बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ एकीकृत समाजवादीको उम्मेदवार सिफारिस प्रक्रिया र मापदण्ड  (विज्ञप्तिसहित)

बिहीबार, ०२ भदौ २०७९, १४ : ५६
बिहीबार, ०२ भदौ २०७९

नेकपा एकीकृत समाजवादीले मंसिर ४ मा हुने आम निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया र मापदण्ड तय गरेको छ । बुधबार बसेको सचिवालय बैठकले उम्मेदवार सिफारिस प्रक्रिया र मापदण्डबारे निर्णय गरेर मातहतका निकायलाई सर्कुलर गरेको हो ।

बैठकले गरेको निर्णयअनुसार प्रतिनिधि सभाको सदस्यमा प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवार बनाउनका लागि पार्टीको प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले कम्तिमा एक महिलासहित बढीमा चारजनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्नुपर्नेछ । त्यस्तै जिल्ला कमिटीले क्षेत्रीय समन्वय कमिटीले गरेको सिफारिस गरेका चार जनामध्येबाट कम्तिमा एक महिलासहित बढीमा तीनजनाको नाम प्रदेश कमिटीमा पठाउनुपर्नेछ । प्रदेश कमिटीले तीन जनाप्रति आफ्नो धारणासहित केन्द्रमा पठाउने र केन्द्रीय कमिटीले तल्लो कमिटीबाट सिफारिस भएका मध्येबाट प्रत्यक्ष वा समानुपातिकतर्फको उम्मेदवार बनाउन निर्णय गर्नेछ । 

प्रदेश सभाको हकमा

प्रदेश सभाको सदस्यमा प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार बनाउनका लागि पार्टीको प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले कम्तिमा एक महिलासहित बढीमा चारजनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्नुपर्नेछ । जिल्ला कमिटीले उक्त चार जनामध्येबाट कम्तिमा एक महिलासहित बढीमा तीनजनाको नाम प्रदेश कमिटीमा पठाउने र प्रदेश कमिटीले उक्त तीन जनाप्रतिको आफ्नो धारणासहित केन्द्रमा पठाउने र केन्द्रीय कमिटीले सिफारिस भएर आएका तीन मध्येबाट प्रत्यक्ष वा समानुपातिकतर्फको उम्मेदवार बनाउन निर्णय गर्नेछ ।

एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला कमिटीले नै प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको काम गर्ने छ । यदि कुनै जिल्लामा निर्वाचन क्षेत्रीय समन्वय कमिटी नबनेको भए एक हप्ताभित्र उक्त कमिटी गठन गरी सिफारिससम्बन्धी काम गर्नपनि सो पार्टीले निर्देशन दिएको छ । पार्टीका विशेष प्रदेश र विशेष जिल्ला कमिटीले पनि समानुपातिक उम्मेदवारका लागि एक महिला र एक पुरुषको नाम सिफारिस गर्न सक्ने व्यवस्था गरेको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए ।

महासचिव भुसालका अनुसार केन्द्रीय कमिटीले मातहत कमिटीबाट सिफारिस भएर आएका र केन्द्रको अभिलेखमा रहेका नामबाट छनोट गरी बन्द सूची तयार गर्नेछ  उम्मेदवारसम्बन्धी निर्णय सकेसम्म कमिटीको पूर्ण बैठकबाट गर्ने, पूर्ण बैठक बस्न सम्भव नभएमा सचिवालयको बैठकबाट गरिने उल्लेख छ । कुनै निर्णय विवादित भए एक तह माथिल्लो कमिटीले छानविन गरी फैसला गर्ने अधिकार प्रत्यायोजन गरिएको सो पार्टीले जनाएको छ ।

साथै नेकपा एकीकृत समाजवादीले उम्मेदवार सिफारिसका लागि समय तालिका समेत सार्वजनिक गरेको छ । समय तालिका अनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्र तथा प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीले २०७९ भदौ १० गतेभित्र जिल्ला कमिटीमा सिफारिस गरिसक्नुपर्नेछ भने जिल्ला कमिटीले २०७९ भदौ १२ गतेभित्र प्रदेश कमिटीमा सिफारिस गरिसक्नुपर्ने र  प्रदेश कमिटीले २०७९ भदौ १५ गतेभित्र केन्द्रमा सिफारिस गरिसक्नुपर्नेछ । केन्द्रीय कमिटीले २०७९ भदौ २० गतेभित्र उम्मेदवार छनोटको निर्णय गरिसक्नेछ । सो पार्टीले उम्मेदवारका ८ मापदण्ड तोकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप