शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हामीले एमालेबाट गरेको विद्रोहलाई जनताले अनुमोदन गरिसकेका छन् : प्रकाश ज्वाला

बिहीबार, ०९ भदौ २०७९, २१ : ०५
बिहीबार, ०९ भदौ २०७९

नेकपा एमालेबाट विभाजित भई नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको एक वर्ष पूरा भएको छ । २०७८ साल भदौ २ गते निर्वाचन आयोगमा पार्टी दर्ताको निवेदन दिएकोमा आयोगले भदौ ९ गते दल दर्ताको प्रमाणपत्र दियो । पार्टी स्थापना भएको एक वर्षमा नेकपा एकीकृत समाजवादीले सोचेजस्तो सफलता भने पाउन सकेको छैन । गत वैशाख ३० गतेको स्थानीय चुनावमा गठबन्धनको बलमा २० प्रमुख र २३ उपप्रमुख जित्यो । आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनभित्र सिट बाँडफाँट नै सकस बनिरहेको अवस्थामा यो पार्टीले कति सिट पाउने र त्यसमा कति जित्ने भन्ने टुङ्गो छैन ।

पार्टी कमजोर भएपछि माओवादी केन्द्रसहित अन्य वाम शक्तिहरूसँग चुनावपछि एकता गर्ने भन्दै एकता संयोजन समितिसमेत बनाइसकेको छ । यिनै विषयवस्तुमा केन्द्रित रहेर नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालासँग  गरिएको कुराकानीको सम्पादित अंशः 

तपाईहरुले पार्टी गठन गरेको एक वर्ष पुगेको छ । पार्टी निर्माणको एक वर्षलाई कसरी लिनु भएको छ ?

हाम्रो पार्टी निर्माण भएको आज एक वर्ष पुगेको छ । पार्टी स्थापनाको एक वर्षको अवधि निकै ठुलो उतारचढावपूर्ण रुपमा बिताएका छौं । आजकै दिन हाम्रो पार्टीले निर्वाचन आयोगबाट प्रमाणपत्र पाएको थियो । हामीले गत वर्ष भदौ २ गते पार्टी दर्ताको निम्ति निर्वाचन आयोगमा निवेदन दियौँ । भदौ ९ गते अर्थात् आजकै दिन पार्टी दर्ताको प्रमाणपत्र पाएका थियौं ।

एक वर्ष पुगेको उपलक्ष्यमा पुनर्गठन दिवस मनाइरहेका छौं । यो एक वर्षमा राष्ट्रिय राजनीतिको घटनाक्रममा निकै कष्ट भोगेका छौं । हिजो जसरी एमालेमा हुँदा निरंकुशता थियो, जुन किसिमले पार्टी कब्जा गरेर प्राइभेट कम्पनी ठान्ने गर्ने प्रवृत्ति थियो,  पार्टीलाई विधि, पद्धति र संस्थागत रुपमा चलाउनेभन्दा पनि व्यक्तिगत रुपमा कुनै ठालुले चलाएजस्तो चलाउने तरिका थियो, त्यसका विरुद्ध विद्रोह गरेका थियौं ।

त्यतिबेला राष्ट्रिय राजनीतिमा नेकपाले दुई तिहाइ बहुमत ल्याएको अवस्थामा संसद विघटन गर्नेजस्तो संविधान र व्यवस्थालाई घात पुग्नेगरी काम भयो । हामीले जुन उपलब्धि प्राप्त गरेका छौं, त्यसलाई क्षतविक्षत हुनेगरी संसद विघटन गरेर प्रतिगामी कदम चालियो । त्यसका विरुद्ध पनि विद्रोह गरेका थियौं । एमालेबाट विद्रोह गरेपछि एकीकृत समाजवादीलाई पुनर्गठन गरेर संस्थागत गरेका हौं । त्यो विद्रोहलाई संस्थागत गर्न यो पार्टी पुनर्गठन गरेका हौं । यो एक वर्षमा त्यो विद्रोह औचित्यपूर्ण थियो भन्ने पुष्टि भयो । विद्रोह न्यायोचित थियो । हामीले गरेको विद्रोहलाई जनताले अनुमोदनसमेत गरिसकेका छन् ।

पार्टी स्थापना दिवस कार्यक्रममा खासै उत्साह देखिएको छैन, के पार्टीमा ऊर्जा, उत्साह मर्दै गएको हो ?

आज हामी एउटा भेलाको रुपमा पार्टी स्थापना दिवस मनाइरहेका छौं । निर्धारित समय नपुग्दै भिडभाड हुने कुरा भएन । काठमाडौंसहित देशैभरि पार्टी स्थापना दिवस मनाइरहेका छौं ।

हामीले जुन विद्रोह गरेका थियौं, त्यसको औचित्यलाई साबित गरेका छौं । स्थानीय चुनावमा अपेक्षा गरे जति सिट नआए पनि हाम्रो पार्टी राष्ट्रिय पार्टीको रुपमा स्थापित भएको छ । पार्टीले आफ्ना विचार, सिद्धान्त र कार्यक्रमहरु जनताको बीचमा लगेको छ । कलम चुनाव चिह्न जनताको बीचमा चिनाएका छौं । अब हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा पनि पार्टी र संगठनको सम्पूर्ण शक्ति लगाएर सहभागी हुनेछौं ।

तपाईकै भाषामा भन्दा त्यो न्यायपूर्ण आन्दोलन कत्तिको गाह्रो रहेछ ? यस्तो अवस्थामा कत्तिको साथ पाइँदो रहेछ ?

हामीले स्वाभाविक रुपमा चुनौतीपूर्ण बाटो रोजेका छौं । कम्युनिस्ट पार्टीमा लाग्नु भनेको चुनौतीको बाटो रोज्नु हो, अप्ठ्यारो बाटो रोज्नु र बडो कष्टपूर्ण बाटो अपनाउनु नै हो । हामी सँगसँगै लाग्नु भएका नेता कार्यकर्ताले जीवन उत्सर्ग गर्नु भएको छ । कतिपयले अपाङ्गतापूर्ण जीवन बिताएको अवस्था छ । हिजोदेखि नै हामी कठिन र चुनौतीपूर्ण बाटोमा अगाडि बढेका हौं । त्यतिबेलाको विद्रोह स्वाभाविक रुपमा अप्ठ्यारो र चुनौतीपूर्ण थियो । त्यसको सामना गर्ने साहसका साथ विद्रोह गरेका थियौं ।

यसरी हामीजस्तै विद्रोह गर्न जोकोही तत्पर हुँदैनन् । त्यो आँट, हिम्मत सबैमा हुँदैन । एउटै पार्टी हुँदा एउटै टिममा वा विचार समूहमा भएका साथीहरु पनि पछिल्लो अवस्थामा डगमगाउनुभयो, तिघ्रा कमाउनुभयो । विद्रोह गर्ने आँट गर्नु भएन । त्यतिबेला हामीसँग कि आत्मसमर्पण कि विद्रोहमात्रै विकल्प थियो । हामीले विद्रोहको बाटो रोज्यौं, आत्मसमर्पण गर्न सकेनौँ । त्यो निरंकुशता र प्रतिगमनकारीका समक्ष झुकेनौँ ।

एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी पार्टी बनाउनुभयो । स्थानीय तह निर्वाचनमा  सोचेजस्तो नतिजा हात लागेन । त्यो सबै अवस्थालाई हेर्दा एमालेमै बसेको भए हुन्थ्यो भन्ने महसुस हुँदैन ?

त्यस्तो आउँदैन । जँघार तर्न थालेपछि तिघ्रा कमाउनु हुँदैन । तिघ्रा कमाए बगिन्छ, पार लागिदैन । हामीले एउटा आँट, हिम्मतका साथ भविष्यसम्मको योजना बनाएर विद्रोह गरेका छौं । स्थानीय चुनावमा अलि बढी गठबन्धनमा भर परियो । गठबन्धनमा भर पर्दा आफ्नो तयारी कम गरियो । गठबन्धन सोचेजस्तो राम्रो हुन सकेन । यो एक वर्षको अवधिमा हामीले स्थानीय चुनाव फेस ग¥यौं । यो चुनावमा एक ढङ्गले सफलता पनि प्राप्त गरियो । देशव्यापी रुपमा संगठनको सञ्जाल निर्माण गरियो । पार्टीलाई केन्द्रदेखि टोलसम्म विस्तार गर्न सफल भयौं । एउटा वैकल्पिक शक्तिको रुपमा स्थापित ग¥यौं ।

यति गरेपछि पछुतो मान्नुपर्ने कुनै कारण छैन । अब हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा राम्रो पोजिसन बनाउन सक्छौं भन्ने विश्वास छ । एकातिर गठबन्धन निर्माण गरिएको छ, अर्कोतिर स्थानीय चुनावमा जुन कमजोरी भयो, त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने संकल्प लिएका छौं । एउटा वैकिल्पक शक्तिको रुपमा स्थापित गर्न सक्छौं भन्ने विश्वास र उत्साहका साथ लागेका छौं । कम्युनिस्ट आन्दोलनमा पुनर्जागरण ल्याउने आँट, हिम्मत हामीसँग छ ।

तपाईहरुले यसो भन्दै गर्दा पनि धेरै कार्यकर्ता र शुभचिन्तकहरु एमालेमा फर्किरहनु भएको छ । यस्तो हुँदै गएमा यो पार्टीमा नेतामात्र रहने, कार्यकर्ता र शुभचिन्तक नरहने हुन्छ कि ?

कमजोर मनोविज्ञान भएका कार्यकर्ता उता गएका हुन सक्छन् । आम रुपमा एमालेबाट एकीकृत समाजवादीमा आउनेको संख्या धेरै छ । आज पनि धेरै साथीहरु एमालेबाट एकीकृत समाजवादीमा समाहित हुँदै हुनुहुन्छ । विभिन्न क्षेत्र जिल्ला र केन्द्रबाट धेरै नेता हाम्रो पार्टीमा समाहित हुनु भएको छ । यसमा निराश हुनुपर्ने कुनै कारण छैन । हामी उत्साहका साथ अघि बढिरहेका छौं ।

एमालेभन्दा एकीकृत समाजवादी कुन कुन आधारमा फरक भयो ? वा माओवादीभन्दा के फरक भयो ?

हामीले जुन-जुन मुद्दाहरु अघि सारेर पार्टी बनाएका थियौं, ती चिज औचित्यपूर्ण हुन् भन्ने पुष्टि भएको छ । वैचारिक रुपमा एमाले स्खलित भएको छ । वामपन्थ होइन रामपन्थ र हनुमान पन्थतिर गएको छ ।

जनमतमा एमालेले हामी पहिलो हौं भनिरहेको छ, तपाईले भनेजस्तो जनताले एमालेलाई दण्डित त गरेनन् नि ?

हामीले त्यो बेला निर्माण गरेको संगठनको जग थियो । त्यो लिगेसी थियो, त्यसले अहिलेसम्म एमालेलाई पुगेको छ । भोलिको प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा एमालेको हैसियत थाहा भइहाल्छ नि ।

विचार, सिद्धान्त, कार्यनीति मिल्ने कम्युनिस्ट पार्टीहरूसँग एकता गर्दै जान्छौं । जो–जोसँग विचार मिल्छ, ती शक्तिहरूसँग एकता गर्दै जान्छौं । वृहत् वाम एकताको संकल्प हामीसँग छ । त्यसको अभियन्ता हाम्रो पार्टी हुन सक्ने देखिएको छ ।

कुन कुन शक्तिसँग एकता हुने देख्नुहुन्छ ?

अहिले भर्खरै माओवादी केन्द्रसँग एकता गर्न पार्टी एकता संयोजन समिति बनाउने निर्णय गरेका छौं । अहिले भर्खरै एकता हुने अवस्था त छैन । निर्वाचनपछि एकताको निम्ति प्रक्रिया र छलफल अगाडि बढाउँदै लग्ने छौं । त्यसैगरी माओवादी केन्द्र, नेसपा, जनमोर्चा लगायतका पार्टीहरुसँग वाममोर्चा बनाउने सोचिरहेका छौं । धेरै समूह हाम्रो पार्टीमा समाहित भइसकेका छन् । अरु त्यस्तै समूहसँग छलफल भइरहेको छ । यो कम्युनिस्ट केन्द्रको रुपमा, समाजवादी केन्द्रको रुपमा स्थापित गर्ने विश्वासका साथ हामी अगाडि बढेका छौं ।

तत्कालीन नेकपामा बहुमत थियो । आपसमै मिल्न सक्नु भएन । तपाईहरुले पार्टी फुटाएर नयाँ पार्टी बनाउनुभयो । एक्लै चुनाव लड्न सक्ने स्थिति थिएन भने पार्टी किन फुटाउनु भएको हो ?

एमाले र माओवादी मिलाएर यति ठुलो पार्टी बनायौं । देशको पहिलो शक्तिको रुपमा स्थापित भयो । जब एकता गरेर दुई तिहाई बहुमत ल्यायौं, एकतातिर कम्युनिस्ट आन्दोलन ध्रुवीकृत र एकीकृत बन्दै थियो । अर्कोतिर संसदमा दुई तिहाई बहुमत प्राप्त गरेका थियौं । हामीलाई समाजवादको आधार निर्माण गर्ने अवसर थियो । सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरण गर्ने अवसर थियो । त्यतिबेला केपी ओली नेतृत्वको सरकारले के ग¥यो, हामी सबै सामु प्रस्ट छ । कम्युनिस्ट आन्दोलन क्षतविक्षत गराउनेका विरुद्ध एकीकृत र संगठित भएका हौं । हामीले पार्टी विभाजन गरेका होइनौं ।

तपाईहरु कांग्रेसको पुच्छर भएर हिँड्नु भएको छ भन्ने एमालेको आरोप छ नि ?

तत्कालका लागि, तत्कालीन मुद्दाको निम्ति मिलेका हौं । जस्तो कि प्रतिगमनका विरुद्ध कांग्रेससँगै सडकमा आयौं । प्रतिगमनका विरुद्ध आउने शक्तिहरुसँग आवश्यकताका आधारमा एकता र सहकार्य गरियो । दोस्रो जनआन्दोलनमा कांग्रेस, कम्युनिस्ट सबै शक्ति मिलेरै आन्दोलन गरेर राजतन्त्र फालेका थियौं । त्योभन्दा पहिले पञ्चायती व्यवस्था फालेका थियौं । कार्यनीतिक रुपमा कांग्रेसजस्तो लोकतान्त्रिक शक्तिसँग त्यतिबेला मिल्न सकियो । उता, सम्भव भएसम्म वाम शक्तिहरूलाई एकता र ध्रुवीकरण गर्दै लगेका छौं ।

अब एमालेभन्दा बलियो, व्यवस्थित र क्रान्तिकारी पार्टी बनाउनु सक्नुहुन्छ ?

जसरी एमाले दक्षिणपन्थी अवसरवादी भासमा गयो, राजनीतिक वैचारिक स्खलन देखा प¥यो, त्यसलाई पुनर्जीवित गर्न सक्छौं । संगठनात्मक रुपमा जुन खालको निरंकुशता र अहंकार देखा प¥यो, कम्युनिस्ट पार्टीलाई प्राइभेट कम्पनी जस्तो बनाइयो । पार्टीलाई विधि, पद्धतिअनुसार चल्न दिइएन । हामी पार्टीलाई विधि, पद्धति, संस्थागत निर्णयबाट चलाउने छौं । राजनीतिक, वैचारिक, संगठनात्मक रुपमा, कार्यदिशाको रुपमा र कम्युनिस्ट आन्दोलन एकतावद्ध बनाउने उद्देश्यमा केपी ओली नेतृत्वको पार्टीभन्दा फरक हुने छ । देशको समृद्धि र विकास गर्ने सवालमा समेत फरक हुने छ । एमालेभन्दा फरक वैकल्पिक, सशक्त शक्तिको रुपमा स्थापित हुने छौं ।

देशैभर रहेका नेता कार्यकर्तालाई पार्टी एक वर्ष पुगेको उपलक्ष्यमा के भन्न चाहनु हुन्छ ?

यो एक वर्ष हाम्रो लागि चुनौती र अवसरहरु सहित व्यतित गरेका छौ । ती उकाली, ओराली र अप्ठ्याराहरू पार गरेका छौं । एक वर्षको अवधिमा संगठनको सञ्जाल फैलाएका छौं । स्थानीय चुनाव फेस गरिसकेका छौं । त्यसैले एक वर्षमा केही चुनौती र समस्याहरूका बाबजुद सफलताका साथ पार गरेका छौं । आगामी समय पार्टीलाई अझै वैचारिक रुपमा स्पातिलो बनाउन सक्छौं । पार्टीलाई अझै सुसंगठित रुपमा अगाडि बढाउन सक्छौं । पार्टीलाई अझै जनताको बीचमा स्थापित गर्नेगरी लैजान सक्छौं । अब हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा विजयी गराउने गरी, सफलता प्राप्त गर्नेगरी अगाडि बढ्ने छौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप