बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

शनिबार, ११ भदौ २०७९, ०९ : २२
शनिबार, ११ भदौ २०७९

रुपन्देहीको बुटवल उपमहानगर पालिका वार्ड ८ रामनगरमा सङ्घीय सरकारले निर्माण गरेको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् । सहरी विकास मन्त्रालयको १ अर्ब ११ करोड लागतमा सम्मेलन केन्द्रमा दुई चरणमा गरी सम्पन्न भएको हो । 

बिहान ११ बजे प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने तयारी पूरा भएको निर्माण आयोजना प्रमुख इन्जिनियर धर्मेन्द्र पन्थीले रातोपाटीलाई बताए । सम्झौता भएको ५ वर्षमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एक पटकमा एक हजार जना मानिस अट्ने सभा हल छ । त्यसबाहेक मिटिङ रुमहरू रहेका छन् । 

यस्तै चार सय गाडी र चार सय मोटरसाइकल पार्किङको व्यवस्था रहेको छ । यहाँ सम्मेलन केन्द्रमा हेलीप्याडसमेत बनाइएको छ । संघ प्रदेश र स्थानीय तह गरी तीन तहकै सरकारबीच यसको सञ्चालन मोडालिटीबारे छलफल भए पनि अझै टुङ्गो लागेको छैन । केही दिन अगाडि सहरी विकास मन्त्री मेटमणि चौधरीले उद्घाटन गर्ने तयारी गरे पनि प्रधानमन्त्री नै उद्घाटनमा आफै आउने रुचि देखाएपछि ​शनिबारको लागि उद्घाटन गर्ने कार्यक्रम तय गरिएको हो । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री, गृहमन्त्री, सहरी विकास मन्त्री,पूर्व अर्थमन्त्री एवं एमालेका उपाध्यक्ष विष्णु पौडेलको उपस्थिति रहने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप