हामी बताहाहरू

person explore access_timeभदौ ४, २०७९ chat_bubble_outline0

यतिखेर चारैतिर बताहाहरूको बिगबिगी देखिरहेछु । बताहाहरूको सार्वभौम स्वभाव हो– बातमाथि बात गर्नु, काममाथि हात नपार्नु । बतासे बातवीरको व्याप्तिले परिवेशलाई कर्याप्प गाँजेको छ, अहिले यत्रतत्र सर्वत्र झुण्ड झुण्डमा गोलबन्द भएर बताहाहरू बातका खात लगाइरहेछन् । लाग्छ, यो देश बातमा औधी अग्रणी छ । पुङ्माङ बतासे कुरामा कोही पछि छैनन् । चिनियाँहरूको स्वभावको बारेमा भर्खरै पढ्दै थिएँ, उनीहरू कुरा कम काम बढीमा जोड दिन्छन् अरे । तर हाम्रो स्वभाव काम कम, कुरा बढी दोचार्ने खालको छ । त्यसैले हामी कुराका धनी कामका गरीब मान्छे बन्दैछौँ ।


जाहीँताहीँ बताहा बातवीरकै बाहुल्यता बढिरहेछ । कर्मठ मान्छेको संख्या घट्दो अवस्थामा छ । गफीहरूको संसार फराकिलो हुँदो छ । शिक्षालयहरूमा देख्छु, सिकाइ र अध्यापनमा भन्दा कुरा कथुर्ने अध्यापकको जमात बढी देख्छु । कार्यालयमा हेर्छु, सेवाग्राहीलाई सेवा टक्र्याउने भन्दा बेतुक कुरामा समय खाइदिने कर्मचारीको बाहुल्यता देख्छु । चोक र चिया पसलमा बिहान ब्यूझेँदेखि साँझ नढलुन्जेल बतासे कुरा उडाउने व्यक्तिको जमघट देख्छु । जाहीँताहीँ कुरा कथुर्ने मान्छेको खाँचो छैन । घरमा ढलेको लोटा नउठाउनेहरू घण्टौँ सडकमा गफका पहाड उचालिरहेको देख्छु ।



शिक्षा, राजनीति, कानून, कुटनीति, समाजतन्त्र, अर्थतन्त्र, घरव्यवहार, बन्दव्यापार सवैतिर बताहाको बोलबाला चलिरहेको छ । तर बताहाका अनन्त बातले देशमा धमिरो उठिरहेछ । यिनका निरर्थक कुराले निपट अन्धकारतिर समाज  घस्रिरहेछ । कतिपय क्षण यस्तो लाग्छ, जहाँ जाऊँ बताहाकै झुण्ड भेटिन्छ, जहाँ पुगूँ बताहाकै बात सुनिन्छ, यो स्थितिले यिनका अनुहारबाट मभित्र दिङमिङको भाव पैदा हुन्छ । यिनका कुरा कर्णविवरमा ठोक्किँदा छाला  चिलाउने रोगले भेट्छ कि भन्ने डर छ, याने कि बताहाका बातले कतै एलर्जी त आउने होइन ।



बताहाका बातले कतिपय क्षण एक्काइसौँ शताब्दीको घण्टाकर्ण बनूँ कि भन्ने सोच पलाउँछ । पौराणिक मिथकको पात्र घण्टाकर्ण आफ्ना दुइटै कानमा ठूल्ठूला  घण्ट झुण्डाएर हिडँथ्यो अरे । अरुका कुरा सुन्नु नपरोस् भनी घण्टाकर्णले कानमा घण्ट जडेको कुरा कतै पढेको छु । आफूलाई मन नपर्ने कुरा  सुन्नु नपरोस् भनेर सत्रसत्र धार्नीका घण्ट कानमा जडेको कुरा पढेको छु ।                                                                                                                                                                                                                            



मैले त  कतिपय क्षण, असल कामकाजी मान्छेका सार्थक कुरापनि सुन्नुपर्छ । त्यसैले घण्टाकर्ण जस्तो कानमा घण्ट झुण्ड्याइहाल्नु पनि भएको छैन । सोलोडोलो सबै बतासे बातवीरमात्र होवैनन् भन्ने  मेरो मान्यता रहिआएको छ ।

एउटा मान्छे पोखरीमा डुबेर फोहोर टिपिरहेको छ । अरु पचासजना बतासे बातवीरहरू भने नजिकैको चौतारीमा गफका चुट्की बजाइरहेछन् । अरु बातवीरहरू चिया पसलमा बसेर पोखरी सफा गर्ने मान्छेको चियोचर्चाे गरिरहेका छन् । उसको नाटीकुटीमा नाक चेप््रयाइरहेछन् । उसले फोहोरी काम ग¥यो भनी गिल्ला हाँसो उडाइरहेछन् ।

बस्ती नजिकको सडकमा कुकुर मरेर गाउँ दुर्गन्धित भएको तीन दिन बितिसक्यो । गाउँका गफीहरू चिया पसलमा बसेर दुर्गन्धको चिन्ता पोखिरहेछन् । नगरपालिकाको निकम्मापनमाथि भत्र्सना बोलिरहेछन् । नगरपालिकाले सिनो फालीदेला र स्वच्छ समिर नाकमा पस्ला भन्ने आशमा त्यसै विषयमा गफ गरेको कति दिन भयो । उनीहरूलाई  सबै मिली सिनो फालेर गाउँलाई दुर्गन्धमुक्त बनाऊँ भन्ने चेतनाले कुनै पनि दिन छोएन ।

बताहाको सिधा अर्थ नचाहिँदो निरर्थक कुरा धेरै गर्ने तर काम केही नगर्ने भन्ने हो । कुरा जस्तै काम गरेका भए त यो देशले समृद्धिको शिखरमा उहिल्यै टेकिसक्थ्यो होला । हावादारी कुरामा बकबक गर्नु यिनको सार्वभौम स्वभाव हो । आकाशमा हावामहल खडा गर्नु यिनको दैन्दिनीको कर्म हो ।

आकाश पातालका पाङ्दुरे गफ गरी मान्छेलाई सिल्पट बनाउने  कला बतासे बातवीरहरूमा लबालब भरिएको हुन्छ । सिल्ली गफले शैल उठाउने सपना बुन्छन् यिनीहरू । गफकै भरमा निर्मल आकाशको छातीबीच निर्माणको नहर बगाउने कल्पना गर्छन् यिनीहरू । तर अफशोच ! आफ्नो सुख्खा सागबारीमा एक डोल पानी उघाएर छम्किन असमर्थ बन्छन् यिनीहरू । 

बरु केवल गुन्द्रुक रसको भरमा मात्रै तीन थाल हसुर्नुमा अपार आनन्द लाग्छ । काम गरेर हरियो सब्जी खाने चेतनाले गुँड लाउँदैन । शुष्क बोलीबाट सावर बर्साउने तर श्रमको नाममा एक थोपा पसिना नझार्नु यिनीहरूको साझा विशेषता हो । 

हावामा हवेली खडा गर्नु, हावामा सपना देख्नु, हावामा गफको विमान उडाउनु बताहाहरूको सनातनी विशेषता हो । बेसुरमा गफ जोत्नु सर्वाधिक रुचिको काम भएकाले यिनीहरूको साइनो असुर जगतसित नजिक गाँसिएको छ । सुर भएको मान्छे कदाचित बताहा हुन सक्दैन । अक्सर सुरहीन मान्छे नै बताहा हुन्छ । सुर याने कि होश । सुर याने कि  सचेतना । उहिले पनि सुर नभएको मान्छे स्वतः असुर बन्थ्यो । हाम्रा पुराण, धर्मशास्त्र र ग्रन्थहरूले त्यही कुरा बताउँछन् । बताहाको कुनै सुर नहुने हुँदा यिनको नातो असुर गणसितै जोडिएको होला भन्ने कुरामा म ढुक्क छु ।

हामी बेतुक बात मात्र थुपार्ने बताहा भएको कारण, काममा हरदम पछाडि, बातमा हरदम अग्रणी भएको कारण आत्मनिर्भर हुन सकेनौँ, स्वनिर्भरताामा जीवित हुन सकेनौँ । अर्को देशबाट ल्याएको पेट्रोल जलाएर, मात्र देखिनलाई ठूला भएका हौँ,  यथार्थमा हामी गुँइठा युगमा छौँ । हाम्रो गुँइठे बुद्धिले हामी गुइँठा युगमा छौँ । 

हरदम गफ जोत्न आउँछ हामीलाई, आफ्नो बञ्जर बारीमा फाली चलाउन आउँदैन । गाली गर्न आउँछ, बाली लाउन आउँदेन । कुरा चलाउन आउँछ, छुरा चलाउन आउँदैन । मुख चलाउन आउँछ, मार्ताेल चलाउन आउँदैन । अकर्मण्यतामा रम्ने सनातन  संस्कृतिले होला, मस्याङ मस्यौरा उत्पादन गर्न आउँदैन, अरुले फलाइदिएको मुङ खोजीहिँड्छौं । कुचो र खरेटोमा आत्मनिर्भर छैनौँ । अर्काे मुलुकबाट कुचो आयात गरेर आफ्नो घर बढार्छौँ । नाथे कुचो बाट्न नसक्ने पङ्गु हामी गफका रकेट उडाउँछौँ । यस्तो पङ्गुपतित भएका छौँ, जसको वर्णन गरी साध्यै छैन ।

दिनदिनै सिल्ली सिल्पट बन्दै गएका छौँ । कर्मण्यतिरको यात्रामा होइन, हरदम कुरोकन्थोको यात्रामा  भुलिएका छौँ । अनि दिनदिनै केहीले नछुने र नकाटिइने लबस्तरो पनि भएका छौँ । लबस्तरोलाई अर्काे शब्दमा नहरनी पनि भनिन्छ । गैँडादिको छालाबाट निर्मित लबस्तरोमा छुरा उद्याइन्छ । छुरा जस्तो धारिलो चिजले फट्कार्दा पनि यसलाई कुनै असर गर्दैन । अर्थात् अङ्गमा चोट पार्न सक्तैन उसलाई । त्यही लबस्तरोको गुण मान्छे भित्रपनि भेटिन्छ ।

लाज पचाउनुको अर्थ सकिएपछि मान्छे निर्लज्ज बन्छ ।  लबस्तरो बन्छ । भित्रको संवेदना र विवेक मरेपछि केहीले घोच्ता पनि हामीलाई दुख्तैन । काट्ता पनि दुख्दैन । त्यसैले हर बताहामा लबस्तरो गुण टनाटन खाँदिएको पाउँछु ।

कर्मठ कर्मशील मान्छेलाई बेतुक बात गर्ने समयको अवकाश कहाँ छ र ? उसको लागि त समय हीराको मूल्यवान टुक्रा बराबर छ । ऊ निस्सार गफको फाँको हालेर आयु चपाउन सक्तैन । उनीहरूले प्रतिफल समयको एक एक धड्कनलाई कर्ममा नापेका हुन्छन् । सिर्जनामा जाँचेका हुन्छन् ।  पौरख र पसिनामा छापेका हुन्छन् । तर बातविर बताहालाई गफ लाउन सदावहार छुट्टी छ । तर बुझ्नू, एकदिन वताहालाई  समयले कठोर चाबुक मार्ने छ, डाढभरि सुम्ला बसाउने छ । आङभरि लातको वर्षात छाड्ने छ । अनि क्रुर समयले उसलाई कष्ट कसलाको काँढाघारीमा निर्मम रुपमा लतार्ने छ । चेतना भया ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।