शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रकाश’ फिल्मको शो कटौती विवाद : निर्माता र प्रदर्शकको आ–आफ्नै डम्फु

शो विवादमा मेरो कुनै खेल छैनः भुवन केसी
सोमबार, १३ भदौ २०७९, १७ : ५४
सोमबार, १३ भदौ २०७९

पछिल्लो समयका व्यस्त अभिनेता प्रदीप खड्का प्रायः ‘कुल’ देखिन्छन् । मिडियामा फिल्मको प्रमोसनका समय उनले देखाउने सरलता, मिलनसार व्यवहार र बोल्ने शैलीको सधैँ प्रशंसा हुँदै आएको छ । उनलाई बौद्धिक अभिनेताको रुपमा पनि चिन्ने गरिन्छ । तर उनै अभिनेता प्रदीप गत शुक्रबार भने निकै आक्रोशित मुद्रामा देखिए । उनको आक्रोशको कारण थियो फिल्म ‘प्रकाश’ को शो कटौती । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मलाई क्यूएफएक्स चेनले न्युनतम शो दिएको भन्दै उनी पत्रकार सम्मेलनमै हल विरुद्ध आक्रमक ढंगले प्रस्तुत भएका थिए ।

आफ्नो फिल्मलाई देशभर जम्मा १३ शो दिएको र त्यो शो पनि दर्शक नहुने समयको भएको उनको आक्रोश थियो । हलले फिल्मलाई राम्रो शो उपलब्ध नगराए काठमाडौंमा प्रोजेक्टरबाट ठाउँ ठाउँमा फिल्म देखाउने उनले धम्की दिएका थिए ।

फिल्मको आउटलुक हेर्दा मास अपिलिङ लाग्दैन होला । तर, ‘प्रकाश’ नेपाली फिल्म क्षेत्रका लागि कलंकै हो भनेर पनि त कसैले भन्न सक्दैन होला, उनले भनेका थिए, ‘३ बजेपछि फिल्म हेर्न चाहने दर्शकलाई प्लेन चढाएर विर्तामोड पठाउनुपर्ने बाध्यता भयो ।’

बिर्तामोडको एक हलमा मात्र फिल्मका लागि दिउँसोको शो भएको उनको धारणा थियो । अन्य केही शो त्यो पनि बिहान ८ बजेको थियो । क्यूएफएक्स चेनले राम्रो शो जति सबै बिहिबार नै रिलिज भएको बलिउड फिल्म ‘लाइगर’लाई उपलब्ध गराएको उनको आरोप थियो । शुक्रबार ‘लाइगर’ लाई देशभर करिब ८० शो दिएर ‘प्रकाश’ लाई भने जम्मा १३ शो दिएको निर्माता महेन्द्र अधिकारीले बताए । त्यो दिएको शो पनि उपयुक्त र राम्रो समयको नभएको उनले पनि पीडा पोखे ।

हलमा बिहानदेखि बेलुकासम्म धेरै शो हुन्छ, हाम्रो चित्तदुःखाई त्यसमा हो । हामीलाई नराम्रो शो दिएर राम्रो शो बलिउड फिल्मलाई दिइयो, अधिकारीले भने, ‘फिल्म रिलिज भएको दिनमा त रिलिज सबै फिल्मलाई उपयुक्त र बराबर शो दिनुपर्छ । फिल्ममा दर्शक नभए शो घटाउन सकिन्छ । त्यसमा कोही बोल्दैन ।’ उपयुक्त शो नदिदा फिल्म हेर्न गएका दर्शक त्यतिकै फर्किएको अधिकारीको भनाइ छ ।

फिल्म हेर्न दर्शक हलमा नआएको गुनासो हुँदै आएको छ । हाम्रो त शो नै नभएर दर्शक फर्किएपछि रिस उठ्नु स्वभाविक हो, अधिकारीले थपे, ‘करोडौं खर्च गरी दुई वर्ष लगाएर फिल्म बनायो । लगानी उठाउने बेला हल नहुनु कसैले राम्रो भन्दैन होला ।’

प्रकाश’का निर्माताको भनाइबारे क्यूएफएक्स चेनका संचालक क्वेस्ट एन्टरटेन्मेन्ट भने गलत भएको बताउँछ । फिल्मको शोका लागि आफूहरुले नराम्रो नगरेको क्वेस्ट एन्टरटेन्मेन्टका मार्केटिङ हेड तृप्ति गिरीले बताइन् ।

हामीले शोका लागि यसको फिल्म, त्यसको फिल्म भनेर हेर्ने हुँदैन । यो साता तीनवटा फिल्म आयो भने कसले राम्रो गर्न सक्छ । कसले कम गर्न सक्छ भनेर हाम्रो अनुमान गर्ने एउटा टिम छ, गिरीले भनिन् ‘त्यो अनुसार शो राखिएको हो, अन्यथा केही होइन । होला हाम्रो डिसिजन पनि कहिलेकाहीँ गलत हुन सक्छ । त्यस्तो अवस्थामा शोमा दर्शकको चाप हेरेर शोहरु दैनिक तलमाथि गरिरहेका हुन्छौ ।’ निर्माण पक्षलाई आफ्नो शोको बारेमा जानकारी नभएर उनीहरुले विभिन्न आरोप लगाएको गिरीको धारणा छ ।

केले बढायो त शो ?

रिलिजको दिन अर्थात् गत शुक्रबार फिल्मको शो कम भएको बिषयमा ‘प्रकाश’ युनिटले मिडियामा हल्लाखल्ला मच्चाएपछि सामाजिक सञ्जाल पनि क्यूएफएक्स चेनको धेरैले खुलेरै विरोध गरे । त्यसैले होला क्यूएफएक्स चेनबाट फिल्मको शो तुरुन्तै बढाएको देखिन्छ । क्वेस्ट एन्टरटेन्मेन्टकी तृप्ति गिरी भने सामाजिक सञ्जाल र मिडियाको हल्लाखल्लाले फिल्मको शो नबढेको बताउँछिन् ।

हामीले फिल्मका लागि जति शो दिएका हुन्छौँ । त्यो भन्दा केही थोरै शो स्टक राखेका हुन्छौ, गिरीले भनिन्, ‘शोमा देखिने दर्शकको घटबढमा शो पनि घटबढ हुन्छ ।’ पछिल्लो समय रिलिज भएको फिल्म मध्य ‘प्रकाश’ मा दर्शक बढेकोले अहिले शो बढाइएको उनी बताउँछिन् ।  ‘हामीलाई विहान र नराम्रो शो दियो भन्ने आरोप पनि छ । तर हामीले त्यसो गरे जस्तो लाग्दैन, गिरीले थपिन्, ‘हामीले एकैपटक रिलिज भएका तीन फिल्मलाई शो दिनुपर्ने भएकोले कुनै समय कोही फिल्म छुट्यो होला ।’

प्रकाश’ का निर्माता महेन्द्र अधिकारीको धारणा भने गिरीको भन्दा भिन्न छ । प्रेस मिट मार्फत् हल्ला पनि भएको र दर्शक पनि बढेको कारण अहिले फिल्मको शो बढेको उनी बताउँछन् । ‘फिल्म रिलिजको दिन शो छैन भने त्यसलाई के भन्ने ? अधिकारीे थपे, ‘हलै नभए दर्शकको चाप कहाँ देखिन्छ र ।’

एउटा क्युएफएक्समा दुईदेखि तीन हल हुन्छ । त्यसको शो पनि विभिन्न समय हुन्छ । त्यसको पनि अफ टाइममा हामीलाई शो दिइएको थियो, अधिकारीले अगाडि भने ‘अफ टाइमा शो दिएपछि हाम्रा जति पनि प्रकाश हेर्छु भन्ने मानिस गएका थिए, ती सबै फर्किए ।’ कोहीलाई सबै हलको राम्रो शो, कोहीलाई केही हलको शो त्यो पनि असमयको, के यो अन्याय होइन र ? अधिकारीले प्रतिप्रश्न गरे ।

सदस्यकै समस्या बोल्दैन निर्माता संघ

हरेक पटक जब निर्माता समस्यामा पर्छन्, त्यो समय उनीहरु एक्लो हुन्छन् । निर्माताको हक हितका खातिर स्थापित चलचित्र निर्माता संघ त छ । तर संघले कहिल्यै निर्माताको हक हितको बिषयमा आवाज उठाएको देखिन्न । उल्टै संघमा खबर भएन भन्ने गरेको छ ।

फिल्म ‘प्रकाश’ को समस्याको बिषयमा पनि निर्माता संघ बोलेको देखिन्न । आखिर किन बोल्दैन त निर्माताको समस्यामा निर्माता संघ निर्माताको विषयमा संघ नबोलेको बिषय झुट भएको  अध्यक्ष आकाश अधिकारी बताउँछन् । निर्माताको समस्यामा संघ सधैँ साथमा रहने गरेको उनको भनाइ छ । ‘प्रकाश’ को सुरुमा थपिएको ५ शो निर्माता संघको पहलमा थपिएको आकाशले बताए ।

हामी निर्माताको समस्याको बिषयमा समाधानका लागि बाहिर मिडियाबाजी गर्दैनौ । भित्री रुपमा तत्कालै लाग्छौ, अध्यक्ष अधिकारीले भने, ‘फिल्मको प्रिमियरमा मैले फिल्म हेरे । फिल्म राम्रो बनेको रहेछ । त्यही भएर मैले तत्कालै फोन गरेर शोका लागि भने । उनीहरुले शो बाँकी छ । थपिदिन्छौ भनेर थपिदिएका थिए ।’

कुनैपनि फिल्मले प्राइम शो पाउनुपर्छ भन्ने बिषयमा निर्माता संघ र चलचित्र संघ (प्रदर्शकहरुको छाता संगठन) बीच मौखिक सम्झौता भएको समेत जानकारी दिएका अधिकारीले सम्झौताअनुसार आफूले गर्न लगाउने जानकारी दिए ।

सुरुमा फिल्मका लागि प्राइम शो नदिएको साँचो हो । तर मैले हाम्रो जेन्टलमेन सम्झौता जानकारी गराएपछि शो थपिएको थियो, अधिकारीले अगाडि थपे, ‘डिमान्ड बढ्यो भने रातारात शो बढ्ने बिश्वास दिलाएपछि म केही शोमा चुप बसेको हो ।’

रिलिज फिल्मका लागि यति शो अनिवार्य दिनुपर्ने भन्ने केही नियम भने नभएको उनले स्वीकारे । भने ‘अव निश्चित शो निर्धारणतिर पनि लाग्नुपर्ने देखियो ।’

के भन्छ चलचित्र संघ ?

कुन र कस्तो फिल्मलाई कति शो दिने भन्ने बिषयमा निर्माता संघ, चलचित्र संघ र विकास बोर्ड नै अन्योलमा छन् । कुनै नियम नभएका कारण चलचित्र संघका सदस्य रहेका हलहरुले आफू खुसी फिल्म हेरेर शो दिने गरेका छन् । चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ हलले फिल्ममा दर्शकको चाप हेरेर शो बढाउने बताउँछन् ।

कुनै पनि फिल्मको लागि हलले पहिले नै सबै शो दिदैन । केही शो दिने हो । दिएको शो भरियो भने शो थाप्दै लान्छ, कायस्थले थपे, ‘पहिले नै शो पाएन भन्नु ठिक होइन ।’ फिल्म प्रकाशको दर्शक देखिएपछि शनिबार र आइतबार शो बढाएको उनले खुलाए ।

कायस्थको धारणासँग निर्माता संघका अध्यक्ष आकाश अधिकारी पनि केही हदसम्म सहमत छन् । रिलिजको समय निश्चित शो संख्या नहुँदा सधै समस्या हुने गरेको उनको अनुभव छ । ‘हामीले रिलिजको समय निश्चित शोको निर्धारण गर्नुपर्ने देखिएको छ । त्यसपछि दर्शक बढे शो बढ्छ । घटे घट्छ’ आकाशले थपे ।

मेरो खेल छैनः भुवन केसी

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रको यी समस्यासँग आफु पुरै जानकार भएकोले त्यसको निकासका लागि पहल थालिसकेको बताए ।  ‘म निर्माता, कलाकार, चलचित्र संघलगायत यो क्षेत्रका हरेक ब्यक्तिको समस्याबारे जानकार छु । त्यही समाधानका लागि म विकास बोर्डमा आएको हो । छिट्टै समाधान हुन्छ’ उनले भने ।

त्यसो त ‘प्रकाश’को शो विवादको दोषी कतिपयले चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीलाई देखाएका छन् । उनकै खेलबाट फिल्मका लागि शोमा घटबढ भएको धेरैको भनाइ छ । त्यसैले सामाजिक सञ्जालमा उनीसँग जोडेर विभिन्न अभिव्यक्ति पोस्ट भइरहेका छन् ।

प्रकाश’ पछिल्लो समयका स्टार प्रदीप खड्का अभिनित फिल्म हो । प्रदीप भुवनका छोरा अनमोलको प्रतिस्पर्धी हुन् । प्रदीपको फिल्म चलेन भने अनमोललाई फाइदा पुग्ने भएकोले भुवनले खेल खेलेको हुन सक्ने कतिपय फिल्मकर्मीकै अनुमान छ । किनभने अभिनयका हिसावले पनि प्रदीप अनमोल भन्दा माथि मानिएका छन् ।

बोर्ड अध्यक्ष भुवन केसी भने सो आरोपको खण्डन गर्छन् । वास्तविकता नबुझेर आफूलाई गाली गरेको हुन सक्ने बताउँछन् ।

विकास बोर्डले कुनैपनि नेपाली फिल्मले थोरै हल पाओस्, फिल्म नचलोस् भन्ने सोच राख्दैन, केसीले भने, ‘कलाकार हुँदा हल धेरै चाहियो भनेर मैले नै उठाएको आवाज हो ।’

किन नेपाली फिल्मले थोरै हल पाउँछ ? किन हिसाव किताब पारदर्शी गरिँदैन ? किन विदेशमा प्राथमिकतामा पर्दैन ? लगायत अनेक बिषय मैले पहिले देखि नै उठाउँदै आएको कुरो हो, उनले अगाडि भने, ‘अहिले पछिल्लो पुस्ताले मेरो त्यो आवाज नै बुलन्द पार्दै आएका हुन् । नपत्याए मेरो पुरानो अन्तर्वार्ता हेर्दा हुन्छ ।’ आफूलाई नबुझेर आरोप लगाएको बताउने भुवनले नेपाली चलचित्रबारे अबको समय सबैको एउटै दृष्टिकोण हुनुपर्ने धारणा राख्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप