शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : यस्ता छन् ‘टप टेन’ समाचार

बिहीबार, ०९ भदौ २०७९, २२ : १७
बिहीबार, ०९ भदौ २०७९

आज मिति २०७९ साल भदौ महिनाको ९ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ–

१. कार्यदलको बैठकमा दलीय दाबी

सत्ता गठबन्धनको सिट बाँडफाँटबारे सहमति जुटाउन बनेको कार्यदलको बैठकमा दलहरुले आ–आफ्नो दलले पाउनुपर्ने सिटबारे दाबी प्रस्तुत गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जसपा र जनमोर्चाले सिटबारे आ–आफ्नो दाबी प्रस्तुत गरेको कार्यदलका सदस्य हिमलाल पुरीले जानकारी दिए ।

उनका अनुसार बैठकमा काँग्रेसले प्रतिनिधिसभाका १६५ सिटमध्ये १०० सिटमा दाबी प्रस्तुत गरेको छ । यस्तै माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२, र जनमोर्चाले ३ सिटमा दाबी गरेको छ ।

२. नागरिकता विधेयकबारे राष्ट्रपतिलाई ब्रिफिङ

राष्ट्रपति विद्यादेवी भण्डारीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले कानुन निर्माण प्रक्रिया र संसदमा विचाराधीन विधेयकका सम्बन्धमा सरकारको योजना बारेमा ‘ब्रिफिङ’ गरेका छन् ।

राष्ट्रपति कार्यालयमा राष्ट्रपति भण्डारीसँग भएको भेटमा कानुन निर्माण प्रक्रिया, संसदमा विचाराधीन विधेयक लगायतका विषयमा सरकारको योजना ‘ब्रिफिङ’ गरेको मन्त्री शर्माले रातोपाटीलाई जानकारी दिए । सो अवसरमा महान्यायाधिवक्ता खम्मबहादुर खाती पनि सहभागी थिए  ।

३. नेसपा बैठक

नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिमा ९८ जना मनोनित भएका छन् । यस्तै ९३ सदस्यीय राजनीतिक समिति गठन गरिएको छ । सो पार्टीको हालै सम्पन्न कार्यकारिणी समितिको बैठकले केन्द्रीय समितिमा मनोनयन र राजनीतिक समिति गठन गर्ने निर्णय गरेको हो ।

यस्तै पार्टीको सह अध्यक्षमा गोविन्दप्रसाद चौधरी मनोनित भएका छन् भने केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा विष्णुहरि शर्मा, विज्ञ परिषद् प्रमुखमा एमपी रिजाल र निर्वाचन आयोग प्रमुखमा कृष्ण प्रसाद शर्मालाई जिम्मेवारी तोकिएको छ ।

​४. समाजवादी स्थापनाको एक वर्ष

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको गतिविधिले शंका जन्माएको बताएका छन् ।  बिहीबार पार्टी पुनर्गठन दिवसका अवसरमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले राष्ट्रपतिको गतिविधिबारे सत्ता गठबन्धनले नियालिरहेको बताए ।

‘अब भोलिका दिनमा सुन्दै जानुहोला । राष्ट्रपतिका बारेमा पनि कुरा आइरहेका छन् । राष्ट्रपतिले जुन ढंगले आर्मीका पूर्व प्रमुखहरुलाई बोलाएर राष्ट्रपति निवासमा भोज दिने काम भयो यसले शंका जन्मायो’, उनले प्रश्न गरे, ‘के गर्न खोजेकी छन् राष्ट्रपतिले ?’ गत वर्षको भदौ ९ मा समाजवादीले निर्वाचन आयोगबाट वैधानिकता पाएको थियो ।

​यस्तै लोसपा स्थापनाको पनि एक वर्ष बितेको छ ।

​५. निर्वाचनमा ८७ वटा दल सहभागी हुने

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ८७ वटा दल सहभागी हुने भएका छन् । निर्वाचन आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा ८७ दलले सहभागिता जनाउने निश्चित भएको र त्यसमा एकल तथा संयुक्त गरी ७९ वटा चुनाव चिह्नका मतपत्रमा समेटिने उल्लेख छ ।

आयोगले निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि तोकिएको समयावधि भित्र ८० वटा दल दर्ता निवेदन र एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि ४ वटा निवेदन गरी जम्मा ८४  वटा  निवेदन प्राप्त भएको थियो ।

​६. नेपाल विजयी

नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली केन्याविरुद्धको टी–ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा जित निकालेको छ । बिहीबार भएको खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको हो । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले जितका लागि दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

 नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रनको योगदान गरे । त्यस्तै ज्ञानेन्द्र मल्लले २३ रन बनाउँदा आसिफ शेखले १९ रनको योगदान गरे । नेपालका लागि आरिफ शेखले २४ रन बनाउँदा रोहित पौडेलले १३ रन जोडे ।

बलिङतर्फ केन्याका लागि लुकास ओउच र विराज पटेलले दुई–दुई विकेट लिए । त्यस्तै निहेमिहा ओडिआम्बोले एक विकेट लिए ।

​७. शुक्रबारको सेयर कारोबार गर्न माग

शुक्रबार जारी सेयर कारोबार बन्द गर्न लगानीकर्ताहरूले नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँग माग गरेका छन्  । बिहीबार केही लगानीकर्ताहरूले नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर कार्कीलाई भेटी ज्ञापनपत्र बुझाएका हुन् ।

​८. बालेनको एक्सन

अल्फाबिटा कम्प्लेक्सको अवैध संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । पार्किङका लागि छुट्याइएको स्थानमा समेत कम्प्लेक्सले व्यापारका लागि संरचना बनाएको पाइएपछि महानगरपालिकाले बिहीबार दिउँसो डोजर चलाएको हो।   यसअघि कम्प्लेक्सका मालिकले अवैध संरचना हटाउन भन्दा उल्टै मेयर बालेन शाहसँग सवाल जवाफ गरेका थिए ।

​९. एमाले बैठक

नेकपा एमालेले शुक्रबारबाट बस्ने केन्द्रीय कमिटी बैठकका लागि ११ एजेण्डा तयार पारेको छ । बिहीबार बसेको पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकका लागि ११ एजेण्डा तय गरेको पार्टी प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।  

उनकाअनुसार पहिलो एजेण्डाका रुपमा अध्यक्ष केपी शर्मा ओलीको लिखित राजनीतिक प्रतिवेदन पेससहित त्यसमा ग्रुप विभाजनमार्फत छलफल गर्ने, मनोनित गरेका केन्द्रीय सदस्यहरुलाई सपथ गराएर बैठकमा सहभागी गराउने दोस्रो एजेण्डा रहेको छ ।

​१०. यो पनि..

नेकपा माओवादी केन्द्रको सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपालले महँगी नियन्त्रण, संरचनागत तथा नीतिगत भ्रष्टाचार अन्त्य र श्रम शोषण विरुद्ध सङ्घर्ष गर्ने भएको छ ।

​बाल यौन दुराचारको आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोजकुमार पाण्डेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्च अदालतबाट पनि सदर भएको छ । उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडी र नरिश्वर भण्डारीको इजलासले बिहीबार जिल्लाकै आदेश सदर गरेको हो ।

​पछिल्लो २४ घण्टामा ३ जना कोेरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा गरिएको ४९५४ जनाको नमुना परीक्षणमा ४४४ जनामा संक्रमण पुष्टि भएको छ ।

​नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा विभाजनका कारण १५० सिट गुमाउनुपरेको बताएका छन् । पार्टी स्थायी कमिटी बैठकमा फरक मत राख्दै नेता भुसालले यस्तो हिसाव राखेका हुन् । ‘कम्तिमा १५० स्थानीय तह कम्युनिष्ट पार्टीको विभाजनका कारणले गुमेका छन् । त्यो क्षति हामी बाँचेका सबै कम्युनिष्टको नालायकी हो । फेरि निर्वाचन आउँदैछ’, भुसालले राखेको चार पेज लामो फरक मतमा भनिएको छ । 

नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्यहरुको सम्पत्ति विवरण माग गरेको छ ।  पार्टी केन्द्रीय कार्यालयले सदस्यहरुलाई पत्राचार नै गरेर एक साताभित्र सम्पत्ति विवरण पठाउन सूचित गरेको हो ।  ‘राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५३ को प्रयोजनको लागि पार्टी केन्द्रीय सदस्यहरुले आफ्नो चल अचल सम्पत्तिको विवरण पार्टी केन्द्रीय कार्यालयमा खाम बन्दी गरी हप्ता दिन पठाई दिनु हुन निर्देशन अनुसार अनुरोध छ’, केन्द्रीय कार्यालयले भनेको छ।

​आयातित मदिरा डबल ब्ल्याक, ब्ल्याक लेबल र रेड लेबल डुब्लिकेट बनाउने कारखानामा प्रहरीले छापा मारेको छ । भक्तपुरको दुवाकोटमा संचालित कारखानामा छापा मारेर उल्लेख्य परिमाणमा नक्कली मदिरा बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले रातोपाटीलाई बताए । 

​थप समाचार

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप