कथा : परदेशमा भेटिएकी बहिनी

person explore access_timeभदौ ४, २०७९ chat_bubble_outline0

‘दाइ यो तिहारमा म हजुरलाई टीका लगाउँछु है ? तपाईंको अनुहार बोलीचाली दुरुस्तै मेरो दाजुसँग मिल्छ । तपाईंलाई हेरेर त सुरुमा मेरो आँखाबाट आँसु आयो आफ्नै दाजु सम्झेर । यो विरानो मुलुकमा दाजुको रूपमा तपाईंलाई पाउँदा कति खुसी भाकी छु म ।’


करिब ९ महिना पहिले धरानकी सन्ध्या बहिनीसँगको भेटमा उनले भनेकी थिइन् उक्त कुरा । म पनि खुसीले चार हात माथि उफ्रिएको थिएँ । दिदी बहिनीविहीन यो जलनलाई कसैले दाजु भनेर सम्बोधन गर्दा त आँखा रसाएर आउँथ्यो भने झन् टीका लगाउने बहिनीको आगमनले कम्ता खुसी बनाएन । 



त्यो प्रस्तावले आत्मीयता, आफ्नोपन माया, स्नेह सबै पोखियो छताछुल्ल । बहिनीका मीठा र मायालु कुराले मलाई हर्षित बनाइरह्यो । समय आफ्नै क्रममा घुमिरह्यो । हरेक दिन फोनमा कुरा हुन्थ्यो, सुखदुःख साटासाट हुन्थ्यो । बहिनी आफ्नो विगतको कालो जिन्दगीको कथा सुनाउँथिन् । उनका दुःखले भरिएका जीवनका भोगाइहरू सुनेर मन खिन्न हुन्थ्यो । म सम्झाउँथे, हरेस खानु हुँदैन बहिनी । समय आउँछ, खुसी फर्किएर आउँछ, आत्तिनु हुँदैन यस्तै यस्तै सान्त्वना दिइरहन्थे म । 



एक दिन राती १० बजे अचानक बहिनीको फोन आयो । फोन उठाउँदा पीडा मिसिएको आवाज, अनि रोएजस्तो सुनियो । म आत्तिएँ, के भो बहिनी, किन रोएको ? भन त के भो ? 



उनले रुँदै दाइ घरमा मेरो आमा बिरामी हुनुहुन्छ । अघि भरखरै बुबाले फोन गर्नुभाको थियो सारै हुनुहुन्छ रे, अस्पतालमा भर्ना गरिएको छ रे । खै के भाको हो अप्रेसन गर्नुपर्छ रे भन्दै हुनुहुन्थ्यो । पैसा छ भने चाँडै पठाइदेऊ छोरी, घरमा पैसा छैन भन्नू भो । 

अब के गर्ने दाइ मसँग त पैसै छैन, यहाँ काम गर्ने ठाउँमा नि मालिक केही दिनलाई बाहिर गएको छ । के गर्ने दाइ, म त सारै समस्यामा परेँ । अब अरू कोही आफन्त छैनन् यहाँ, जे भने नि मेरो लागि त तपाईं नै हो । जसरी भए नि दाइ ३० हजार जति मलाई खोजिदिनुस् । 

बहिनीलाई अप्ठ्यारो पर्दा सहयोग नगर्नु पनि कसरी । मैले साथी भाइलाई भनेर १०० केडि अर्थात् नेपाली ३५ हजार रुपैयाँ खोजेर बहिनीलाई उनी भएकै घरमा पुगेर पैसा दिएँ । र, नआत्तिन आग्रह गरे । उनले पैसा घरमा पठाइन् । 

उनी बारम्बार भन्ने गर्थिन्, ‘म कति भाग्यमानी छु , परदेशमा पनि यति धेरै माया गर्ने दाइ पाएकी छु । दाइ, मेरो लागि त तपाईं भगवान् नै बनेर आउनु भो । आज तपाईं नभएको भए मेरो आमाको उपचार मैले गर्न सक्ने थिइन होला ।’ 

समय बित्दै गयो आफ्नै गतिमा । २ महिनापछि मलाई पैसाको सारै समस्या पर्‍यो । अनि बहिनीलाई भने, ‘मलाई अलि समस्या छ, पैसा भए देऊ न है, बहिनी ?’ 

उनले ‘हुन्छ दाइ म भोलि दिन्छु तपाईंलाई’ भनिन् । अर्को दिन उनको फोनको प्रतीक्षामा दिन बित्यो । साँझ फोन गर्दा स्विच अफ भनिरह्यो । सायद काममा भएर होला सोचे । राती अबेरसम्म नि फोन बन्द नै थियो । भोलिपल्ट फेरि प्रयास गरे मोबाइल स्विच अफको अफ नै भन्यो । 

त्यसपछि हरेक दिन सम्पर्क गर्न खोजे तर सकिनँ । पछि उनीसँगै काम गर्ने उनको साथीलाई सोधे, बहिनी त नेपाल गइसकेको जानकारी पाएँ । माया खुसी र स्नेहको मुटुभित्र विश्वासघातको आगो लगाएर गएपछि मन चस्स बिझाएको छ ।

भाइटिकाको बहानामा छल गर्ने ती बहिनी अहिले खै कहाँ छिन्, के गर्दै छिन् ? मलाई थाहा छैन । तर मेरो कोमल भावनामाथि मनपरी खेलेर गएकी छन् । टीका नलगाए पनि दक्षिणा हजारौँ लिएर गयौ बहिनी, तिमीलाई बधाई छ । खुसी हुनु रमाउनु जिन्दगीभरि ।

बर्दिया, हाल: साउदी

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।