शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीसहित कांग्रेस नेतासँगको छलफलमा राष्ट्रपतिले दिएको त्यो संकेत

सोमबार, १३ भदौ २०७९, १८ : ४४
सोमबार, १३ भदौ २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो पटक फिर्ता पठाएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने संकेत देखाएकी छिन् । सोमबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेतासँगको छलफलमा राष्ट्रपति भण्डारीले संसदको दुबै सदनबाट पुनः पारित भएर नागरिकता विधेयक आए प्रमाणीकरण हुने संकेत देखाएकी हुन् ।

राष्ट्रपति भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयक हुबहु पुनः पारित गरेर पठाउने गरी प्रक्रिया अगाडि बढेको छ । प्रतिनिधिसभाले हुबहु पारित गरेर राष्ट्रियसभामा पठाएको विधेयकमाथि आज विधायन समितिमा छलफल भएको थियो ।

विधायन समितिले पनि जस्ताको त्यस्तै पारित गरेर राष्ट्रियसभामा पठाउने तयारी गरेको छ । त्यसपछि भदौ १६ गते राष्ट्रियसभाबाट हुबहु विधेयक पारित गराउने सरकारको तयारी छ । यसप्रति राष्ट्रपति भण्डारीले  गुनासो राखेकी पनि अब नागरिकता विधेयक प्रमाणीकरण हुने संकेत देखाएको कांग्रेस नेताहरुको भनाइ छ । ‘मैले नागरिकता विधेयकमा कुरा उठाइसकेपछि दलहरुमा नयाँ शिराबाट छलफल हुन्छ भन्ने मेरो अपेक्षा थियो । त्यो भएन । तर पनि म संविधान अनुसार अगाडि बढ्छु,’ राष्ट्रपतिको भनाइ थियो ।

जवाफमा प्रधानमन्त्री देउवाले पहिलो पटक नागरिकता विधेयक फिर्ता भएकोमा आफ्नो कुनै गुनासो नरहेको बताएका थिए । उनले भने, ‘नागरिकता विधेयक फिर्ता भएकोमा राष्ट्रपतिज्यूसँग हाम्रो केही गुनासो छैन । तपाईंले संविधानले दिएको आफ्नो कुरा गर्नुभयो । हामीले त्यही कुरा संसदबाट अगाडि बढायौं ।’

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने नागरिकता विधेयकमा रडाको मच्चाएको प्रधानमन्त्री देउवाको आरोप थियो । ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीजीले जे अध्यादेश ल्याएको हो मैले पनि विधेयकमा त्यही ल्याएको हो । आफूले त्यही अध्यादेश ल्याउँदा ठीक ?,’ देउवाको प्रश्न थियो, ‘अहिले मैले आउँदै गर्दा के बेठीक भयो ? यत्रो ठूलो रडाको मच्चाउनुपर्ने कुनै कारण थिएन ।’

नागरिकता विधेयक अगाडि बढाउन आफूले सहमतिको कोशिस पनि गरेको भन्दै सहमति नभएपछि विधेयक अगाडि बढाएको प्रधानमन्त्री देउवाले राष्ट्रपतिलाई प्रस्ट पारेका थिए । ‘मैले सहमतिको कोशिस गरेको हुँ । सहमति नभएपछि हिजो जुन विषयमा सहमति भइसकेको थियो । त्यही विषय अगाडि बढाएको हो, जे संविधानमा छ, त्यो मात्र ल्याएको हो,’ प्रधानमन्त्रीको भनाइ थियो ।

नागरिकताका सन्दर्भमा सहमति हुन बाँकी विषय विधेयकमा आउन बाँकी नै रहेको पनि प्रधानमन्त्री देउवाले प्रस्ट पारे । देउवाले आफ्नो धारणा राखिसकेपछि कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपतिले उठाएको कुरा आफूले गम्भीरता पूर्वक लिएको बताएका थिए ।

‘राष्ट्रपतिज्यूले जुन कुरा उठाउनु भएको छ । त्यसलाई हामीले गम्भीर रुपमा लिएका छौं,’ छलफलमा थापाले भने, ‘नयाँ संसद आएपछि एकीकृत नागरिकता विधेयक ल्याउनै पर्छ । त्यो बेलामा यही तमाम विषयको सम्बोधन हुन्छ नै ।’

लैङ्गिक समानताको विषय एकदम महत्वपूर्ण रहेको भन्दै आवश्यकता परे नयाँ संसदमा संविधान नै संशोधन पनि गर्ने थापाको भनाइ छ । ‘वैवाहिक अंगीकृतबारे पनि त्यो बेला छलफल हुन्छ । अहिले राष्ट्रपतिले उठाएका कतिपय कुराहरु किन आएन भने यो विधेयक विषय नै बनेन त्यो । किन कि अहिले संशोधन मात्र आएको हो,’ थापाले भने ।

सरकारले अहिले नागरिकता विधेयकको संशोधन मात्र ल्याएको भन्दै भविष्यमा राष्ट्रपतिले उठाएका विषयको सम्बोधन हुने बताए । ‘सरकारले अहिले म संशोधन गर्छ, बाँकी रहेको विषय भविष्यमा नयाँ विधेयकमा आउछ,’ थापाले भने, ‘त्यसैले राष्ट्रपतिज्यूले आफ्नो कुरा सम्बोधन भएन भन्ने हिसाबले भन्दा पनि हामीले राष्ट्रपतिज्यूको कुरा गम्भीरता पूर्वक लिएका छौं ।’

अहिले अति आवश्यक विषय मात्र विधेयकमा समेटिएको थापाको भनाइ थियो । ‘जन्मसिद्ध नागरिकता दिनका लागि मात्र यो विधेयक आएको हो । नागरिकता नपाएर बिचल्ली भएका केटा–केटीलाई नागरिकता अहिले दिउँ । राष्ट्रपतिज्यूले राखेको कुरालाई ध्यान दिएर भविष्यमा विधेयक आउँछ । यसलाई यसरी लिनुपर्छ,’ महामन्त्री थापाले भनेका थिए ।
त्यसपछि राष्ट्रपति भण्डारीले नागरिकता विधेयकबारे थप केही बोलिनन् ।

राष्ट्रपति भण्डारीले सबै दलसँग संवाद गर्दै

राष्ट्रपति विद्यादेवी भण्डारीले सबै राजनीतिक दलका नेतालाई पालैपालो बोलाइराखेकी छिन् । यसअघि राष्ट्रपतिले लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेतालाई शीतल निवास बोलाएर छलफल गरेकी थिइन् । राष्ट्रपतिले आजै नेकपा एमालेका नेताहरुलाई पनि शीतल निवास बोलाएकी छिन् । त्यसपछि माओवादी, एकीकृत समाजवादी र जसपाका नेतासँग पनि छलफल गर्ने राष्ट्रपतिको तयारी छ ।

उनले कांग्रेस नेताहरुसँग भनिन्, ‘राष्ट्रपतिले राजनीतिक दललाई बोलाउने परम्परा छ । मैले लामो समयसम्म बोलाउन पाएकी थिइनँ । त्यसले सबै राजनीतिक दलका नेताहरुसँग छलफल गर्न खोजेकी हुँ ।’

अग्निपथ र निर्वाचनबारे चासो

छलफलका क्रममा राष्ट्रपतिले भारतीय सरकारको अग्निपथ योजनाबारे पनि चासो राखेकी थिइन् । राष्ट्रपति भण्डारीले भनिन्, ‘यो गम्भीर विषय हो । यसबारे सरकारले सबै राजनीतिक दलसँग छलफल होस् भन्ने मेरो इच्छा छ ।’

भारत सरकारले अग्निपथ’ योजना अन्तर्गत चार वर्षका लागि युवा नियुक्त गर्ने निर्णय गरेपछि त्यसको विरोध भइरहेको छ । 

यस्तै छलफलको सुरुमा राष्ट्रपति भण्डारीले आगामी मंसिर ४ गते हुने आम निर्वाचनको तयारीबारे चासो राखेकी थिइन् । ‘निर्वाचनको तयारी कस्तो हुँदैछ । चुनाव निष्पक्ष होस् । मेरो शुभकामना छ,’ उनले भनेकी थिइन् । सरकारले आगामी मंसिर ४ गते एकै चरणमा प्रदेश र संघको निर्वाचनको मिति घोषणा गरेको छ ।

 प्रधानमन्त्री देउवाले निर्धारित मितिमा निर्वाचन हुने राष्ट्रपतिलाई विश्वास दिलाएका थिए । साथै उनले निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन सरकार प्रतिवद्ध रहेकाे समेत सो क्रममा बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप