मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

शक्ति बस्नेतको गृह जिल्ला जाजरकोटमा गठबन्धनलाई सिट बाँडफाँट कति सहज ?

यस्तो छ चुनावी अंकगणित र सम्भावित उम्मेदवारको सूची
आइतबार, ०५ भदौ २०७९, १६ : १२
आइतबार, ०५ भदौ २०७९

आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जाजरकोटमा गठबन्धनले सिट बाँडफाँट कसरी गर्ला भन्नेतिर चासो बढेको छ । प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको यो जिल्ला नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा पूर्व मन्त्री शक्तिबहादुर बस्नेतको गृह जिल्ला हो ।

जाजरकोटबाट प्रतिनिधिसभातर्फ बस्नेतकै दाबी रहने लगभग निश्चित छ । प्रतिनिधिसभातर्फको सिट माओवादीले पाएको खण्डमा कांग्रेसले प्रदेशसभाका दुवै निर्वाचन क्षेत्रमा दाबी गर्ने देखिन्छ । यसो भएको खण्डमा एकीकृत समाजवादीलाई प्रदेशसभामा समानुपातिक र कांग्रेसलाई प्रतिनिधिसभामा समानुपातिकतर्फ मिलाउनुपर्ने हुन्छ । तर नेकपा एकीकृत समाजवादीले प्रदेशसभातर्फ एउटा क्षेत्रमा दाबी गर्ने तयारी गरेको छ ।

यद्यपि अहिलेसम्म कांग्रेसले पनि प्रतिनिधिसभामा प्रत्यक्षतर्फ नै दाबी गरिरहेको अवस्था छ । तर विगतमा आफूले जितेका क्षेत्रमा सोही दलले उम्मेदवारी दिने गरी गठबन्धनभित्र सैद्धान्तिक सहमति भएकाले प्रतिनिधिसभातर्फको सिट आफ्नो भागमा पर्नेमा माओवादीका नेता ढुक्क छन् ।

७ वटा पालिका रहेको जाजरकोटमा गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा भने माओवादी कमजोर देखिएको छ । एमाले र कांग्रेसले ३/३ वटा पालिकाको नेतृत्व पाउँदा माओवादीले जम्मा १ पालिकाको नेतृत्व पाएको छ ।

को–को छन् आकांक्षी ?

प्रतिनिधिसभातर्फ माओवादी केन्द्रबाट शक्ति बस्नेतको विकल्पमा अन्य नेता देखिँदैनन् । बस्नेत पहिलो पटक बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा (०६८) स्वास्थ्य मन्त्री बनेका थिए । उनी जाजरकोटबाट मन्त्री बन्ने पहिलो नेता हुन् भने केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्री र दोस्रो पटक वन मन्त्री बनिसकेका छन् ।

पार्टीभित्र प्रभावशाली नेताको छवि बनाएका उनी नै  माओवादीभित्र निर्विकल्प उम्मेदवार रहेको बताइन्छ । नेपाली कांग्रेसबाट भने राजीवविक्रम शाह सम्भावित उम्मेदवार हुन् । कांग्रेसभित्र पनि उनको विकल्पमा अन्य नेता देखिँदैनन् । शाहले केही दिन अघि नै जाजरकोटबाट अन्तिम पटक आफूले निर्वाचन लड्न चाहेको बताइसकेका छन् । उनले बुढो हुँदासम्म पदका लागि मरिहत्ते नगर्ने  र यस पटक चुनाव लडेर अर्कोपटक युवालाई सहयोग गर्ने बताएका छन् । शाह ०७४ सालमा बस्नेतसँग ८ हजार ९९२ मतान्तरले पराजित भएका थिए ।

यता एमालेबाट भने केन्द्रीय सदस्यसमेत रहेका युवा नेता निरज आचार्यको नाम चर्चामा छ । आचार्य युवामाझ लोकप्रिय मानिन्छन् । उनी ०७४ मा प्रदेशसभा उम्मेदवार बन्ने तयारीमा थिए । यद्यपि एमाले–माओवादीबीच तालमेल हुँदा माओवादीले उम्मेदवारी पाउँदा उनी ब्याक भएका थिए ।

माओवादी नेता बस्नेत र एमाले नेता आचार्यको गृह पालिका भेरी हो । यो पालिकामा अहिले एमालेले जितेको छ । यदि गठबन्धनबाट प्रतिनिधिसभा सिट माओवादीको भागमा परेको खण्डमा आचार्य र बस्नेतबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रदेश सभातर्फ

प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको जाजरकोटको (क) मा भेरी नगरपालिका, नलगाड नगरपालिका, बारेकोट र कुशे गाउँपालिकाको ५, ६, ७, ८, ९ वडा पर्दछन् । (ख) मा छेडागाड नगरपालिका, शिवालय र जुनीचाँदे गाउँपालिका तथा कुशे गाउँपालिकाको वडा नं.–१, २, ३, ४ वडा पर्दछन् ।

काँग्रेसबाट (क) मा मुक्तिप्रसाद आचार्य, जिल्ला सभापति बेदराज सिंह र महेन्द्रबहादुर शाह सम्भावित उम्मेदवार हुन् । सिंह ०७४ मा पराजित नेता हुन् । माओवादीबाट भने प्रमुख नेताहरू उम्मेदवार बन्ने लाइनमा देखिन्छन् ।

माओवादीका प्रदेश इञ्चार्ज कालिबहादुर मल्लले यो पटक चुनाव लड्ने चाहना देखाएको नेताहरू बताउँछन् । यस्तै युवा नेता रामदीप आचार्यको नाम पनि चर्चामा छ । उनी स्वयंले पनि उम्मेदवार बन्ने कुराको जनाउ दिइसकेका छन् । गगन खड्का र गणेश प्रसाद सिंह पनि सम्भावित उम्मेदवार नै हुन् । सिंह अघिल्लो पटक चुनाव लडेर अहिले प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा मन्त्री छन् । समाजवादीबाट भने कमानसिंह खड्का सम्भावित उम्मेदवार हुन् । एमालेबाट डम्बर सिंह, हेरम्भ शाहीको नाम चर्चामा छ ।

प्रदेशसभा (ख) तर्फ कांग्रेसबाट दिपकजंग शाह, इलम शाही, खड्ग बिसी लगायतका नेताहरूको नाम चर्चामा छ भने माओवादीबाट यत्र खत्री, वीरबहादुर रावत र शिवा आचार्य सम्भावित उम्मेदवार हुन् । एकीकृत समाजवादीबाट कृष्ण बिसीको नाम चर्चामा छ भने एमालेबाट करवीर शाही र खेम बहादुर सिंहको नाम चर्चामा छ । शाही ०७४ मा प्रदेश सभा चुनाव जितेर प्रदेशसभा सदस्य छन् ।

यस्तो छ वैशाख ३० मा दलहरूले पाएको मत

नोट : कांग्रेस र माओवादीले केही प्रमुख र केही उपप्रमुखमा उम्मेदवार नउठाएकाले प्रमुख खाली भएकोमा उपप्रमुख र उपप्रमुख खाली भएको प्रमुखको मत जोडिएको छ ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादीले प्रमुखमा ७ पालिकामध्ये चार वटा पालिकाका अध्यक्ष/प्रमुखको उम्मेदवार उठाएको थियो । बाँकी तीन पालिकाका उपाध्यक्ष/उपप्रमुखका उम्मेदवारले प्राप्त गरेको मतअनुसार माओवादीको कुल मत २७ हजार ४७२ छ ।

कांग्रेसले छेडागाड बाहेकका अन्य ७ पालिकामा अध्यक्ष/प्रमुखको उम्मेदवार उठाएको थियो । छेडागाडका उपप्रमुख र ६ वटा पालिकाका अध्यक्ष/प्रमुख पदका उम्मेदवारले पाएको मत जोड्दा २४ हजार ४४४ हुन आउँछ ।

माओवादीका चार अध्यक्ष/प्रमुखका उम्मेदवार र काँग्रेसका ६ पालिकाका अध्यक्ष/प्रमुखका उम्मेदवारहरूले पाएको मतका आधारमा माओवादी निकै कमजोर देखिन्छ । तर यो जिल्लामा एमाले ७ वटै पालिका प्रमुख/अध्यक्षको मत २५ हजार ९८५ छ । त्यसैले यहाँ माओवादी र कांग्रेसभन्दा एमाले शक्तिशाली देखिन्छ ।

एकीकृत समाजवादीले अध्यक्ष/प्रमुख पदमा पाएको मतभार सङ्ख्या ६ हजार ९१८ छ ।

वडागत मतमा एमाले बलियो

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाका अध्यक्षका उम्मेदवारहरूले पाएको मतका आधारमा एमाले बलियो देखिन्छ । एमालेले २४ हजार ४ मत प्राप्त गर्दा कांग्रेसले २२ हजार ३४२, माओवादीले १८ हजार ६२२ र एकीकृत समाजवादीले २ हजार ३३४ मत पाएको छ ।

०७४ को अंकगणित यस्तो छ

जाजरकोटको प्रतिनिधिसभा क्षेत्रमा तत्कालीन वाम गठबन्धनबाट माओवादीका शक्तिबहादुर बस्नेत ३२ हजार २८१ मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका राजीवविक्रम शाहले २३ हजार २८९ मत पाएका थिए । उनीहरुबीच ८ हजार ९९२ मतान्तर थियो । 

प्रदेशसभातर्फ (क) मा माओवादीबाट गणेश प्रसाद सिंह १६ हजार ९११ मतसहित विजयी हुँदा कांग्रेसका बेदराज सिंहले १२ हजार ८७८ मत प्राप्त गरेका थिए । यस्तै, (ख) मा एमालेका करबीर शाही १५ हजार १८५ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका दीपकजंग शाहले १० हजार ३६० मत ल्याएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप