शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दश खेलाडीलाई स–सम्मान राष्ट्रिय टोलीमा फर्काउन एन्फाको हुमागाई कार्ड

बिहीबार, ०९ भदौ २०७९, ०९ : ४५
बिहीबार, ०९ भदौ २०७९

नेपाली राष्ट्रिय फुटबल टोली अहिले मुख्य प्रशिक्षकविहीन छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नभएको समयमा एन्फाले कार्यवाहक मुख्य प्रशिक्षकको रूपमा अमेरिकी प्रशिक्षक प्रदीप हुमागाईलाई नियुक्त गरेको छ । हुमागाईले दुई वर्षअघि अमेरिकाको नागरिकता लिएका थिए । 

गत सिजन नेपाल सुपर लिग (एनएसएल) टोली ललितपुर सिटीमा प्रशिक्षकको रूपमा रहेका हुमागाईले ठुलो प्रभाव पार्न सकेनन् । उनी असफल देखिँदा क्लबले बर्खास्त गरेको थियो । त्यसपछि हुमागाईले आफू अमेरिकाको केही एकेडेमीहरूमा प्रशिक्षकको भूमिकामा रहेको बताएका थिए । क ताका फिफाको ए कोचिङ लाइसेन्स भएको भन्दै सिभी देखाएका हुमागाई विवादमा तानिएका थिए । अहिले प्रशिक्षकको रूपमा एकै पटक ठुलो फड्को मार्दै हुमागाईलाई नेपाली टोलीको नेतृत्व सम्हाल्न पुगेका छन् ।

उनले राष्ट्रिय टोलीमा कस्तो प्रदर्शन गर्नेछन् त्यो हेर्न बाँकी छ । तर, नेपाली टोलीको खेलाडी छनोटमा ठुलो राजनीति हुने स्वतः देखिएको छ । एन्फाको नयाँ नेतृत्व आउँदा बनाएको मुख्य एजेन्डा नै खेलाडीहरूलाई स–सम्मान राष्ट्रिय टोलीमा बोलाउने भन्ने थियो । लिखितमा खेलाडीहरूलाई राष्ट्रिय टोलीमा बोलाउने भने पनि बन्द प्रशिक्षणसम्म मात्र भनेको एन्फाले बताएको थियो । 

राष्ट्रिय टोली निर्माण गर्दा एन्फाको कुनै हात रहँदैन । तर, यो पटक भने एन्फाले खेलाडी छनोटमा हुमागाई कार्ड अपनाएको छ । अल्मुताइरीले मैत्रीपूर्ण खेलका लागि खेलाडीहरु माग गर्दा विवादमा तानिएका खेलाडीहरूको नाम पठाइएको थिएन । त्यसमा अञ्जन विष्ट लगाएका दुई तीन जना खेलाडीको मात्र नाम थियो । 

यदि अल्मुताइरी नै प्रशिक्षक भएर फर्केको अवस्था हुने थियो भने एन्फा कार्यसमिति बैठकले गरेको निर्णय नै फेल खाने थियो । त्यसैले अल्मुताइरीसँगको कुरालाई थाती राखेर दश जना खेलाडीलाई राष्ट्रिय टोलीमा बोलाउन नै हुमागाईलाई प्रशिक्षकको रूपमा नियुक्त गरियो । 

एन्फा कार्यसमितिको दोस्रो बैठकको निर्णयअनुसार प्रशिक्षकको जिम्मेवारी सम्हाल्न नेपाल पुगेका हुमागाईले विवादमा परेका दश जना खेलाडीलाई समेट्दै ४० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । 

मैत्रीपूर्ण खेल हुँदा केही असर नपर्ला तर एन्फाले दिएको निर्देशन अनुसार हुमागाईले टिम तयार पार्नेछन् । अनि मात्र एन्फाको नयाँ नेतृत्वको मुख्य एजेन्डाले सफलता पाउने छ । विवादमा परेका दश खेलाडी नै उत्कृष्ट छन् । उनीहरूको क्षमतामाथि प्रश्न गर्दा त्यति राम्रो देखिँदैन । तर, यहाँ एन्फाको राजनीति भने मज्जाले जम्नेछ । 

हुमागाईको अस्वाभाविक फड्को 

कार्यवाहक प्रशिक्षक हुमागाई अहिलेको एन्फा नेतृत्वको समर्थक हुन् । उनले चुनाव ताका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा नेतृत्वको प्यानलको खुलेरै आलोचना गरे । शेर्पा प्यानको आलोचनासँगै पंकज विक्रम नेम्वाङ प्यानलको समर्थनमा पनि उत्रिए । 

नेम्वाङलाई नेतृत्वमा ल्याउन समर्थनमा उत्रेका उनलाई एन्फा नेतृत्वले उपहार स्वरूप एक खेलका लागि राष्ट्रिय टोली सम्हाल्ने अवसर दिएको छ । पहिलो पटक राष्ट्रिय टोली सम्हाल्ने मौका पाएका हुमागाई कतिको सफल हुनेछन् भन्ने प्रश्न छ । 

एनएसएलमा असफल भएर पदमुक्त भएका हुमागाईलाई राष्ट्रिय टोली ठुलो भार हो । उनले अमेरिकामा पनि कुनै व्यावसायिक क्लब सम्हालेका छैनन् । किस्टोन एथ्लेटिक एकेडेमीमा टेक्निकल डाइरेक्टर रहेको बताउने उनी उक्त एकेडेमीको प्रशिक्षकहरूको सूचीमा रहेका २० जनामध्ये एक हुन् । किस्टोन एथ्लेटिक क्लबको टेक्निकल डाइरेक्टरमा रिचार्ड ओर्लोस्कीको नाम छ । 

ललितपुरको प्रशिक्षक हुने समयमा पनि उनले फिफाको ‘ए’ ग्रेड लाइसेन्स प्राप्त प्रशिक्षक हुँ भनेका थिए । तर, फिफाको ए ग्रेड लाइसेन्स नै नहुने हुँदा उनी कसरी समावेश भए भनेर प्रश्न गर्दा उनले माफी नै मागेका थिए । 

नेपाली ए डिभिजन लिगमा भने हुमागाईले राम्रो सफलता पाएका छन् । उनले सन् २०१३ मा थ्री स्टार क्लबलाई लिग जिताएका थिए । लिग जित्दा उनले क्लबका लागि सबै खेलमा प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । 

नेपाली टोलीमा प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक मात्र राख्ने बताएको एन्फाले एक खेलका लागि भने ‘भोलेन्टिएर’ प्रशिक्षक राखेको छ । एक खेलमा प्रशिक्षकको भूमिका निर्वाह गरे बापत एन्फाले उनलाई दुई लाख रुपैयाँ दिने सम्झौता गरेको बताइएको छ । 

यता प्रशिक्षक हुमागाईले आफूलाई प्रमाणित गर्ने समय आएको बताएका छन् । उनले नेपाली टोलीलाई एक खेलका लागि नेतृत्व गर्ने जिम्मेवारी पाए पनि त्यसमा आफू सफल भएर देखाउने बताए । 

‘मलाई एन्फाले विश्वास गरेर यो अवसर दिएको छ । त्यसका लागि एन्फालाई धन्यवाद । मलाई कति खेलका लागि भन्ने भन्दा पनि कस्तो प्रदर्शन गर्ने भन्ने कुरामा धेरै ध्यान छ । एन्फाले म प्रति गरेको विश्वासलाई खेर जान दिने छैन,’ हुमागाईले प्रशिक्षकको जिम्मेवारी सम्हालेको दिन भनेका थिए । 

नेपाली राष्ट्रिय टोलीले आगामी असोज ११ गते काठमाडौँस्थित दशरथ रंगशालामा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । त्यसका लागि नेपाली टोली अहिले बन्द प्रशिक्षणमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप