बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कर्णाली प्रदेश सरकारका पदाधिकारीको भ्रमण खर्चमा अस्वाभाविक वृद्धि

अघिल्ला तीन वर्षको तुलनामा पछिल्लो एक वर्षमै तीन गुणा बढी खर्च
बुधबार, ०८ भदौ २०७९, १४ : ४४
बुधबार, ०८ भदौ २०७९

कर्णाली प्रदेश सरकारका पदाधिकारीको भ्रमण खर्चमा आर्थिक वर्ष २०७८/७९ मा अस्वाभाविक वृद्धि भएको छ । अघिल्ला तीन आर्थिक वर्षको तुलनामा सो आर्थिक वर्षमा भ्रमण खर्चमा तीन गुणा वृद्धि पाइएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रातोपाटीलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार प्रदेश सरकारका मन्त्रीहरूले ०७४ साल फागुन महिनादेखि ०७८ असार मसान्तसम्म भ्रमण खर्च बापत एक करोड ३६ लाख ४३ हजार ४३४ रुपैयाँ खर्च गरेका थिए । तर, आर्थिक वर्ष २०७८/७९ मा ४ करोड ६२ लाख ९३ हजार ७७२ रुपैयाँ भ्रमण शीर्षकमा खर्च भएको छ ।

प्रदेश सरकार गठन भएको पहिलो वर्ष ०७४ फागुन महिनादेखि ०७५ असार मसान्तसम्म अर्थात् पाँच महिनाको अवधिमा ६ लाख २ हजार २ सय रुपैयाँ भ्रमण खर्चमा सकिएको थियो ।

यस्तै, ०७५ साउनदेखि ०७६ असार मसान्तसम्मको अवधिमा भ्रमण खर्च बापत ३५ लाख ३ हजार १४ रुपैयाँ खर्च भएको थियो भने आर्थिक वर्ष ०७६/०७७ मा ३७ लाख ६६ हजार ५६ रुपैयाँ र आर्थिक वर्ष ०७७/०७८ मा ५७ लाख ७२ हजार १९४ रुपैयाँ भ्रमण खर्चमा सकिएको थियो ।

आर्थिक वर्ष २०७८/०७९ मा भने ४ करोड ६२ लाख ९३ हजार ७७२ रुपैयाँ भ्रमण खर्चमा सकिएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । जसमध्ये मुख्यमन्त्री, मन्त्रीहरूको भ्रमण खर्चमा ३ करोड ९४ लाख २१ हजार ११५ रुपैयाँ र विशिष्ट व्यक्ति तथा प्रतिनिधिमण्डलको भ्रमण खर्च शीर्षकमा ६८ लाख ७२ हजार ६५७ रुपैयाँ खर्च भएको छ ।

कुन शीर्षकमा कति खर्च ?

प्रदेश सरकारले गत आर्थिक वर्ष ०७८/०७९ मा सञ्चार महसुल खर्चमा मात्रै २ करोड ७० लाख १६ हजार २३९ रुपैयाँ खर्चिएको छ । इन्धन खर्चमा पनि करोडौं रकम बर्सेनि सकिने गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष तीन वटा शीर्षकमा इन्धन खर्चबापत ६ करोड ५४ लाख ९५ हजार ८२० रुपैयाँ सकिएको छ । लेखा नियन्त्रक मानबहादुर बमका अनुसार प्रदेश सरकारका पदाधिकारीहरूले मात्रै एक वर्षमा ५५ लाख  ८८ हजार ५८२ रुपैयाँ बराबरको इन्धन प्रयोग गरेका छन् ।

यस्तै, कार्यालय प्रयोजनका ५ करोड १४ लाख ९८ हजार ८५ रुपैयाँ बराबरको इन्धन खर्च भएको छ । अन्य प्रयोजनका लागि इन्धन खर्चबापत ८४ लाख ९ हजार १५३ रुपैयाँ खर्च भएको बम बताउँछन् ।

रातोपाटीलाई उपलब्ध तथ्याङ्क अनुसार प्रदेश सरकारले खरिद गरेका सवारी साधनहरूको मर्मत खर्च मात्रै एक वर्षमा ५ करोड ८२ लाख ५० हजार ९०० रुपैयाँ छ भने मेशिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालनका लागि २ करोड ८२ लाख  २४ हजार ७२८ रुपैयाँ खर्च भएको छ ।

सरकारले पशुपंक्षीको आहाराका लागि १० लाख ८८ हजार ७०० रुपैयाँ खर्च गरेको छ । प्रदेश सरकारका मन्त्रालय र मातहतका कार्यालयहरूमा पुस्तक तथा सामग्रीका लागि २८ लाख ८७ हजार ६३० रुपैयाँ खर्च भएको छ ।

यस्तै घरभाडा बापत पनि प्रदेश सरकारले ठुलो रकम खर्च गर्ने गरेको छ । गत आर्थिक वर्ष ४ करोड ९६ लाख ३८ हजार ३७७ रुपैयाँ घरभाडामा खर्च भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप