बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रामचन्द्र पौडेलको ‘अन्तिम चुनाव’ : तनहुँ–१ मा कम छैन चुनौती

सोमबार, ०६ भदौ २०७९, ०७ : ०६
सोमबार, ०६ भदौ २०७९

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न निर्वाचनमा तनहुँ–१ बाट चुनाव लड्ने उद्घोष गरेका छन् । पौडेलले ‘अन्तिम पटक’ तनहुँ १ बाटै निर्वाचित हुने धोको राखेका छन् । पौडेलले केही दिनअघि तनहुँबाट केन्द्रीय राजनीतिमा प्रतिनिधित्व गर्ने नेताहरूलाई काठमाडौँमा भेला गरेर तनहुँ –१ मा अन्तिम पटक चुनाव लड्ने इच्छा जाहेर गरेका थिए । नेताहरूको व्यवस्थापनका लागि आफूले पहल गर्ने भन्दै आफूलाई सहयोग गर्न उनले आग्रहसमेत गरे ।

त्यसपछि पौडेलले शुक्रबार तनहुँ पुगेर ‘जहाँबाट चुनाव हारेँ, त्यहीँबाट जितेर मात्र मर्न चाहन्छु’ भन्दै उम्मेदवारी घोषणा गरेका हुन् । ०७४ मा वाम गठबन्धनबाट एमालेका उम्मेदवार किसान श्रेष्ठसँग पराजित भएका पौडेल अहिले पाँच दलीय गठबन्धनका साथ चुनावी मैदानमा जाने तयारीमा छन् । उनी ०७४ मा श्रेष्ठसँग ६ हजार ४१४ मतान्तरले पराजित भएका थिए । श्रेष्ठले ३४ हजार ४ सय ८९ मत ल्याउँदा पौडेलले २७ हजार ६७५ मत मात्र पाएका थिए । 

तर आधा दर्जन पटक सांसद बन्ने धोको पौडेलको छ । पौडेल ०४८ को निर्वाचनमा तनहुँ १  र ५१ सालको मध्यावधि चुनावमा तनहुँ २ बाट सांसद निर्वाचित भए । त्यसपछि उनले ०७४ सम्म तनहुँ २ बाट लगातार चुनाव जित्दै आएका थिए । उनी ०५६ सालमा तनहुँ २ बाट संसद सदस्यमा तेस्रो पटक निर्वाचित भए   ।

०६४ मा भएको पहिलो संविधानसभा चुनावमा तनहुँ २ बाट चौथो पटक निर्वाचित भए । ०७० मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट पाचौं पटक निर्वाचित भए । ०७४ मा भने उनको अपराजित संसद यात्रामा ब्रेक लाग्यो । उनी एमालेका किसान श्रेष्ठसँग पराजित भए ।

पौडेलले आफ्नो ‘अन्तिम चुनाव’ भन्दै तनहुँ–१ मै उम्मेदवार हुने इच्छा जाहेर गरे पनि सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँटको मोडालिटी अनुसार अघिल्लो निर्वाचनमा जसले जितेको छ, उसैलाई फेरि उम्मेदवार बन्न प्राथमिकता दिनुपर्ने छ । यस आधारमा पनि तनहुँ–१ मा किसान श्रेष्ठले दाबी गरिरहेका छन् । श्रेष्ठ हाल नेकपा एकीकृत समाजवादीमा छन् ।

अर्कोतिर पौडेललाई आफ्नै पार्टीबाट पनि युवा नेता गोविन्द भट्टराईले चुनौती दिने देखिएको छ । शनिबार पत्रकार सम्मेलन गरेर भट्टराईले तनुहँ –१ मा दाबेदारी प्रस्तुत गरेका छन् । तनहुँ–१ बाट उम्मेदवार बन्न कांग्रेसका अर्का नेता शंकर भण्डारीको पनि जोडबल छ । ०७४ मा तनहुँ–२ बाट उम्मेदवार बनेका भण्डारीको गृहनगर तनहुँ–१ मा पर्छ । उनी आफ्नो मतदाता नामावली भएको क्षेत्र नम्बर १ बाट चुनाव लड्न जोडबल गरिरहेको देखिन्छ ।

पौडेलका विकल्पमा भण्डारी र भट्टराई जुर्माराएपछि तनहुँ–१ राजनीतिक माहौल तातेको छ ।

कांग्रेस केन्द्रीय सदस्य तथा नेविसंघका पूर्व अध्यक्ष भट्टराईले उम्मेदवारी घोषणा गरेपछि पौडेललाई चुनौती थपिएको छ । ०७४ मा प्रदेशसभा सदस्यको निर्वाचन लडेका भट्टराई अहिले प्रतिनिधिसभा निर्वाचनको तयारीमा लागेका छन् ।

उनले आफू यसपटक प्रदेशसभा सदस्यको उम्मेदवार नबन्ने बताइरहेका छन् । तनहुँ–१ मा पौडेलले टिकट पाएकै अवस्थामा पनि उनीमाथि नेता व्यवस्थापनका लागि चुनौतीको पहाड छ । तनहुँका दुई निर्वाचन क्षेत्रमा नेता पौडेलसहित प्रदीप पौडेल, गोविन्द भट्टराई, शंकर भण्डारी गरी ४ नेताको कांग्रेसबाटै सशक्त दाबेदारी छ । गठबन्धनबाट दुवै क्षेत्र कांग्रेसले पाउने हो कि नपाउने भन्ने टुङ्गो छैन । कांग्रेसले दुवै क्षेत्र पाएको अवस्थामा पनि चार आकांक्षीमध्ये दुई जना उम्मेदवारीबाट वञ्चित हुनुपर्ने देखिन्छ । यस्तो अवस्थामा उनीहरूको व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी शीर्ष नेताका हैसियतले पौडेलको काँधमा छ ।

पौडेलले आफूलाई मात्र केन्द्रमा राखेर अगाडि बढेपछि भट्टराईले उनको उम्मेदवारीमाथि धावा बोलेको बुझिएको छ । रातोपाटीसँग भट्टराईले भने, ‘तनहुँ –१ मा मेरो माहौल राम्रो छ । तनहुँमा गठबन्धनबाट मेरो नै उम्मेदवार रहन्छ । पटकपटक अवसर पाएकाहरूलाई जनताले रुचाउँदैनन् ।’

यता पौडेलविरुद्ध कांग्रेसबाट निष्कासित नेता गोविन्दराज जोशी पनि चुनावी मैदानमा उत्रिने बताइरहेका छन् । यद्यपि भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका जोशी ०७४ मा पनि उम्मेदवार बन्न चाहेका थिए तर उनको उम्मेदवारी खारेज भएको थियो । जोशीले पौडेललाई पराजित गर्नु नै लक्ष्य बनाएका कारण एमालेलाई नसघाउलान् भन्न सकिँदैन । स्थानीय तह निर्वाचनमा पनि एमाले र जोशी समूहबीच तालमेल भएको थियो ।

आसन्न प्रदेश र संघको निर्वाचनमा एमाले र जोशी समूहबीच तालमेलको तयारी भइरहेको स्रोत बताउँछ । तनहुँ–१ मा एमालेका केन्द्रीय सल्लाहकार सदस्य एकबहादुर राना र गण्डकी प्रदेश सांसद रामबहादुर गुरुङ मुख्य दाबेदार छन् । व्यापारी पृष्ठभूमिका गुरुङले एमालेबाट टिकट पाउने सम्भावना बढी छ ।

गत भदौमा एमाले विभाजन हुँदा ०७४ मा तनहुँ– १ बाट निर्वाचित सांसद किसान श्रेष्ठले नेकपा एकीकृत समाजवादी रोजेपछि विकल्पमा गुरुङ अगाडि आउने देखिन्छ । तर परिस्थिति भने ०७४ भन्दा फरक छ । त्यतिबेला माओवादी केन्द्रसँग गठबन्धन गरेर चुनावी मैदानमा आएको एमाले अहिले राप्रपा लगायतका दलसँग तालमेलको तयारीमा छ ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा चुनावी तालमेल गरी अगाडि बढ्दै छन् । स्थानीय निर्वाचनको मतको हिसाब–किताब गर्दा तनहुँ–१ मा सत्तारुढ गठबन्धनको पल्ला भारी छ ।

तनहुँ–१ को गणित

गत वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा तनहुँ–१ मा कांग्रेसका वडा अध्यक्षका उम्मेदवारले ३२ हजार ३८९ मत पाएका थिए । यस्तै माओवादीको ९ हजार ३७, नेकपा एकीकृत समाजवादीको ९०४, एमालेको २२ हजार २ सय, स्वतन्त्रको ४ हजार ६४२ र राप्रपाको एक हजार ७३० मत छ ।

यहाँ गठबन्धनसँग ४२ हजार ३३० मत रहँदा एमाले, स्वतन्त्र र राप्रपाको मत जोड्दा २८ हजार ५७२ मतमात्र छ । तनहुँ–१ मा एमाले, स्वतन्त्र र राप्रपाको मत जोड्दा पनि गठबन्धन १३ हजार ७५८ मतले अगाडि छ ।

व्यास नगरपालिकामा कांग्रेसको ११ हजार २५६, माओवादीको १ हजार, एकीकृत समाजवादीको ५६३ र जसपाको ५३ मत छ । यस्तै एमालेको ६ हजार १२३, स्वतन्त्रको एक हजार ४०९ र राप्रपाको ५९५ मत छ । व्यास नगरपालिकाका वडा नम्बर ५ र ६ तनहुँ–२ मा पर्छन् ।

भानुमा कांग्रेसको ११ हजार २४२, माओवादीको ८२०, एकीकृत समाजवादीको ३३८ र जसपाको १ मत छ । यस्तै एमालेको ७ हजार ७०६, स्वतन्त्र २ हजार ९१९ र राप्रपाको ९२६ मत छ ।

बन्दीपुर गाउँपालिकामा कांग्रेसको २ हजार ८७४ र माओवादीको २ हजार ९६८ मत छ भने एमालेले ३ हजार ४१५ र राप्रपाले ४८ मत ल्याएको छ ।

देवघाट गाउँपालिकामा कांग्रेसको ४ हजार १६९, माओवादीको ६६१ र एकीकृत समाजवादीको ३ मत छ । यहाँ एमालेको ३ हजार ३२० र राप्रपाको ४८ मत आएको छ । यस्तै आबुखैरेनी गाउँपालिकामा कांग्रेसको  २ हजार ८४८, माओवादीको ३ हजार २५ मत छ भने एमालेको एक हजार ६४६ मत छ । यस्तै स्वतन्त्रले ३१४ पाउँदा राप्रपाको १६१ मत छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप