दुई महिनापछि ‘ट्रान्सफर स्टेसन’को फोहोर व्यवस्थापन
विगत दुई महिनादेखि टेकु ट्रान्सफर स्टेसनमा थुपारिएको फोहोर व्यवस्थापनको काम भएको छ । उक्त फोहोर व्यवस्थापनका लागि सहयोगी भेटेपछि काठमाडौँ महानगरपालिकाले आजबाट उक्त कार्य थालेको हो ।
सो स्थानमा लामो समयदेखिको फोहर रहेकाले सबै फोहर अन्तिम व्यवस्थापनसम्म लैजानका लागि भने थप केही दिन लाग्ने कामपाले जनाएको छ । लामो समयदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर अन्तिम व्यवस्थापनस्थलसम्म लैजान नपाएपछि महानगरले टेकुमा थुपारी प्लास्टिकले छोपेर राखेको थियो ।
पटक–पटक सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विभिन्न माग राखेर फोहर व्यवस्थापनमा अवरोध गरेपछि उपत्यकाको फोहर व्यवस्थापन हुन सकेको थिएन । फोहर व्यवस्थापनका सम्बन्धमा बुधबार काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी तथा सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीबीच भएको चार बुँदे सहमतिपछि आजदेखि साविक बमोजिम फोहोर व्यवस्थापन कार्य भएको हो ।
काठमाडौँको फोहर बञ्चरेडाँडासम्म लैजानका लागि विभिन्न पेशा तथा व्यवसाय क्षेत्रले पनि सहयोग गरेका छन् । यस क्रममा आज नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले पठाएका १८ टिपर फोहर बोकेर ल्याण्डफिल साइट पुगेका छन् ।
समानान्तर निर्माण सेवाले पनि पूर्ण निःशुल्क सेवा दिने गरी ३० वटा टिपर उपलब्ध गराएको छ । यी टिपर पनि बिहानै फोहोर बोकेर ल्याण्डफिल साइट पुगिसकेको महानगरको वातावरण विभागका प्रमुख सरिता राईले जानकारी दिइन् । नगर प्रमुख बालेन्द्र साहले फोहोर व्यवस्थापन कार्यलाई वातावरण र जनस्वास्थ्यमैत्री बनाउने प्रयासमा जोड दिए ।
मालबाहक टिपर व्यवसायीले सामाजिक जिम्मेवारी पूरा गर्ने क्रममा फोहोर ढुवानीमा सहयोग गर्ने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका मालबाहकतर्फका उपाध्यक्ष यादवलाल श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि
-
विश्व ट्रायथलन महासंघकी अध्यक्ष नेपालमा
-
१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
-
एसियाबाट नेपालले जित्यो ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’
-
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु
-
अमेठीमा उम्मेदवारी दिनुअघि राहुल गान्धीले अयोध्यामा रामको दर्शन गर्ने