शनिबार, २६ असोज २०८१
ताजा लोकप्रिय

मुगुका किसानलाई बेलै नभइ स्याउ टिप्ने चटारो

शनिबार, ११ भदौ २०७९, १३ : ४०
शनिबार, ११ भदौ २०७९

छायाँनाथ रारा नगरपालिका–५ का स्याउ किसान विष्णुमाया  रोकायाका परिवारलाई अचेल स्याउ टिप्न भ्याइनभ्याइ छ । भदौ लागेसँगै उनको परिवार बिहानैदेखि बगैँचामै हुने गरेको छ । मुगुसहितका भेगमा अहिले स्याउ पाक्ने बेला हो । यसकारण यहाँका किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ छ । वडा नम्बर ४ का किसान हरिबहादुर भाम पनि स्याउ टिप्न व्यस्त छन् । उनीहरू मात्र होइन यतिबेला मुगुका स्याउ उत्पादन हुने क्षेत्रका किसानलाई स्याउ टिप्ने चटारो छ ।

मुगुका बाम, ताल्च, रोवा, शोभा, खमाले सेरीलगायतका क्षेत्रमा स्याउको पकेट क्षेत्र मानिन्छ । हुन त यो समय स्याउ टिप्नको लागि उपयुक्त समय होइन । मुगुमा स्याउ टिप्ने समय भदौको अन्तिम तथा असोजतिर मात्रै हो । भदौ अन्तिमतिर सबैले एकै पटक स्याउ टिपे स्याउले बजार नपाउने हुन्छ । कतिपय त रुखमै कुहिने भएकाले अहिले नै धमाधम टिपेर बगैँचा खाली गर्न थालेको किसानहरू बताउँछन् ।

केही किसान भने स्याउ भण्डारण गर्ने ठाउँ नभएको बताउँदै व्यापारी बगैँचामा आएको मौकामा स्याउ बेच्न लागेको बताउँछन् । ‘व्यापारी अहिले नै आएका छन् अलिअलि काँचो भए पनि लैजान्छन् ।’ किसान हरिबहादुर भामले भने । 

यतिबेला स्याउ व्यापारी बगैँचामा आएर प्रतिकेजी ३० रुपैयाँमा लिने गरेका किसानहरू बताउँछन् । आफूले पनि उत्पादन धेरै भएको स्याउ बजारीकरणको समस्याले कुहिने डरले बिक्री गर्ने गरेका स्याउ किसान सूर्य प्रकाश भामले बताए । उनका अनुसार स्याउ राख्ने कार्टुन नहुँदा पनि समस्या भएको छ ।

विष्णुमाया रोकायाका बारीमा १५ सय स्याउका बोट छन् । यो वर्ष स्याउ उत्पादन धेरै हुने भएकाले उनलाई कसरी बेच्ने भन्ने चिन्ता लाग्न थालेको छ । उनले भनिन्,  ‘नेपालगञ्ज, सुर्खेतलगायतका बाजारमा लैजाने योजना छ’ उनले भनिन् । 
स्याउ उत्पादन धेरै भए पनि मुगु जाने राम्रो सडक छैन । गत वर्षभन्दा यसपटक स्याउ उत्पादन वृद्धि हुने अनुमान जिल्ला कृषि विकास कार्यालय मुगुले पिन गरेको छ । निमित्त कार्यालय प्रमुख दुर्गाबहादुर शाहीले भने, ‘अघिल्लो वर्षमा ३४ मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।’  

यस वर्ष जिल्लामा गत वर्ष भन्दा ५ देखि १० प्रतिशत स्याउ उत्पादनमा वृद्धि हुने शाहीले बताए । मुगुमा विशेष गरी तीन प्रकारका रोयल डेलिसेस्, रेट डेलिसेस् र गोल्डेन डेलिसेस् स्याउ उत्पादन हुने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप