शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दक्षिण कोरियाको प्रतिक्रियाप्रति उत्तर कोरिया आक्रोशित

शुक्रबार, ०३ भदौ २०७९, १५ : ३४
शुक्रबार, ०३ भदौ २०७९

उत्तर कोरियाली नेता किम जोङ उनकी शक्तिशाली बहिनी किम यो जोङले आणविक हतियार छाडे अर्थतन्त्र सघाउने दक्षिणको प्रस्तावलाई ठाडै अस्वीकार गरेकी छन् । यसअघि दक्षिण कोरियाली राष्ट्रपति यून सुक–यियोलले उत्तर कोरियाले आणविक निशस्त्रीकरण सुरु गरे बदलामा चरणबद्ध आर्थिक सहायता दिने प्रस्ताव गरेका थिए । 

बुधबार सत्तामा आएको १०० दिन पुरा भएको अवसरमा एक पत्रकार सम्मेलन आयोजना गरेर यूनले उनको प्रस्ताव दोहोर्याएका थिए । त्यसैको जवाफमा किम यो जोङले एक विज्ञप्ति जारी गर्दै ‘मुख नखोलेकै भए यूनको इमेजलाई राम्रो गर्थ्यो ’ भनिन् । 

किम यो जोङको विज्ञप्ति उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले जारी गरेको थियो । ‘यूनले कति सजिलोसँग उत्तर कोरियाली सम्मान र आणविक हतियारको बदलामा आर्थिक सहकार्य प्रस्ताव गरे’ यो जोङले विज्ञप्तिमा भनेकी छन् । 

‘कसैले पनि आफ्नो नियतिलाई खाने कुरासँग साट्दैन,’ उनले भनेकी छन् । दक्षिण कोरियाका एकीकरण मन्त्री क्वोन योङ–सेले संसदमा बोल्ने क्रममा आफ्नो देशको प्रस्तावप्रति किम यो जोङले जनाएको टिप्पणीप्रति ‘गहिरो पछुतो’ व्यक्त गरे । योङ–सेले उत्तर कोरियाली प्रतिक्रियालाई ‘अत्यन्त अपमानजनक र अभद्र’ टिप्पणी भनेका छन् ।  

उत्तर कोरियाले उसको कुल ग्राहस्थ उत्पादनको ठूलो हिस्सा हतियार कार्यक्रममा खर्चिन्छ । अमेरिका, दक्षिण कोरिया र जापानको ‘शत्रुतापूर्ण’ नीतिका कारण आफूले आणविक कार्यक्रम परित्याग गर्न नसक्ने उसले बताउने गरेको छ । अर्थात उत्तर कोरियाले आणविक हतियारलाई उसको अस्तित्वसँग जोड्ने गर्छ ।  

केसीएनएले बुधबार नै उत्तर कोरियाले दुई क्रुज मिसाइल समूद्रमा परीक्षण गरेको समाचार प्रसारण गरेको छ । यो वर्ष उत्तर कोरियाले हतियार परीक्षण बढाएको छ । उसले सन् २०१७ पछि पहिलोपटक अन्तर–महादेशीय ब्यालेष्टिक मिसाइलको परीक्षण पनि गर्यो । तथापि प्योङयाङलाई ब्यालेष्टिक मिसाइल परीक्षण गर्न अन्तर्राष्ट्रिय प्रतिबन्ध छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप