शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘मदन पुरस्कारको सुरक्षित बाटो यथास्थितिको अनुमोदन हो’

शनिबार, ०४ भदौ २०७९, १० : ३३
शनिबार, ०४ भदौ २०७९

मदन पुरस्कार गुठीले वर्षभरि नेपाली भाषामा छापिएका र गुठीलाई प्राप्त भएका कृतिमध्ये एउटालाई पुरस्कार दिने गर्छ । भर्खरै गुठीले ०७८ को मदन पुरस्कारका लागि छानिएका आठ कृति सार्वजनिक गरेको छ । नेपालमा मदन पुरस्कार सर्वाधिक चर्चित छ । यस पुरस्कारका लागि छनोट सूचीमा पर्नुलाई मात्र ठूलो कुरा मानिन्छ । 

यो पुरस्कार प्रगतिशील वा वामपन्थी लेखकका लागि अलि अनुदार छ भन्ने चर्चा वामवृत्तमा सुनिँदै आएको हो । प्रस्तुत छ, यसै सन्दर्भमा रहेर लेखक तथा वाम बुद्धिजीवी खगेन्द्र संग्रौलासँग रातोपाटीकर्मी शिखर मोहनले गरेको वार्ता :

मदन पुरस्कारबारे यहाँको धारणा ?
मदन पुरस्कार नेपालमा स्थापित पुरस्कारहरूमध्ये पुरानो र ठूलो नाम भएको पुरस्कार हो । हामीकहाँ पुरस्कारको ओजन सामान्यतया धनराशिले मापन गरिन्छ । सबै पुरस्कारका आफ्ना केही न केही सीमा हुन्छन्, पुरस्कार संस्थापक र कृति चयनकर्ताको जीवनदृष्टि अथवा स्वार्थले पुरस्कारको उद्देश्य निर्धारण गरेको हुन्छ । तिनै उद्देश्यभित्र रहेर कुनै पनि पुरस्कार वितरण गरिन्छ । मदन पुरस्कार मदन शमशेरको सम्पत्तिबाट स्थापित र दीक्षित परिवारद्वारा सञ्चालित छ ।

सामान्यता प्रगतिशील वा वामपन्थीका रूपमा चिनिएका कृतिकारहरू मदन पुरस्कार पाउन लायक ठहरिँदैनन् । यो मदन पुरस्कारको दृष्टि र प्रवृत्तिबाट निर्मित वामपन्थी बुझाइ हो । यदाकदा अपवाद होलान् तर सामान्यतया चिन्तन र सिर्जनाको वामपन्थका लागि मदन पुरस्कारको द्वार बन्द छ ।

मदन पुरस्कार पुरस्कृत पात्र वा कृति चयनमा जोखिम उठाउन डराउँछ । यसले सुरक्षित बाटो खोज्छ । यसको सुरक्षित बाटो त यथास्थितिको अनुमोदन हो । उदाहरण हो ः कञ्चन पुडासैनी र राजेश्वर देवकोटा मदन पुरस्कार पाउन योग्य मानिनु, तर विश्वेश्वरप्रसाद कोइराला र भूपि शेरचन पुरस्कारयोग्य नठानिनु । 

२) प्रगतिशील विचारधाराको नकारात्मक चित्रण गरेका कृतिले मदन पुरस्कार पाउँछन् त ?

यदाकदा एकदमै नग्न रूपमा त्यस्तो पनि देखिन्छ । उदाहरणमा ‘खलंगामा हमला एउटी नर्सको डायरी’ आउँछ । ज्ञानीहरू भन्छन्— यो बिल्कुल प्रायोजित लेखन हो, जसको प्रयोजन हो– विद्रोही र विद्रोहलाई बदनाम गर्नु । यो आशंका वा आरोपलाई पुष्टि गर्ने मूर्त सबुत छ छैनन्, तथापि पुरस्कृत कृतिको प्रकृति र प्रवृत्तिले स्वभावतः यस्तो आशंका जगाउँछ ।

तपाईंको विचारमा नारायण वाग्लेको पल्पसा क्याफे के माओवादीविरोधी भएकाले पुरस्कृत भएको हो ?

पल्पसा क्याफे एउटा प्रयोगवादी उपन्यास हो । यसमा माओवादी विद्रोहको एक झलक प्रस्तुत छ र प्रमुख माओवादी पात्रको अवसानसँगै यो प्रकरण टुंगिन्छ । त्यसैले माओवादी विद्रोहको ध्येयलाई पल्पसा क्याफेले निषेध गरेको अर्थमा यसलाई बुझिएको छ । यो बुझाइको वामकोण हो । तर पल्पसा क्याफेको माओवादी प्रकरण उपन्यासको एक मात्र पक्ष होइन । यसका अनेक पक्ष छन् । यस प्रसंगमा एउटा कुराचाहिँ मलाई विचारणीय लाग्छ । त्यो हो— मदन पुरस्कारद्वारा नारायण वाग्ले पुरस्कृत भए, गम्भीर र सिद्धिप्राप्त साधक नारायण ढकालचाहिँ कहिल्यै पुरस्कृत भएनन् । किन होला ? 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप