शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दैलेखमा प्रतिनिधिसभातर्फ २ र प्रदेशसभातर्फ २ निर्वाचन क्षेत्र नछाड्ने कांग्रेसको अडान

सहमत होलान् त माओवादी–समाजवादी ?
बिहीबार, ०२ भदौ २०७९, १४ : २३
बिहीबार, ०२ भदौ २०७९

प्रतिनिधिसभातर्फ दुई र प्रदेश सभातर्फ चार निर्वाचन क्षेत्र रहेको दैलेखमा नेपाली कांग्रेसले आफू बलियो भएको दाबी गरेको छ । आफू पहिलो पार्टी भएको दाबी गर्दै उसले प्रतिनिधिसभातर्फका दुवै र प्रदेशसभा तर्फका दुई सिट पाउनुपर्ने माग राखेको छ ।

कांग्रेसका जिल्ला सभापति मणिराम रेग्मीले कांग्रेस सभापति शेरबहादुर देउवालाई पत्र लेखेर प्रदेशसभाका दुई र र प्रतिनिधिसभाका दुवै क्षेत्रमा कांग्रेसले उम्मेदवारी पाउनुपर्ने अडान राखेका हुन् । ०४८ मा दुईवटै निर्वाचन क्षेत्रमा विजयी हासिल गरेको, ०५१, ०५६ र ०६४ सालमा समेत एक निर्वाचन क्षेत्रमा कांग्रेसले जितेको उनको जिकिर छ ।

उनले गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा ११ पालिकामध्ये ५ वटाको प्रमुखमा जित हासिल गरेको भन्दै प्रतिनिधिसभाका दुई वटै र प्रदेश सभातर्फका दुई क्षेत्र कांग्रेसकै भागमा पार्नुपर्ने दाबी गरेका छन् । उनले दुई वटै क्षेत्रमा गरी ४० हजारभन्दा बढी मत कांग्रेसको भएको जनाएका छन् । प्रदेशसभाका दुई सिटमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई भागबण्डा गर्न सकिने उनको तर्क छ ।

यस्तो छ ०७४ को अंकगणित

कांग्रेसले ०७४ को निर्वाचनमा प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ बाट राप्रपालाई अघि सारेको थियो । कांग्रेसको समर्थनमा राप्रपाका दीपक कुमार शाहीले उम्मेदवारी दिएका थिए । तर उनी पराजित भए । एमालेबाट रविन्द्रराज शर्मा २३ हजार ७७३ मतसहित विजयी हुँदा कांग्रेसको समर्थन पाएका राप्रपाका शाहीले १७ हजार २५२ मत प्राप्त गरेका थिए ।

क्षेत्र नम्बर २ मा पनि कांग्रेसले जित हासिल गर्न सकेन । एमालेका राजबहादुर बुढाक्षेत्री २३ हजार ३२३ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका शिवराज जोशीले १६ हजार ६३४ मत प्राप्त गरे ।

प्रदेश सभा तर्फ क्षेत्र नं.–१ (क)मा माओवादी केन्द्रबाट धर्मराराज रेग्मी १० हजार ३६१ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका कृष्ण कुमार बिसीले ८ हजार ७६५ मत प्राप्त गरे । (ख) मा एमालेबाट अम्मरबहादुर थापा १२ हजार ५६७ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका जगतजङ्ग थापाले १० हजार ५८६ मत प्राप्त गरेका थिए ।

तर अहिले अवस्था बदलिएको छ । माओवादीबाट लोकप्रिय मत पाएका धर्मराज रेग्मी अहिले एमालेमा छन् भने अम्मरबहादुर थापा एमाले छाडेर एकीकृत समाजवादीको प्रदेश अध्यक्ष छन् ।

कांग्रेसको अडानलाई कसरी हेर्छन् माओवादी र एकीकृत समाजवादी ?

कांग्रेसले प्रतिनिधिसभाका दुवै क्षेत्रमा जनाधार बलियो बताए पनि क्षेत्र नं.–१ मा एकीकृत समाजवादीले दाबी गर्ने देखिन्छ । किनकि एकीकृत समाजवादीका प्रदेश अध्यक्ष समेत रहेका अम्मरबहादुर थापा यही क्षेत्रबाट लामो समयदेखि निर्वाचन लड्दै आएका छन् ।

उनले १४ बर्षसम्म दैलेखमा एमालेको नेतृत्वमा रहेर काम गरेका थिए । त्यसैले यो क्षेत्रमा उनी अन्य नेताभन्दा बलियो छन् । ०४८ सालमै एमालेमा आबद्ध भएका उनले सोही वर्ष स्वतन्त्र उम्मेदवारी दिएर जिल्ला विकास समितिमा विजयी भएका थिए ।

स्थानीय तहको निर्वाचनको मतपरिणामलाई आधार मान्ने हो भने माओवादीले क्षेत्र नं.–१ अन्तर्गतका दुई वटा पालिकामा जितेको छ । ६ वटा पालिका पर्ने यो क्षेत्र अन्तर्गत गुराँस, डुङ्गेश्वर, भगवतीमाई गाउँपालिका (क) अन्तर्गत पर्दछन् भने (ख) मा नारायण नगरपालिका, नौमुले र महावु गाउँपालिका पर्दछन् ।

माओवादीले (क) को भगवतीमाई र (ख) को नौमुलेमा जितेको छ । यो हिसाबले माओवादीले प्रदेशसभा तर्फ (ख)मा सशक्त रुपमा आफ्नो दाबी रहने बताइसकेको छ । यस्तै क्षेत्र नं.–२ मा प्रतिनिधिसभामा कांग्रेसले उम्मेदवारी दिएको खण्डमा प्रदेशसभाका दुईमध्ये एउटा माओवादी र अर्को सिट समाजवादीले दाबी गर्ने बताएका छन् ।

यो हिसाबले प्रदेश र प्रतिनिधिसभा अन्तर्गतका ६ वटा सिटमध्ये समाजवादीले एउटा प्रतिनिधिसभा र एउटा प्रदेशसभा, माओवादीले प्रदेश सभातर्फ दुई वटा सिटमा सशक्त दाबी गर्ने माओवादीका जिल्ला तहका नेताहरु बताउँछन् ।यो हिसाबमा कांग्रेसले प्रतिनिधिसभातर्फ एक सिट र प्रदेशसभाका बाँकी सिट पाउने सम्भावना देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप