बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पुरुषका लागि बनाइएको स्यानिटरी प्याड, महिलाले महिनावारीका बेला कसरी प्रयोग गर्न थाले ?

शुक्रबार, ०३ भदौ २०७९, १२ : ०४
शुक्रबार, ०३ भदौ २०७९

स्कटल्याण्डमा महिलालाई महिनावारीसँग सम्बन्धित सबै उत्पादन निःशुल्क दिइनेछ । सन् २०२० मा स्कटिस संसदले यसबारे कानुन बनाएको थियो । यहाँ अब जोसुकै महिलाले निकै सजिलै स्यानिटरी प्याड र महिनावारीका अन्य उत्पादन हासिल गर्न सक्छन् ।

स्क्टल्याण्ड महिलालाई यो सुविधा उपलब्ध गराउने विश्वको पहिलो देश बनेको छ । अर्कोतर्फ नेपाललगायत विश्वका विभिन्न हिस्सामा महिनावारीलाई अहिले पनि ट्याबु मानिन्छ ।

युवतीहरुको ठूलो समस्या हो ‘पिरियड्स पोभर्टी’

आफ्नो देशमा कानुन बनेपछि स्कटल्याण्डका नेताले आफ्नो देशमा ‘पिरियड्स पोभर्टी’ समाप्त भएको घोषणा गरेका छन् । स्मरण रहोस्, पिरियड्स पोभर्टी त्यो स्थितिलाई भनिन्छ जहाँ कुनै युवती–महिलाले आर्थिक समस्याका कारण स्यानिटरी प्याड खरिद गर्न सक्दैनन् । एक आँकडा अनुसार लकडाउनका बेला युरोपका एक तिहाई महिलाले पिरियड्स पोभर्टीको सामना गरे । जर्ज म्यासन युनिभर्सिटीको एक अनुसन्धान अनुसार कलेज जाने १४ प्रतिशत अमेरिकी युवती–महिला पिरियड पोभर्टीको शिकार थिए ।

स्कटल्याण्डमा यी स्थानमा पाइनेछ स्यानिटरी प्याड

–स्कुल

– कलेज

– सार्वजनिक पुस्तकालय

– स्विमिङ पुल

– जिम

– कम्युनिटी सेन्टर

– सरकारी कार्यालय

– फार्मेसी

महिला मोबाइल एपमार्फत् पनि अन्य सेन्टर खोज्न सक्छन् जहाँ निःशुल्क स्यानिटरी प्याड पाउन सकिन्छ ।

यी देशमा निःशुल्क प्याड दिने तयारीमा, थुप्रै स्थानमा कम गरियो कर

अघिल्लो वर्ष न्युजिल्याण्डले स्कुलका विद्यार्थीका लागि स्यानिटरी उत्पादनलाई निःशुल्क बनाएको थियो । केन्या र दक्षिण कोरियामा पनि महिला विद्यार्थीलाई यस्तो सुविधा प्रदान गरिन्छ । पछिल्ला केही दिनमा अमेरिकाका थुप्रै राज्यले स्यानिटरी उत्पादनमा लगाइएको कर कम गरिएको छ । यसकारण यहाँ यी उत्पादन निकै कम शुल्कमा पाइन्छ ।

आइसल्याण्डमा सबैभन्दा महँगो र भियतनाममा सबैभन्दा सस्तो छ स्यानिटरी प्याड ।

पुरुषका लागि बनेको थियो प्याड, महिलाले महिनावारीका बेला प्रयोग गर्न सुरु गरे

स्यानिटरी प्याड मूल रुपमा महिलाका लागि बनाइएको थिएन । यो बनाउने बेला महिनावारीलाई पनि ध्यानमा राखिएको थिएन । ‘माय पिरियड ब्लग’ को एक रिपोर्ट अनुसार पहिलो विश्वयुद्धका बेला घाइते सिपाहीको रगत रोक्नका लागि फ्रान्सका नर्सले प्याड प्रयोग गरेका थिए । यी प्याडले घाइते सिपाहीको रगत तीब्र रुपमा सोस्ने गर्दथे र यसलाई निकै सजिलै फेर्न पनि सकिन्थ्यो ।

युद्धका बेला यस्ता प्याड बनाउने कम्पनीका महिला कामदारले ती प्याडको प्रयोग आफ्नो महिनावारीका बेला पनि गर्न सुरु गरे । यसरी नै स्यानिटरी प्याडको अवधारणा विकसित भएको हो ।

पहिला पनि प्रयोग हुन्थे स्यानिटरी उत्पादन, सन् १८९६ मा जोनसनले बनायो स्यानिटरी टावल

स्मरण रहोस्, पहिलो विश्वयुद्ध अघि पनि स्यानिटरी उत्पादन बजारमा बिक्थे । सन् १८९६ मा ‘जोनसन एन्ड जोनसन’ कम्पनीले पहिलो पटक स्यानिटरी टावल बजारमा ल्याएको थियो । यसलाई ‘लिटर्स टावल’ भन्ने गरिन्थ्यो । यसबाहेक कपडा र रबरले बनेको स्यानिटरी बेल्ट पनि पाइन्थ्यो । तर यी असाध्यै महँगा हुने गर्दथे । केही धनाढ्य महिलाले मात्रै यो प्रयोग गर्न सक्थे । त्यतिबेला धेरैजसो महिलाबीच कपडा नै लोकप्रिय थियो । स्यानिटरी प्याड बजारमा आएपछि ठूलो संख्यामा महिलाले कपडाको साटो यो प्रयोग गर्न सुरु गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप