मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

डा.कोइराला र प्रमुख निर्वाचन आयुक्त थपलियाबाट ‘बनौँ संस्कारी’ पाठ्यक्रम विमोचन

शनिबार, ०४ भदौ २०७९, २१ : २७
शनिबार, ०४ भदौ २०७९

बालबालिकालाई संस्कार सिकाउने पुस्तक ‘बनौं संस्कारी’  काठमाडौंमा विमोचन भएको छ ।  वरिष्ठ चिकित्सक डा.भगवान कोइराला, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराई र पुस्तकका लेखक डा.राजु अधिकारीले संयुक्त रुपमा विमोचन गरेका हुन् । काठमाडौंको काँडाघारीस्थित अक्षरा स्कुलले बनौँ संस्कारी पाठ्यक्रम शुरु गरेको छ । यही पाठ्यक्रममा सहयोग पुग्ने पुस्तकको विमोचन गरिएको हो । 

पुस्तकबारे चर्चा गर्दै डा.कोइरालाले पछिल्लो समय समाजमा आधारभूत मानवीय मूल्य हराउँदै गएको बताउँदै संस्कार बिर्सेका कारण यस्तो भएको उल्लेख गरे । उनले न्यूनतम मानवीय मूल्य बिर्सँदै गएको बताउँदै भने– ‘अहिले विज्ञान छ । प्रविधि छ । भौतिक विकास पनि छ । यी सबै चाहिन्छ । तर यसका साथमा मानव मूल्य पनि चाहिन्छ । मानव मूल्य छैन भने हाम्रो जीवनको पनि कुनै मूल्य हुँदैन ।’

कोइरालाले सो पुस्तकमा मानिसमा १०१ गुण हुनु पर्नेमा जोड दिएपनि सबै कार्यन्वयन गर्न गाह्रो हुने तर ५ वटा मात्रै धारण गरे भने पनि जीवन सफल हुने प्रतिक्रिया दिए ।  यस्तै प्रमुख निर्वाचन आयुक्त थपलियाले हामी सबैले हाम्रा नानी बाबु असल होउन् भन्ने चाहेपनि कसरी असल बनाउन सकिन्छ भनेर ध्यान दिने नगरेको बताए । उनले भने– ‘त्यही भएर हामी स्कुलको परीक्षामा राम्रो अंक ल्याएर पास गर्छौ तर जीवनको परीक्षामा भने फेल भइराखेका छौं ।’

असल समाज र असल व्यक्ति निर्माण गर्ने संस्कारी शिक्षाले नै भएको थपलियाले बताए । थपलियाले भने– ‘संसार बदल्ने हो भने पहिला आफै बदलिनुपर्छ  । आफै बदलिन संस्कार जान्नुपर्छ । संस्कार सहितको शिक्षा हुनुपर्छ ।’  यस्तै सो अवसरमा स्कुलकी संस्थापक एवं प्रिन्सिपल अञ्जु भट्टराईले संस्कारयुक्त शिक्षा दिनकै लागि १२ वर्ष अघि स्कुलको स्थापना गरेको बताइन् । उनले भनिन्– ‘हाम्रो विद्यालयको मिसनसँग यो पुस्तक मिल्ने रहेछ । त्यही भएर हामीले यसलाई सन्दर्भ सामग्रीको रुपमा प्रयोग गर्ने निष्कर्ष निकाल्यौँ । अब संस्कारको बेग्लै पाठ्यक्रम समेत बनाउने तयारी भइरहेको छ ।’ 

लेखक अधिकारीले शिक्षा छ तर संस्कार छैन भने व्यक्तित्वमा सुवास नआउने बताए । जतिसुकै व्यस्त भएपनि अभिभावकले बालबालिकालाई राम्रो समय र संस्कार चाहिं दिनै पर्नेमा जोड दिए । सन्तानको कुशलताको लागि सो पुस्तक लेखेको उनको भनाई छ ।

अक्षरा स्कुल संस्कारण नाम दिइएको पुस्तकमा संस्कारको सुगन्ध, संस्कारी व्यक्ति यस्ता हुन्छन्,  संस्कारी हुनुको अर्थ र महत्व, असल सन्तान नै अमूल्य सम्पत्ति, संस्कार युक्त शिक्षा आजको आवश्यकता, चरित्र र शिक्षाको शिलान्यास, संस्कारी व्यक्तिको शान र पहिचान, नैतिकता र चरित्र, नागरिक कर्तव्य, सद्गुण र शिष्टाचार, बनौ संस्कारी जस्ता विषय समेटिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप