बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भैरहवा सेजका सबै प्लटहरूमा उद्योग स्थापना गर्ने सम्झौता

९ अर्ब लगानी, ३५ सयलाई रोजगारी प्रदान गर्ने लक्ष्य
बिहीबार, ०९ भदौ २०७९, १० : १६
बिहीबार, ०९ भदौ २०७९

भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज) मा बाँकी रहेका प्लटहरूमा उद्योग सञ्चालन गर्नको लागि सम्झौता भएको छ । ५२ बिगा क्षेत्रफलमा रहेको भैरहवा सेज निर्माण सुरु भएको १० वर्षपछि बल्ल पूर्णरुपमा उद्योग स्थापना गर्ने सम्झौता भएको हो । 

अब सेजका ६८ प्लटमा ३३ वटा उद्योग सञ्चालन हुने छन् । विगत दुई वर्षदेखि ७ वटा उद्योगहरू सञ्चालनमा आएको सेजमा पछिल्लो पटक विज्ञापन गर्दा नयाँ उद्योगीहरू थपिएका हुन् । दुई पटक विज्ञापन गर्दा २६ वटा उद्योगहरू आएको विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) कार्यकारी निर्देशक चण्डिका भट्टले रातोपाटीलाई बताए । 

उनले भैरहवा सेजका सबै प्लट पूरा भएको बताए । सेजमा हाल ७ वटा उद्योगले ३ अर्बको लगानी गरेर ४ सयलाई रोजगारी प्रदान गरिरहेको छ । अब आउने उद्योगहरूले ९ अर्ब लगानी पुर्‍याउने भट्टको भनाई छ । पछिल्लो पटक सम्झौता गरेका मसला र मार्बल उद्योगले ९० करोड लगानी गर्ने लगानी प्रतिबद्धता जनाएका छन् ।  ३ वटा प्लटका लागि मसला र मार्बल उद्योगले सम्झौता गरेका छन् । 

सेजमा सबै उद्योगहरू स्थापना हुँदा कम्तिमा ३५ सय जनाले रोजगारी पाउने भट्टले आशा व्यक्त गरे । प्रति वर्ग मिटर एक सय ५० रुपैयाँ भाडा घटाएर २० रुपैयाँ बनाएपछि उद्योगीहरू सेजमा उद्योग सञ्चालन गर्नको लागि रुचि देखाएका हुन् । अहिले अन्यत्र सञ्चालनमा भएका उद्योगका पुराना मेसिन पनि सेजमा सार्न पाउने व्यवस्था पनि गरिएकोले उद्योगीहरूलाई थप आकर्षित भएका हुन् । 

२ वर्षभित्र १२ अर्ब विदेश निकासी गर्ने लक्ष्य 

सेजभित्र सञ्चालनमा आएका उद्योगहरूले उत्पादनको  ६० प्रतिशत विदेश निकासी गर्नुपर्ने हुन्छ । उद्योगको प्रकृति हेरेर कतिपय उद्योगको १ वर्ष देखि २ वर्षभित्र विदेश निकासको सम्झौता रहेको छन् । हालसम्म रहेका ७ उद्योगले ५० करोड रुपैयाँ बराबरको निकासी गरेका छन् । अब सञ्चालनमा आउने उद्योगहरूले १२ अर्बको निकासी गर्ने भट्टले बताए ।  सरकारले अन्य ठाउँको तुलनामा सस्तो भाडादर ,आयकर छुट, भन्सार छुट, पूर्वाधारको सामूहिक उपयोग लगायत सेवा–सुविधाका कारण सेजमा खुल्ने उद्योगहरूको लागत घट्ने विश्वास सेज स्थापना गर्दा गरेको थियो । लागत कम भएपछि नेपाली उद्योगीहरूको प्रतिस्पर्धी क्षमता बढेर निर्यात पनि भट्टले बढ्ने बताए । 

सेजमा भएका उद्योगीहरूका आ आफ्नै गुनासा 

भैरहवा सेजमा सातवटा उद्योग यसअघि नै सञ्चालनमा आइसकेका छन् । यहाँ रहेका उद्योगीहरूका आ–आफ्नै गुनासाहरू उस्तै छन् । पञ्चकन्या समूहका महाप्रबन्धक दीपेन्द्र साहुले सेजभित्र रहेका उद्योगहरूमा विद्युत्,पानी र पानीको निकासको समस्या फेरि सुरु भएको गुनासो गरे । उनले रातोपाटीसँग भने, ‘हामी आफैले विद्युत् विस्तार र पानीको लागि बोरिङ राख्नु पर्ने अवस्था छ । विद्युत् नहुँदा कतिपय बेला जेनरेटर चलाएर काम गर्दा उत्पादनमा लगानी समेत वृद्धि हुन्छ।’ यहाँका उद्योगीहरूको सेज गरेका सम्झौता अनुसार पूर्वधारको काम, बैंक काउन्टर आदिमा ध्यान दिनु पर्ने माग गरेका छन् । 

सेजमा सुरुमा एलइडी लाइट, पाटी टङ्की, हर्बल आदिका उद्योगहरू रहेका थिए । अहिले सेजमा होम अप्लायन्स, पाइप उद्योग, गार्मेन्ट, प्याकिङ, हर्बल प्रशोधन, सिमेन्ट बोर्ड, फर्निचर,स्टोन कार्भिङ, स्टिलका भाँडा बनाउने, एलइडी लाइट,मसला, मार्बल लगायतका उद्योगहरूले अनुमति पाएका छन् । 

सरकारले पर्याप्त बजेट नदिँदा तथा समयमै नीति तथा कानुन नबन्दा सेज निर्माणमा ढिलाइ भएको भट्टको भनाई छ । उनले अब उद्योगीका गुनासाहरू सहज  समाधान गर्ने प्रतिबद्धता जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप