शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संकटमा समानुपातिक सांसद, प्रत्यक्षतर्फ नलडे 'रिङ्गआउट'

सोमबार, १३ भदौ २०७९, ०६ : २९
सोमबार, १३ भदौ २०७९

नेपाली कांग्रेस तथा नेकपा एमालेले हाल समानुपातिक तर्फबाट सांसद रहेकालाई आगामी निर्वाचनमा समानुपातिकमै अवसर नदिने भएको छ । दुवै दलले यससम्बन्धी औपचारिक निर्णय गरिसकेका छन् ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हाल समानुपातिक सांसद रहेकाहरुलाई सोही पदमा नदोहोर्‍याउने र नयाँलाई समानुपातिकतर्फको उम्मेदवार बनाउने प्रमुख दुई दलको तयारी छ । एमाले केन्द्रीय सदस्य कृष्ण राईले हाल समानुपातिक तर्फ सांसद रहेकालाई आगामी निर्वाचनमा पुनः समानुपातिकमा नराख्ने निर्णय भएको बताए । तर अहिले समानुपातिकमा रहेका सांसदलाई आसन्न निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव लड्न भने बाटो खुला रहेको उनले बताए ।

राईले भने, ‘हाल समानुपातिक सांसद रहेकालाई फेरि दोहोर्‍याएर समानुपातिक सांसद नबनाउने निर्णय भएको छ । राख्नैपर्ने अवस्था भएमा पार्टीको केन्द्रीय सचिवालय बैठकले निर्णय गर्नुपर्ने छ । नीतिगत रुपमा समानुपातिक सांसदलाई नदोहोर्‍याउने कुरा छ । हाल समानुपातिक सांसद रहेकालाई पनि प्रत्यक्ष चुनाव लड्न भने कुनै छेकबार छैन ।’

२०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा एमालेले समानुपातिकतर्फ ४१ सिट जितेको थियो । पार्टी विभाजनपछि एमालेमा रहेका समानुपातिक तर्फका ९ जना सांसद बाहिरिएका छन् भने हाल एमालेमा ३२ जना समानुपातिक तर्फका सांसद छन् ।

एमालेबाट समानुपातिकतर्फ जितेका रामकुमारी झाँक्री, बिनादेवी बुढाथोकी, कल्याणीकुमारी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु,  पार्वतीकुमारी विसुंखे, पुष्पा कुमारी कर्ण, सरलाकुमारी यादव, समिना हुसेन पार्टी विभाजनपछि एकीकृत समाजवादीमा छन् ।

एमालेका यी समानुपातिक सांसद जो आगामी चुनावमा फेरि समानुपातिक सांसद बन्न पाउने छैनन्  

एमालेका समानुपातिक सांसदमा मुकुन्द न्यौपाने, डा. विजय सुब्बा, मोहन बानियाँ, मोतीलाल दुगड, पूर्व मन्त्री थममाया थापा, पूर्व उपसभामुख एवं पूर्व मन्त्री डा.शिवमाया तुम्वाहाङफे, सुजिता शाक्य, बिना श्रेष्ठ, कुमारी तुल्सी थापा, नविना लामा, शान्तिमाया तामाङ, कुमारी मेचे, राधा कुमारी ज्ञवाली, बिन्दा पाण्डे, गोमा देवकोटा, निरुदेवी पाल, मनकुमारी जिसी, मायादेवी न्यौपाने, विष्णु शर्मा, मैनाकुमारी भण्डारी, तीर्था गौतम, शान्ता चौधरी, गंगा चौधरी सत्गौवा, विमला विश्वकर्मा, विमला विक, आशाकुमारी विक, जुलीकुमारी महतो, रेखाकुमारी झा, सरिताकुमारी गिरी, कालिला खान छन् । यिनीहरुले अब फेरि समानुपातिकतर्फबाट सांसद बन्न नपाउने भएका हुन् ।

यी हुन् फेरि दोहोरिन नपाउने नेपाली कांग्रेसका समानुपातिक सांसद

अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ बसेका गृहमन्त्री बालकृष्ण खाणले अब फेरि समानुपातिकतर्फ बस्न पाउँदैन् । उनले प्रत्यक्ष निर्वाचन लड्नुपर्ने हुन्छ । यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी, मोहन पाण्डे, सुजाता कोइराला, पुष्पा भुसाल, डा.डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी दीपशिखा शर्मा पुनः समानुपातिकमा रहन पाउने छैनन् ।

यस्तै बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जिपछिरिङ लामा, दिव्यमणि राजभण्डारी, ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बू, हिरा गुरुङ र मीना सुब्बा पनि समानुपातिकमा दोहोरिन पाउने छैनन् ।

यस्तै हाल समानुपातिक तर्फको सांसद रहेका अर्बपति विनोद चौधरी नवलपरासीबाट प्रत्यक्ष चुनाव लड्ने तयारीमा छन् । स्मृतिनारायण चौधरी, नगेन्द्रकुमार राय, सीतादेवी यादव, चित्रलेखा यादव, मीनाक्षी झा, मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, प्रकाश रसाइली पनि बाहिरिने छन् ।

सुजाता परियार, लक्ष्मी परियार, विमला नेपाली, पद्मनारायण चौधरी, पार्वता डिसी चौधरी, नमिताकुमारी चौधरी, अतहर कमाल मुसलमान र सर्वतआरा खानम पनि अब समानुपातिकमा बस्न नपाउने भएका छन् ।

अघिल्लो चुनावमा समानुपातिकतर्फ नेकपा एमालेले ४१, नेपाली कांग्रेसले ४०, नेकपा माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले ६/६ सिट पाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप