शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सामूहिक बलात्कार प्रकरण : कराँते प्रशिक्षकद्वय राउत र सुवेदीविरुद्ध मुद्दा दर्ता

बिहीबार, ०२ भदौ २०७९, १९ : ५६
बिहीबार, ०२ भदौ २०७९

नर्सिङ कलेजकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका विराटनगरका विनोद राउत र सुरज सुवेदीविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ । कराँतेका प्रशिक्षकसमेत रहेका विराटनगर–३ का ५० वर्षीय राउत र विराटनगर–४ का ५० वर्षकै सुवेदीविरुद्ध जबर्जस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरिएको हो ।

सामूहिक जवरजस्ती करणी मुद्दामा ७ देखि १० वर्षसम्म कैद सजाय र सामूहिक जवरजस्ती करणी गरेकोमा थप ५ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानासहित पीडितलाई उचित क्षतिपूर्तिको माग दाबी लिएर मुद्दा दर्ता भएको मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । आगामी आइतबार वादी र प्रतिवादीका कानुन व्यवसायीहरूले पैरवी गरेपछि आदेश आउने बुढाथोकीले बताए । थुनछेक बहस सकिएपछि प्रतिवादीको हकमा साधारण तारेख, धरौटी र पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एउटा आदेश अदालतले दिनेछ ।

सुनसरीको इटहरी घर भई विराटनगरको विराट हेल्थ कलेजमा अध्ययनरत १९ वर्षीया छात्रालाई सामूहिक बलात्कार गरेको आरोपमा राउत र सुवेदी गत साउन ८ गते पक्राउ परेका हुन् । राउत र सुवेदी राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट स्थायी नियुक्ति पाएका कराँतेका प्रशिक्षक हुन् । छात्राले दिएको किटानी जाहेरीमा गत जेठ अन्तिम साता राउत र सुवेदी मिलेर विराटनगरको एउटा होटलमा सामूहिक बलात्कार गरेको उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप