापार (आयात/निर्यात) बढ्ने देखिन्छ ।

यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भने गत आर्थिक वर्षभरिमा २ खर्ब १० अर्ब रुपैयाँको आयात भएको छ । सो भन्सार कार्यालयबाट ३२ अर्ब २६ करोड रुपैयाँको निर्यात भएको विभागको तथ्याङ्कले देखाउँछ ।

यसअनुसार त्रिभुवन विमानस्थलबाट गत आर्थिक वर्षमा २ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको देखिन्छ । जबकि, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्लो समय अन्तर्राष्ट्रिय व्यापारमा प्रचलनमा आएका ठूला कार्गो विमान ल्याण्ड गर्न सक्दैनन् ।

हाल विश्वमा एकैपटक २५० टन वस्तु बोकेर उडान भर्न सक्ने एयर कार्गो प्रचलनमा आइसकेका छन् । तर, यो क्षमताको एयर कार्गो ल्याण्ड गर्न विमानस्थलमा कम्तीमा पनि ३ हजार ५०० मिटर लामो धावनमार्ग चाहिन्छ । जबकि, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको लम्बाई ३ हजार ५० मिटर छ । यस्तै, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको लम्बाई ३ हजार र पोखराको २ हजार ५०० मिटर हो । यस हिसाबले अहिले बनिसकेका विमानस्थलमा ठूला कार्गो विमानले सामान बोकेर ‘ल्याण्ड’ गर्न सक्दैनन् ।

तर, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको लम्बाई न्यूनतम ३५ सय मिटर हुन्छ । र, यो विमानस्थलमा कम्तीमा ४ वटा यही क्षमताका धावनमार्ग हुन्छन् । जसले गर्दा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला कार्गो विमान सहजै ल्याण्ड गर्न सक्छन् ।

विश्वमा पछिल्लो समय हवाईमाध्यमबाट सामान आयात निर्यात गर्ने प्रचलन बढ्दो छ । यसअनुसार भविष्यमा एयर कार्गोबाटै धेरै वस्तु तथा सेवा आयात–निर्यात हुन्छ । यसआधारमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भइ सञ्चालनमा आएमा नेपालले समेत हवाईमार्गबाट सहजै वस्तु आयात र निर्यात गर्न सक्छ ।

आन्तरिक विमानस्थलको लगानी बालुवामा पानीसरह

हाल नेपालमा आन्तरिक र अन्तर्राष्ट्रिय गरेर कुल ५३ वटा आन्तरिक विमानस्थल छन् । यसमध्ये ५१ वटा विमानस्थल आन्तरिक प्रयोजनका लागि बनाइएको हो । यसमध्ये अहिले ३४ वटा विमानस्थलमात्रै सञ्चालनमा छन् भने १९ वटा बन्द अवस्थामा छन् । सञ्चालनमा रहेकामध्ये पनि १६ वटा विमानस्थल घाटामा छन् भने १८ वटा विमानस्थल मात्रै नाफामा चलिरहेका छन् ।

सडकमार्ग नहुँदा यातायात पहुँचका लागि बनाइएका विमानस्थल यतिबेला घाँसे मैदानमा परिणत भएका हुन् । ‘१९ वटा विमानस्थल बन्द छन् । सञ्चालनमा रहेका ३४ मध्ये पनि १६ वटा घाटामा र १८ वटा मात्रै नाफामा छन्,’ प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले थपे, ‘तराई र उच्च हिमाली (पर्यटकीय गन्तव्य) क्षेत्रमा रहेका विमानस्थल मात्रै नाफामा छन् ।’

तर, पहाडी क्षेत्रमा सञ्चालनमा ल्याइएका विमानस्थल भने निरन्तर घाटामा रहेको उनले बताए ।

उच्च हिमाली क्षेत्रमा सञ्चालनमा रहेका विमानस्थलमा विदेशबाट हिमाली भेग र हिमाल अवलोकन गर्न आउने पर्यटकको चहलपहल बढी हुनाले नाफामा रहेको देखिन्छ । यस्तै, तराई क्षेत्रमा सञ्चालित विमानस्थलमा मानवीय चहलपहल बढी हुनाले नाफा आर्जन गरिरहेका छन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।