शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फेरि नागरिकता विधेयक पास भए संसदमै ‘लेन्डुप दोर्जेहरु’ जन्मन्छन् : प्रेम सुवाल

बिहीबार, ०२ भदौ २०७९, १४ : १४
बिहीबार, ०२ भदौ २०७९

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयक पास गर्नु राष्ट्रघाती काम हुने बताएका छन् । बिहीबार प्रतिनिधिसभामा राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकमाथिको छलफलमा सहभागी हुँदै नेपालमा पनि लेन्डुप दोर्जेहरुको जन्म हुने बताए । 

उनले लेन्डुप दोर्जेको विरोध नगर्नेहरु संसारको कुनै कुनामा नहोलान् भन्दै नेपालीले पनि लेन्डुप दोर्जे देशघाती भनेर धेरै विरोध गरेको बताए । नागरिकता विधेयक पास गरेर फिर्ता आएको र फेरि पास गरेमा एक दुईवटा निर्वाचनपछि सांसदहरु नेपाली लेण्डुप दोर्जे बन्ने उल्लेख गरे । 

उनले अगाडि भने– ‘त्यसपछि नेपाल सिक्किम र फिजी बन्ने खतरा छ । यो इतिहासले देखाएको कुरा हो, प्रमाणहरु धेरै छन् । भारत बेलायती उपनिवेशबाट मुक्त भयो तर त्यहाँका शासकहरुमा उपनिवेशको मानसिकता कायमै छ । यो एउटा तथ्य, २०६४ सालमा ७ दलको बैठकमा गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहालले एसडी मुनीको हवाला दिँदै भन्नुभएको थियो, एक प्रदेश एक मधेश त भारतको इच्छा हो । अन्त कतै भन्नुभएको हैन ७ दलको बैठकमा भन्नुभएको हो, इतिहास साक्षी छ ।’

उनले सुगौली सन्धिभन्दा अगाडि नेपालको सीमाना खुला नभएको बताउँदै सन् १९५० मा आएको शान्ति तथा मैत्री सन्धिपछि नेपाल भारत खुला सीमा भएको त्यसले नेपालको नागरिकता समस्या ल्याएको बताए । उनले सच्चा नेपालीले नागरिकता पाउनुपर्ने बताउँदै कुनैपनि निहुँमा विदेशीलाई नागरिकता दिनु देश घात हुने उल्लेख गरे । 

उनले सो नागरिकता विधेयकमा नेपालीसँग बिहे गरेकी भारतीय महिलाले तत्काल नागरिकता पाउने व्यवस्था रहेको बताउँदै नेपाली महिलाले भारतीयसँग बिहे गरेमा नागरिकता पाउनका लागि ७ वर्ष कुर्नुपर्ने प्रावधान रहेको उल्लेख गरे ।

उनले अमेरिका, बेलायतमा ३ वर्ष कुर्नुपर्ने, बंगलादेशमा ५ वर्ष कुर्नुपर्ने र भुटानमा बच्चा जन्मिएर उसले नागरिकता पाएपछि मात्रै नागरिकता पाउने व्यवस्था रहेको बताउँदै नेपालमा किन यस्तो प्रावधान राखिएन भन्दै प्रश्न गरे । उनले नेपालको संविधान २०१९ र २०३२ सालमा नेपालीसँग बिहे गरेकी महिलालाई नागरिकता पाउन ५ वर्ष कुर्नुपर्ने व्यवस्था रहेको उनले बताए ।

त्यो इतिहासलाई नभुल्न आग्रह गरे । २०६३ सालपछि ३ जनाको सिफारिस मुचुल्कामा धेरैले जन्मको आधारमा नागरिकता बनाएको बताउँदै उनीहरु वास्तविक नेपाली हुन् कि हैनन् छानविन गरेर मात्र नागरिकता दिने व्यवस्था गर्न सांसद सुवालले माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप