शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जलवायु शरणार्थी बन्ने जोखिममा बङ्गलादेशको तटीय भेगका बासिन्दा

शुक्रबार, ०३ भदौ २०७९, २१ : २६
शुक्रबार, ०३ भदौ २०७९

दक्षिणी बङ्गलादेशका स्थायी बासिन्दा मोहम्मद ज्वेल र आरजु बेगमका पिता पुर्खाले बनाएको टिनको छाना भएको घर एक वर्ष अघि मेघ्ना नदीको बाढीले बगाएपछि उनीहरू पुख्र्यौली थातथलो छाडेर अन्यत्र जान बाध्य भए । 

भोला जिल्लाको रामदासपुर गाउँमा रहेको आफ्नो घर बगेको भोलिपल्ट बिहानै यी दम्पती  आफ्ना चार जना छोरा लिएर सय किलोमिटर  टाढा राजधानी ढाकातर्फ लागे । रामदासपुर गाउँ सबैभन्दा बढी बाढीबाट प्रभावित तटीय क्षेत्रहरू मध्येको एक हो जहाँ धेरै गाउँलेहरू नियमित रूपमा हराउँछन् । उनीहरूका घर र जग्गा पनि बङ्गालको खाडीमा बिलाउँछन् । 

बङ्गलादेशबाट बग्ने मेघ्नालगायत धेरै नदीको उद्गमस्थल हिमालय हो । एक सय ३० भन्दा बढी नदी देशको उत्तरी र उत्तरपूर्वी क्षेत्रबाट बग्छन् जसले वर्षायाममा तल्लो तटीय क्षेत्रमा बाढीको गम्भीर जोखिममा पर्ने गरेका छन् । 
जलवायु परिवर्तनका कारण देशको मौसममा अनियमितता उत्पन्न भई नदीको किनार द्रुत रूपमा भत्किने र गाउँपछि गाउँ ध्वस्त हुने गरेका विज्ञहरू बताउँछन् । वर्षायाममा धेरै नदीहरूले बाटो परिवर्तन गर्छन्  जसले बजार, विद्यालय, मस्जिद बगाउँछन्।

समुद्री सतहको वृद्धि, नदी कटान, चक्रवात आँधी र भित्री भूभागमा नुनिलो पानी बग्ने कारण लाखौं विस्थापित हुने र ‘जलवायु शरणार्थी’ बन्ने जोखिममा परेका वैज्ञानिकहरू बताउँछन् ।  गत वर्ष प्रकाशित विश्व बैंकको प्रतिवेदनअनुसार सन् २०५० सम्ममा दक्षिण एसियाका आन्तरिक जलवायु शरणार्थीमध्ये एक तिहाइ बङ्गलादेशमा हुने अनुमान गरिएको छ ।

“हामी नदी हेरेर हुर्केका हौँ, यहीँ माछा मारेर बाँचिरहेका थियौँ तर अहिले हामीबाट सबै कुरा खोसिएको छ, मेरो चित्त दुख्छ जब म मेरो गाउँ, मेरा पुर्खाहरू, मेरा पुराना दिनहरू सम्झन्छु । मसँग मेरो जन्मस्थान छोड्नुको विकल्प थिएन,” भरिया आरजु बेगमका साथ एक वर्षपछि रामदासपुरको आफ्नो पुरानो घर भएको स्थानमा पुगेका ज्वेल भावुक हुँदै भन्छन् । 

मेघ्ना नदीले पथ परिवर्तन गरेर आफ्ना छिमेकीका घर पनि बगाएको देखे । उनले बाल्यकालमा बस्तीको नजिकबाट नदी बगेको कहिल्यै महसुस गरेका थिएनन्  तर केही वर्षयता  मेघ्नाको धार हरेक वर्ष मानवबस्तीतर्फ सोझिँदै गएको छ । 

कुनै समय साना खुद्रा सामग्रीका पसल, चिया चमेना बेच्ने पसल, हाटबजार र हरियालीले आकर्षक गाउँ अहिले उजाड प्रायः छ । दुई हजारभन्दा बढी मानिसको बसोबास रहेको आफ्नो गाउँमा मुस्किलले अहिले पाँचसय जना भेटिन्छन् । 

हालैका वर्षमा हुन थालेको मुसलधारे वर्षाले तटीय क्षेत्रका बासिन्दाको जीवन कष्टकर बनाएको तथा आफ्ना समुदायका पुराना साथी र तिनका घरका अवशेषहरूबाट हिँड्दा आरजु बेगमलाई पनि उत्तिकै पीडा हुन्छ । “डुब्ने डरले घरको ढोकामा डोरीले खुट्टा बाँधेर कान्छो छोरालाई हुर्काएको हुँ । ज्वारभाटाको समयमा घर पानीले भरियो र मेरो कान्छो छोरो सधैं पानीतिर लाग्थ्यो, अवोध केटाकेटीलाई पानीमा खेल्न आनन्द आउँछ,” बेगम विगतलाई यसरी सम्झन्छिन् । 

 मेघ्नाको बाढीबाट विस्थापित भएकाहरू कोही उठाइएका अग्ला भागमा, कोही भाडाको घरमा, कोही बाँधको छेउमा अस्थायी आश्रयमा बसिरहेका छन् । बेगम ढाका गइन् तर उनी पनि समुदायका अरू जस्तै घरबारविहीन भइन् । 

प्रतिदिन दुई हजारभन्दा बढी आप्रवासी राजधानी ढाका आउने गरेका छन् । बङ्गलादेशको राजधानीको उत्तरी भागमा जलवायु परिवर्तनका कारण प्रभावित भएका  आप्रवासीका लागि आश्रयस्थल निर्माण गरिरहेका छन्  तर ज्वेल र बेगमको परिवार उक्त आश्रयस्थलमा टाउको लुकाउने स्थान पाउन असमर्थ छन् । 

विशेष गरी अमेरिका, चीन र भारतजस्ता देशले हरित गृह ग्यास उच्च मात्रामा उत्सर्जन गर्नाले विश्वका धेरै स्थानमा अधिक कठोर मौसमी घटना बढाएको विज्ञहरू बताउँछन् । ढाकाको मिरपुर क्षेत्रमा बसेका ज्वेल र बेगमलाई मेघ्नाको त्रास अब छैन तर उनीहरूको जीवनमा कुनै परिवर्तन आएको छैन । 

घरघर पुगेर ज्वेल फोहर सङ्कलन गर्छन् र प्राप्त १२ हजार टाका पारिश्रमिकले परिवारको भरणपोषण गर्छन् । उनलाई सबैभन्दा मन नपर्ने काम नै  फोहर सङ्कलन गर्नु हो तर उनी विवश छन् । बेगमको काम पनि सरसफाइसँगै सम्बन्धित छ ।

उनी दुईवटा घरमा सरसफाइको काम गर्छिन र महिना मरेपछि पाइने चार हजार टाकाले घर भाडा तिर्न श्रीमानलाई आफ्नो आम्दानी सुम्पिन्छिन् । वर्ष दिन अघि आफ्नै घरमा बसेकी उनलाई अहिले महिनै पिच्छे घरबेटीलाई भाडा तिर्नुपर्दा नरमाइलो लाग्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप