शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

के हो अकुपञ्चर, कसरी हुन्छ उपचार ?

बुधबार, ०८ भदौ २०७९, ११ : ४०
बुधबार, ०८ भदौ २०७९

अकु र पञ्चर गरी अकुपञ्चर दुई शब्दले बनेको छ । अकु भन्नाले सुइ र पञ्चर भनेको भेदन हो । यसरी सामान्य भाषामा भन्नुपर्दा संक्रमणरहित सुइले शरीरमा हुने उचित बिन्दु (अकुप्वान्इटस) मा घोच्नुलाई अकुपञ्चर भनिन्छ । 

हाम्रो शरीरमा मुख्य गरि ३६१ अकुपञ्चर विन्दु छन्, जुन छुट्टाछुट्टै रोगमा प्रयोग गरिन्छ । ती बिन्दु पत्ता नलगाई वा बिन्दुमा नपर्ने गरी घोच्नुलाई सामान्य रुपमा अकुपञ्चर भन्नु मिल्दैन । 

३ हजार वर्ष पहिलादेखि चीनमा अकुपञ्चर गर्न सुरु भएको भन्ने चिनिया इतिहासमा देखिन्छ । अकुपञ्चरको बारेमा बिस्तृत रुपमा वर्णन भएको “The Yellow Emperors Classic of Internal Medicine” भन्ने दस्तावेज १०० बिसी पूर्व लिपिबद्ध भएको पाइन्छ ।  सुइको उपलब्धता नहुँदा हड्डी तथा ढुंगालाई मसिनो सुईजस्तो बनाएर प्रयोग गरिन्थ्यो रे । 

झन्डै लोपोन्मुख भएको यो चिकित्सा पद्दति सन् १९४९ देखि सन् १९५३ मा चिनिया कम्युनिष्ट पार्टीले “Unification of Chinese and Western Medicine” भन्ने नारा सहित चिनिया उपचार पद्दतिलाई पुनरुत्थान गर्न महत्वपूर्ण भूमिका खेलेको  इतिहास भेटिन्छ ।

विभिन्न वंश तथा कालखण्ड हुँदै आजको दिनमा आउने बेलासम्म यो चिकित्सा वैज्ञानिक तथा तथ्यपरक हुँदै आएको पनि छ । आजको दिनसम्म हेर्ने हो भने चिनिया उपचार पद्दति १९६ देशमा अवलम्वन हुँदै आइरहेको छ । 

चीनले आफ्नै लगानीमा ३० भन्दा धेरै देशमा बेल्ट एण्ड रोड परियोजना मार्फत Chinese Medicine Hospital and Chinese Medicine Treatment Centre​ बनाएर सेवा दिदै आएको छ । 

अकुपञ्चर एक चिनिया पद्धति हो । चिनिया मेडिसिनको सिद्दान्तअनुसार शरीरमा हुने उर्जा वा शक्ति जसलाई क्यूआइ भनिन्छ, यसले सम्पूर्ण शरीरलाइ सन्तुलनमा राखेको हुन्छ । क्यूआइ शरीरमा संचालन हुनको लागि विभिन्न मार्ग हुन्छन्, जसलाइ मेरिडियन भनिन्छ । मेरिडियनमा मार्ग अवरोध भएमा शरीरमा विभिन्न प्रकारका समस्या देखिने गर्दछ । मार्गवरोध हटाएर क्यूआइ लाई शरीरमा आफ्नो गतिमा संचालन हुन दिनको लागि मुख्य गरी अकुपञ्चर गरिन्छ । 

आजको समयमा अकुपञ्चर धेरै नै विकासित र तथ्यपरक हुँदै आएको छ । जसको कारण विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पूर्ण रुपमा मान्यता पनि दिएको छ । डब्लुएचओले सन् १९७९ मा अकुपञ्चर प्रयोग गरेर निर्मुल पारिने समस्याहरुको तालिका प्रकाशन गरेको थियो, जसमा ४३ रोग समावेश गरिएको थियो ।

सन् २००३ मा डब्लुएचओले पुनः परिमार्जन गर्दै एक सय भन्दा बढी रोगमा अकुपञ्चर उपचार राम्रो हुने भन्दै जनमानसमा सुझाएको थियो । तथ्याङ्क हेर्ने हो भने आजको दिनसम्म २८ रोगमा अकुपञ्चर चिकित्सा पूर्ण लाभदायी हुने प्रमाणित भएको छ । त्यस्तै, ६३ रोगमा प्रमाणित भइ नसकेको तर लाभदायी भएको तथा ९ रोगमा कुनैपनि प्याथीले ठिक नभएको र अकुपञ्चर गर्दामात्र केही रुपमा लक्षण कम भएको भन्ने भेटिन्छ । 

एलर्जिक राइनाइटिस, टाउको दुखाइ, उच्च रक्तचाप, घुडा दुख्ने, गर्धन दुखाइ, डिप्रेसन, माइग्रेन, महिलामा हुने महिनावारी समस्या, ढाड तथा कम्मरको दुखाइ, आमावात, प्यारालाइसिस, साइटिका, अप्रेसनपछि हुने दुखाइ, निसन्तान, बाँझोपन जस्ता २८ समस्यामा अकुपञ्चर प्रयोग गर्दा धेरै फाइदा हुन्छ ।

नेपालको परिपेक्षमा हेर्दा हामी अकुपञ्चर शरीरमा हुने दुखाइ निर्मुल पार्न, विभिन्न वाथरोग तथा अद्र्ध र पूर्ण प्यारालाइसिसमा मात्र प्रयोग गर्ने भन्ने बुझ्दछौ । विकासित देश चीन तथा अमेरिका, युरोपका धेरै देशका नागरिक यति सचेत भैसके कि कुनै प्रकारको रोगको अकुपञ्चर बाहेकको विकल्प छैन वा औषधि सेवन गर्नुभन्दा अकुपञ्चर गर्नु  राम्रो हुन्छ भन्ने ज्ञान रहेको हुन्छ । जसको फलस्वरूप अरु चिकित्सा नगरी सोझै अकुपञ्चर चिकित्सकसंग सल्लाह गर्न जान्छन् । यसो गर्नाले चिकित्सा प्रभावकारी हुन्छ र विरामीलाई तुलनात्मक रुपमा छिटो सन्चो हुन्छ ।

चीनलगायत देशमा कोभिड संक्रमितलाई पनि अकुपञ्चर प्रयोग गर्दा जटिल समस्या हुनबाट रोकेको, शरीरको प्रतिरोधात्मक क्षमता बढाएको, शरीरमा अक्सिजनको मात्रा बढेको, मुटुको चाल कम बनाएको तथा कोभिडपछि हुने मानसिक समस्या पनि दूर गरेको तथ्य हामी इन्टरनेटमा हेर्न र पढ्न पाउँछौ ।

अहिलेको समयमा प्रकाशित वैज्ञानिक लेखअनुसार अकुपञ्चर पुरुष तथा महिलामा हुने बाँझोपनमा निकै प्रभावकारी रहेको तथ्य भेटिन्छ । सहि रुपमा अकुपञ्चर गर्नाले गर्भधारण गर्नमा मद्दत गर्दछ, जसको कारण एलोप्याथिक विशेषज्ञले पनि धेरै प्रकारको बाँझोपनमा अकुपञ्चर प्रयोग गरेको देखिन्छ । महिलामा हुने अनियमित महिनावारी, महिनावारी हुँदा पेट दुख्ने, महिनावारी सुक्ने बेलामा हुने समस्या जस्ता दीर्घ समस्याको लागि पनि अकुपञ्चर धेरै प्रभावकारी रहेको देखिन्छ । 

त्यसो त सन् २०१२ मा चीनमा प्रकाशित एक खोजमुलक लेखअनुसार गर्धन दुखाइ, न्यूरोजेनिक दुखाइ, अप्रेसनपश्चात हुने दुखाइ जस्ता आपतकालीन अवस्थामा पनि अकुपञ्चर प्रयोग गर्दा दुखाइ तुरुन्त कम भएको भन्ने उल्लेख गरेको छ । अमेरिकालगायत धेरै देशमा मिलिटरी फोर्समा पनि अकुपञ्चर चिकित्साको प्रयोग हुँदै आएको पाइन्छ ।

तपाईं अकुपञ्चर चिकित्सा गर्ने सोचमा हुनुहुन्छ वा गर्नुपर्ने छ भने अकुपञ्चर विज्ञसंग परामर्श गरेरमात्र चिकित्सा सुरुवात गर्दा राम्रो हुन्छ । हाम्रो सामान्य बुझाइ भन्दा फरक के छ भने विभिन्न रोगमा अकुपञ्चर गर्ने स्थान र तरिका फरक फरक हुन्छ । सहि स्थान वा बिन्दुमा अकुपञ्चर नहुनाले विभिन्न समस्या पनि देखिने गर्दछ, जसले कालान्तरमा भिन्न प्रकारको उपद्रव देखिन सक्दछ ।

अकुपञ्चर गर्दा प्रयोग गरिने सुइ एकदम मसिनो र शरीरमा प्रयोग गर्नको लागि नै बनाइएको हुन्छ, जसले गर्दा यो सुइ शरीरमा रहने उचित विन्दु पत्ता लगाएर प्रयोग गर्दा दुखाइ एकदम कम हुन्छ । त्यसै गरी प्रयोग गर्न नहुने ठाउँमा प्रयोग भयो भने दुखाइ बढी हुने, कुनै सकारात्मक असर नपर्ने  तथा जटिल समस्या पनि उत्पन्न हुन सक्छ । 

नेपालमा सरकारी तवरले नरदेवी आयुर्वेद चिकित्सालय र राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा अकुपञ्चरका विज्ञ चिकित्सकबाट नै सेवा दिने गरिन्छ । प्राइभेटतर्फ भने ब्लु लोटस अकुपञ्चर हस्पिटल, अन्नपूर्ण न्यूरो हस्पिटल, निर्वाण हेल्थ होम तथा विभिन्न अकुपञ्चर क्लिनिकमा सेवा उपलब्ध छ । ५ वर्ष अघिको अहिले अकुपञ्चरप्रति जनमानसको विश्वास बढ्दै गएको देखिएको छ, जसको प्रभाव बढ्दै जाने निश्चितप्रायः छ ।

लेखक चीनबाट अकुपञ्चर विषयमा मास्टर्स गर्दैछन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप