विहीबार, २६ माघ २०७९
ताजा लोकप्रिय

प्रदीप गिरिको अन्त्यसँगै सकिए नेपाली राजनीतिमा सादगी नेताहरू

आइतबार, ०५ भदौ २०७९, २१ : १५
आइतबार, ०५ भदौ २०७९

एक वुद्धिजिवीले भने, ‘टंकप्रसाद आचार्य प्रधानमन्त्री भएका बेला चीनको भ्रमणमा गए । आचार्य व्यस्त भए पनि पत्नीलाई फुर्सद भएको मौका पारी चिनियाँहरुले घुमाउन लगेछन् । बजार घुम्ने क्रममा एउटा हीराको हार उनलाई साह्रै मन परेछ । त्यतिबेला नेपालीको औकातको विषय थिएन, त्यो हार । हेरिन्, मन पराइन्, कुरा सकियो । पछि चिनियाँ नेताहरुले आचार्य म्याडमले मन पराएको हार उपहारस्वरुप पठाइदिएछन् । अनि थाहा भयो, प्रधामन्त्री आचार्यलाई । उनले पत्नीलाई सम्झाए । अहिले नेपालीको हैसियत हीराको हार लगाउने अवस्थामा पुगेको छैन । जो आफ्नो हैसियतभन्दा माथि छ, त्यसको चाहना राख्नुहुन्न भनेर हार सधन्यवाद फर्काइदिए ।’ 

यो अवस्थाबाट गुज्रँदै गएको राजनीति आज कमाउ संस्थाका रुपमा विकास भएको छ । सबैतिर तानातान, कमाउन नपाएकोमा रुवावासी, पार्टी त्याग, गुट उपगुटको गोप्य बैठक, कसलाई सक्ने, कसलाई उठाउने, जता लाग्दा आफूलाई आर्थिक लाभ हुन्छ, त्यतै लाग्ने चरम प्रवृत्तिले राजनीति फोहोरी खेलमा परिणत भएको छ ।  

खास गरी नेपाली राजनीतिमा पुष्पलाल, मनमोहन गणेशमान सिंह र किसुनजीको अवसानपछि केही नेता तथा चिन्तकहरु बाँकी थिए । अझ रामहरि जोशी तथा सुशील कोइरालाको अन्त्यपछि प्रदीप गिरिमात्र एक सादगी नेता बाँकी थिए । उनले पनि शरीर छोडेपछि नेपाली राजनीतिमा एक युगको अन्त्य भएको छ । 

राजा वीरेन्द्र सधैँ नेताहरुसँग भेट हुँदा तिमीले फलानो किताब पढ्यौ ? भनेर प्रश्न गर्थे रे । नेताहरुलाई पढाइमा खास चासो नभएको महसुस गरेर भनेका थिए होलान् । कतिले बुझ्थे, कतिले बुझजसो गर्दा हुन् । राजालाई नेताहरु सुध्रिऊन् भन्ने आशा थियो । तर, नेता त के सुध्रिन्थे र राजाकै अन्त्य भयो । राजाको परिवारमात्र अन्त्य भएन, विस्तारै नेपालबाट राजतन्त्र नै उखेलियो । 

भनिन्छ, २०४६ को आन्दोलनलाई भारतीयहरुले निकै नै चासो राखेका थिए । भरसक भारतमै वार्ता गराएर मात्र प्रजातन्त्र घोषणा गराउन सके नेपाली राजनीतिमा आफ्नो वर्चस्व कायम रहने उनीहरुको विश्वास थियो । उक्त अभिष्ठ पूरा नभएकै कारण नेपाली राजतन्त्रले यो दुर्दशा भोग्नु परेको राजावादीहरु अहिले पनि दाबी गर्दछन् । यसमा सत्यता पनि महसुस हुन्छ । 

नेपाली राजनीतिलाई नजिकबाट विश्लेषण गर्नेहरु बीपी कोइरालाको नेपाल फिर्तालाई निकै महत्व दिन्छन् । खास गरी भारतीयहरुले नेपाली राजनीतिमा राख्ने वक्रदृटिबाट वाक्क भएपछि बीपीले बरु नेपाली राजासँगै मिलेर जाने निधो गरेर स्वदेश फर्किए । फर्कनासाथ पक्राउपर्ने उनलाई थाहा नहुने कुरै भएन । बीपीका धेरै पुस्तकहरुमा यसबारे प्रस्ट उल्लेख छ । 

खास गरी राष्ट्र, राष्ट्रियता र समाजवाद नामक पुस्तकमा बीपीले आफू स्वदेश फर्किनाको मूख्य कारण खुलाएका छन् । उनले कमसेकम आफू नेपालमै बसेर राजालाई भारतीयहरुको दृष्टिकोणबारे बुझाउन चाहेका थिए । त्यति बेलाका राजावादीहरुले राजा र बीपीबीच सम्पर्क कायम हुनै नदिएको चिन्तकहरुको बुझाइ छ । 

प्रवास बसाइँ त्यागेर बीपी २०३३ पुस १६ मा भारतको पटना हुँदै नेपालको त्रिभुवन विमानस्थलमा अवतरण भए । उनको यो अनपेक्षित नेपाल फिर्तीले नेपाली काँग्रेसका समर्थकलगायत अन्य सबैलाई आश्चर्यमा पार्यो । बीपी त्यतिबेला नेपाल फर्के, जतिबेला भारतमा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकाल घोषणा गरेर विरोधीमाथि डण्डा लगाउँदैथिइन् । 

इन्दिरा गान्धीको उक्त कदमको विरोध गर्नेमध्येमा भारतीय समाजवादी नेता जयप्रकाश नारायण पनि पर्दथे । बीपीबारे जानकारहरू जयप्रकाश र बीपीबीचको घनिष्ठताको अझै पनि व्याख्या गर्दछन् । यस्ता व्याख्यातामध्ये हामीले आजै गुमाएका प्रदीप गिरि मुख्य हुन् । उनका अनुसार बीपी र जयप्रकाश आफ्नो मनमा लागेका कुराबारे लामो बहस गर्दथे 

 बीपीलाई भारतमा शरण दिनेमा जयप्रकाश नारायणको ठूलो हात थियो । भनिन्छ, जेपी नारायणले नै भारतले नेपालप्रति वक्रदृष्टि राख्ने कुराको जानकारी बीपीलाई दिन्थे रे । जब जेपी इन्दिराको तारो बने, तब बीपीलाई पनि भारत बस्न मन लागेन । जेपीकै सुझावअनुसार बीपी नेपाल फर्किएको गिरिले पटक पटक बताएका छन् । 

आफू नेपाल फर्कँदा इन्दिरा गान्धीलाई समेत राहत पुग्ने र आफ्ना सहकर्मी जेपीलाई पनि केही हदसम्म सजिलो हुने महसुस बीपीले जेल जर्नलमा उल्लेख गरेका छन् । बीपी आफैंले भारतमा त्यतिबेला सुरु भएको  छलकपटको राजनीति र अन्यौलपूर्ण वातावरणबाट मुक्त हुन पाउँदा स्वतन्त्र महसुस भएको उल्लेख गरेका छन् । 

बीपीको यो नेपाल आगमनलाई राष्ट्रिय मेलमिलापको नीतिका रुपमा व्याख्या गरिए पनि यसको मूल मर्म अहिलेसम्म पनि नेपालका नेताहरु आत्मसात गरेको देखिँदैन । कसैले बुझे नबुझे जे भए पनि बीपीको यस  कदमले आम नेपालीमा सकारात्मक सन्देश प्रवाह गरेको थियो । उक्त कदमले आजसम्म पनि बीपीलाई सच्चा राष्ट्रवादीका रुपमा चिनाएको छ । यस कदमपछि बीपीलाई देशका लागि जस्तो सुकै खतरा मोल्न पनि सक्ने नेताको परिचय दिएको छ । बीपीले विदेशी शक्तिसामू झुक्नुभन्दा स्वदेशी जोखिमको शिकार हुनु नै गौरवको विषय सम्झे । राजासँग घाँटी जोडिएको छ भन्ने बीपीको भनाइले राष्ट्रियता जस्तो गम्भीर विषयमा आन्तरिक मत मतान्तरलाई किनारा लगाएर एकै ठाउँमा उभिन सक्नुपर्दछ भन्ने सन्देश दिएको थियो । 

बीपीको यस कदममा सधैँ साथ थिए प्रदीप गिरिले । बीपीले राष्ट्रियतासँगै समाजवाद पनि व्याख्या गरेका थिए । उनको अवसानपछि उक्त विषयको व्याख्या प्रदीप गिरिले गर्दै आएका थिए । बीपीसँगै रहेका प्रदीप गिरि पनि जेपी नारायणजस्ता समाजवादी चिन्तकको संगतमा नआउने कुरै भएन ।

तिनताका विश्वमा साम्यवादी चिन्तकहरुको निकै लोकप्रियता थियो । त्यस्तो बेलामा बीपीले समाजवादको व्याख्या गर्दा मानिसहरु आश्चर्यमा पर्थे । साम्यवादीहरुले अपनाउँदै आएको विचार एक्कासी बीपीमा कसरी पलायो ? भन्ने प्रश्न गरिन्थ्यो ।  

साम्यावादीहरुबाट अलग पार्न बीपी तथा उनका अनुयायीहरुले बीपीको समाजबादलाई प्रजातान्त्रिक समाजवादको नामकरण गरे । बीपी भन्ने गर्थे, ‘साम्यवादमा प्रजातन्त्र थपिदियो भने प्रजातान्त्रिक समाजवाद बन्दछ र समाजवादबाट प्रजातन्त्र झिकिदियो भने साम्यवाद बन्दछ ।’ 

विश्वमा भएको औद्योगिक क्रान्तिसँगै उदाएको पुँजीवादी विकृतिविरुद्ध समाजवादको अवधारणा ल्याइएको थियो । बीपीको विचारलाई विश्वका अधिकांश प्रजातन्त्रवादी नेताहरुले प्रशंसा गरेका थिए । हाल विश्वका धेरै देशहरु खास गरी स्क्यान्डेभिनियन देशहरुमा अभ्यासमा रहेको प्रजातन्त्र बीपीको विचार अनुरुपकै समाजवादी अभ्यास हो । यस चिन्तनमा राज्यमा उपलब्ध स्रोत, साधन, उत्पादन र वितरण व्यक्तिमा सीमित नगरी  सामाजिक स्वामित्व हुनुपर्छ भन्ने बीपीको समाजवादले व्याख्या गरेको छ । 

समाजवाद शब्दको प्रयोग पहिलो पटक सन् १८३१ मा बेलायतबाट प्रकाशित हुने पेनी पेपर पुवर म्यान्ज गार्जियनमा गरिएको थियो । यसको श्रेय तत्कालीन बेलायती विचारक रबर्ट ओवेनलाई दिइन्छ । तर पछि आएर कार्ल मार्क्सले र एंगेल्सले समाजवादबारे व्याख्या गरेपछि आवेनको समाजवादी व्याख्यालाई काल्पनिक समाजवादको संज्ञा दिइयो भने मार्क्सले व्याख्या गरेको समाजवादलाई वैज्ञानिक समाजवादको नामकरण गरियो । 

त्यसपछि समाजवादबारे व्याख्याका चरणहरु बढ्दै गए । साम्यवादीहरुले सत्ता कब्जा गर्ने र एकल शासन व्यवस्थाबाट मात्र समाजवाद प्राप्त गर्न सकिने विचार राखेपछि गैरसाम्यवादीहरु नरमपन्थीका रुपमा देखा परे । उनीहरुले आफ्नो पथलाई इभोल्युनसरी सोसलिजम अथवा विकासे समाजवादको संज्ञा दिए । यसका व्याख्याताहरुले साम्यवादमा जस्तो वर्ग संघर्षबाट एक वर्गलाई दबाएर ल्याइने समाजवादले समाजको सर्वाङ्गीण विकास गर्न नसक्ने हुनाले क्रमिक रुपमा समाज सुधार गर्दै समाजवाद प्राप्त गर्नुपर्दछ भन्ने हो । 

वर्ग संघर्ष वा युद्धमार्फत आमूल परिवर्तन गरी प्राप्त गरिने समाजवादलाई रिभोल्युसनरी सोसलिजम अथवा क्रान्तिकारी समाजवाद मानिन्छ । गैरसाम्यवादीहरु यस्तो समाजवादबाट मानिसका नैसर्गिक अधिकार हनन् हुने बताउँछन् । 

सुरुमा क्रन्तिकारी समाजवादबाट प्रभावित बीपी विस्तारै विकासे समाजवादमा प्रवेश गरे । यसको अध्ययनबाट उनले सिकेका विषयलाई समेट्दै उनले प्रजातान्त्रिक समाजवादको व्याख्या गरे । 

चाहे पूर्ण रुपमा होस् वा आंशिक रुपमा आज पनि नेपाली काँग्रेसले बीपीको यही समाजवादलाई आफ्नो मूल सिद्धान्त मानेको छ । बीपीले समाजवादलाई व्याख्या गर्ने क्रममा एउटा सामान्य नेपालीको एउटा सानो आफ्नै झुपडी होस्, उसका एक हल गोरु, एउटा दुहुनो गाई र खान पुग्ने गरी उत्पादन हुने खेत होस् भनेर व्याख्या गरेका छन् । यदि हरेक नेपालीले यति सुविधा पाए देशमा समाजवाद आउने बीपीको ब्याख्या छ । 

नेपालमा त्यस्ता ठूला उद्योगका लागि कच्चा पदार्थ नदेखेर नै बीपीले कृषिमा आधारित समाजवादको व्याख्या गरेको आभाष हुन्छ । 

आज देशले बीपीको यही आदर्श बिर्सेकाले नेपाली काँग्रेसकै नेतृत्वमा चलेको सरकारका पालामा पनि वर्षको तीन खर्ब बराबरको कृषि सामग्री विदेशबाट खरीद गर्न वाध्य छ । बीपीले भनेका गाईगोरु कता पुगे, झुपडीका ब्याख्याताहरु महलमा सरे । दैनिक दूध खान र जमिन उर्बर राख्नका लागि मलको आवश्यकता महसुस गरी बीपीले गाईगोरुको कल्पना गरेका थिए । 

आज हलो जोत्ने किसानको थैली रित्तिँदै गएको छ भने राजनेताहरुका पैसाले विदेशी बैंकहरु भरिँदै गएका छन् । प्रजातान्त्रिक समाजवादका व्याख्याता बीपीका अनुयायीहरुले ल्याएको निजीकरण पद्दतिले विदेशीले बनाइदिएका संस्थानहरु निजी मालिकहरुका हातमा परे । कताको समाजवाद भन्नू, विकसित मुलुकमा उद्योग सञ्चालक र उनका कामदार  एउटै टेबुलमा बसेर खान्छन् भने हाम्रोमा समाजवादका अनुयायीहरु नै अहिले मालिकजस्ता देखिएका छन् । 

आज ती संस्थानहरु किन्ने मालिक र तिनका कामदारले खाने चामल नै फरक छ । यसलाई कस्तो खाले समाजवाद भन्ने ? 

यस्तो अवस्थामा बीपीको समाजवादलाई नयाँ स्वरुपमा व्याख्या गर्ने विद्वत व्यक्तिको निधनले अब यो व्याख्या गर्ने जिम्मेवारी कसमा सर्ला ? अहिलेसम्म देखिएका पूराना नेताहरुमा त्यो ल्याकत देखिँदैन । प्रदीप गिरिको अन्त्यसँगै नेपाली राजनीतिमा सादगी नेताहरु सकिए । गिरिले छोडेको चिन्तनलाई गगन, विश्वले अघि बढाउलान् त ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

डा. बद्रीप्रकाश ओझा
डा. बद्रीप्रकाश ओझा
लेखकबाट थप