बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकको मुद्दती स्कीमले चेपुवामा बीमा कम्पनी

चिन्तामा बीमा कम्पनी, राष्ट्र बैंककै असन्तुष्टि
बिहीबार, ०२ भदौ २०७९, १५ : १०
बिहीबार, ०२ भदौ २०७९

निक्षेप तान्न होडबाजी गर्दै बैंकहरुले विभिन्न प्रकारका योजना (स्कीम) ल्याउँदा बीमा कम्पनीहरु चेपुवामा परेका छन् । केही बैंकहरुले २० वर्ष वा सोभन्दा बढी अवधिको मुद्दती निक्षेपमा १० गुणासम्म बढी रकम फिर्ता दिने योजना सार्वजनिक गरेका छन् । बैंकहरुले यस्तो योजना सार्वजनिक गरेपछि २० वर्षमा करिब दोब्बर भुक्तानी दिन्छु भन्ने सावधिक बीमा योजनाहरु समस्या परेका हुन् । यद्यपि, बीमा गराउनुको प्रमुख उद्देश्य लगानी प्रतिफलभन्दा पनि जोखिमको आर्थिक रक्षावरण हो ।

बजारमा तरलता (लगानी योग्य रकम) अभाव भइरहेकै अवस्थामा बैंकहरुले निक्षेप आकर्षित गर्नेगरी धमाधम गुणात्मक प्रतिफलको स्कीमहरु सार्वजनिक गर्न थालेका छन् । यस्तो प्रतिफल मुद्दती निक्षेपमा नै १० गुणासम्म प्रतिफल दिने बैंकहरुको घोषणा छ । जबकि, लामो समय निरन्तर प्रिमियम तिरेर बीमा गराएका बीमितले करार अवधि समाप्त भएपछि (सामान्यतः १५ देखि २० वर्ष) आफ्नो बचत प्रिमियमको ब्याजसहित एकमुस्ट रकम पाउछन् । यस्तो रकम मुस्किलले प्रिमियमको डबलसम्म हुनसक्छ । 

तर, बैंकहरुले अहिले नै निक्षेपको १० गुणासम्म प्रतिफल प्रस्ताव गरेपछि बीमा क्षेत्र झस्किन पुगेको छ । २० वर्षको लागि जीवन बीमा गराउँदा मुस्किलले दोब्बर हुने तर बैंकमा मुद्दती निक्षेपमा रकम राख्दा १० गुणा हुने भएपछि बीमा गराउनेको संख्या अझ घट्ने हो कि भन्ने चिन्ता बीमा कम्पनीहरुको देखिएको छ ।

बैंकहरुका स्कीम 
बैंकहरुले न्यूनतम दुई गुणादेखि अधिकतम १० गुणासम्म निक्षेप बराबरको प्रतिफलन प्रदान गर्ने स्कीम ल्याएका छन् । निक्षेपको १० गुणासम्म प्रतिफल सार्वजनिक गर्ने बैंकहरुमा एनआईसी एसिया, कुमारी र एनसीसी बैंक रहेका छन् । यी बैंकहरुले क्रमशः २०, २१.६ र २४.११ वर्षको अवधिको मुद्दती निक्षेपमा १० गुणासम्म प्रतिफल दिने घोषणा गरेका छन् । अर्थात् एनआईसी एसिया बैंकमा अहिले १० लाख रुपैयाँ राख्यो भने २० वर्षपछि १ करोड रुपैयाँ फिर्ता पाइन्छ । अरु बैंकको योजना पनि यस्तै हो ।

ग्लोबल आईएमई बैंक, बैंक अफ काठमाण्डू (बीओके), नेपाल एसबीआई बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, एनएमबी बैंकलगायतले ६.३ वर्षदेखि १३ वर्षसम्मको मुद्दती निक्षेपमा दुई गुणादेखि ४ गुणासम्म प्रतिफल दिने बताएका छन् । यसको अतिरिक्त बैंकहरुले निक्षेपकर्ताहरुलाई विभिन्न सेवा सुविधा समेत प्रदान गर्ने जनाएका छन् । 

केही बैंकहरुका निक्षेप योजनाहरु

चिन्तामा बीमा कम्पनीहरु
जीवन बीमक संघका अध्यक्ष समेत रहेका मेट लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) निर्मलकाजी श्रेष्ठ नेपाल जस्तो देशमा बैंकको स्कीमले बीमा क्षेत्र प्रभावित हुने बताउछन् । 
‘विकसित देशमा हुन्थ्यो भने फरक पर्ने थिएन, जहाँ बैंक र बीमाको आ–आफ्नै क्षेत्र र बुझाइ रहेको हुन्छ । तर नेपालमा अहिले पनि बीमा क्षेत्रलाई लगानीकै क्षेत्रको रुपमा बुझ्ने गरिन्छ । बैंक र बीमा दुबैलाई लगानीकै क्षेत्रको रुपमा बुझेपछि बैंकका निक्षेप स्कीमले पक्कैपनि प्रभाव पार्छ,’ रातोपाटीसँग श्रेष्ठले भने ।

सगरमाथा इन्स्योरेन्स कम्पनीको सिईओ समेत रहेका बीमक संघका अध्यक्ष चंकी क्षेत्री पनि नेपालमा बीमा क्षेत्रलाई पनि लगानीकै रुपमा बुझ्ने गरिएकोले समस्या हुने गरेको बताउँछन् । बैंकहरुका पछिल्ला पोलिसीले बीमा क्षेत्रलाई समस्यामा पार्ने भएपनि प्रतिफलका लागि मात्र बीमा क्षेत्रलाई हेर्न नहुने उनको भनाइ छ ।

‘बीमा क्षेत्रलाई बीमाकै रुपमा र बैंकलाई बैंककै रुपमा हेरिनुपर्छ, बैंकहरुको अहिलेको स्कीमले बीमा क्षेत्रमा प्रभाव परेपनि बीमा कम्पनीहरुले आफ्नो पोलिसी राम्रोसँग बुझाउन सक्नुपर्छ । आत्तिनु हुँदैन,’ क्षेत्रीले भने ।

राष्ट्र बैंकले ध्यान दिएको होलाः बीमा समिति
बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका प्रवक्ता राजुरमण पौडेल बैंकहरुको अहिलेको निक्षेप पोलिसीका बारेमा राष्ट्र बैंकले आवश्यक नियमन गरिरहेको हुने विश्वास व्यक्त गर्दछन् । बैंकहरुले आफूखुशी मुद्दती बचतमा मनलाग्दी प्रतिफल घोषणा गरिरहेको र यसले अन्ततः समग्र वित्तीय क्षेत्रमा नै प्रभाव पार्ने भन्दै उनले यसलाई राष्ट्र बैंकले बेलैमा नियन्त्रण गर्नुपर्ने बताए । 

‘बैंकहरुको निक्षेप पोलिसी कुनै वैज्ञानिक आधार छैन, कुन आधारमा केका लागि यस्तो निक्षेप आकर्षित गर्नुपरेको हो ? राष्ट्र बैंकले ध्यान दिएकै होला,’ प्रवक्ता पौडेलले भने । बैंकहरुको यस्तो पोलिसीले बीमा क्षेत्रमा प्रभाव पर्ने पौडेलले बताए । खासगरी ब्याजकै लोभमा (गुणात्मक) बीमितहरु बीमाको प्रिमियम तिर्न छाडेर बैंकमा सिफ्ट हुने हो कि भन्ने खतरा देखिएको उनको भनाइ छ । 

‘बीमितहरुले बीमालेख बमोजिम नियमित रुपमा प्रिमियम बुझाइरहनु पर्ने हुन्छ । एक त झन्झटिलो प्रक्रिया अर्कोतर्फ अहिलेको तरलता अभावको समयमा बीमाको प्रिमियम तिर्नभन्दा बरु ब्याजमा लगानी गर्न बीमितहरु आकर्षित हुनसक्छन् । थप यसमा बैंकहरुको पछिल्ला स्कीमहरुले बीमितहरु भड्किने खतरा छ’ पौडेलले भने । 

बैंकहरुलाई अप्ठेरो पर्न सक्छः राष्ट्र बैंक

बैंकले १० गुणासम्मको भुक्तानी दिने गरी सार्वजनिक गरेको स्कीमप्रति राष्ट्र बैंकले पनि असन्तुुष्टि जनाएको छ । अहिलेको व्यवस्थाले बैंकहरुलाई त्यसरी स्कीम ल्याउन रोक्न नमिल्ने भएपनि दीर्घकालमा बैंकहरुलाई नै अप्ठेरो पर्ने भन्दै राष्ट्र बैंकले चिन्तासहित असन्तुुष्टि जनाएको हो ।

बैंकहरुले अहिलेको मुद्दती निक्षेपको व्याज हिसाव गरेर २० वर्षपछि यति गुणा दिन्छौं भन्ने स्कीम ल्याएका हुन सक्ने नेपाल राष्ट्र बैंकको बैंक नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले बताए । ‘बैंकहरुले मुद्दती निक्षेपको व्याज हिसाव गरेर यति वर्षपछि यति गुणा दिन्छौं भनेका होलान्, अहिले व्याजदर महँगो छ, त्यसैले महँगो व्याज भएको बेलामा बैंकहरुले बढी निक्षेप लिए भने दीर्घकालमा उनीहरुलाई नै नकारात्मक असर पर्न सक्छ, किनभने अहिले लिएको निक्षेप रकम अबको २० वर्षसम्म यही ब्याजदरका आधारमा हिसाव गरेर दिइराख्नुपर्ने हुन सक्छ,’ कार्यकारी निर्देशक ढकालले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप