शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘वाईसीएल गुन्डागर्दी गर्दैन, उत्पादनमा केन्द्रीत रहन्छ’

मङ्गलबार, १४ भदौ २०७९, १३ : १०
मङ्गलबार, १४ भदौ २०७९

नेकपा माओवादी (केन्द्र) को भातृसंगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)का अध्यक्ष सुवोधराज सेर्पालीले पार्टी र संगठनसँग आस्था राख्ने शुभेच्छुकहरू सोचेजस्तै संगठन बनाएर अघि बढ्ने बताएका छन् । उनले रातोपाटीसँगको कुराकानीमा संगठनलाई गति दिएर नयाँ जीवन प्रदान गरेर अघि बढ्ने बताएका हुन् ।  

आम युवाहरूलाई गोलबन्द गरेर तीन महिने संगठन शुद्धीकरणको सुरुवात गरेको उल्लेख गर्दै अध्यक्ष सेर्पालीले तीन महिनापछिको वाईसीएल भिन्न रूपमा प्रस्तुत हुन सक्ने दाबी पनि गरे । 

केही दिनअघि मात्र पदाधिकारीको टुंगो लगाएको वाईसीएलले ६१ जनाको जम्बो टोलीसहितको टिम खडा गरेको छ । यति ठूलो टिमले कसरी चुस्त काम गर्न सक्छ भन्ने टिप्पणी पनि हुन थालेको छ । यस सन्दर्भमा कुरा गर्दै सेर्पाली भन्छन्, ‘सङ्ख्याले काम गर्ने नगर्ने भन्ने कुरै हुँदैन । पदाधिकारी सङ्ख्या आवश्यकताले तय गर्ने गर्दछ,’ उनले थपे, ‘हामीले सानो सङ्ख्याको टिम तयार गर्दै गर्दा धेरै अग्रज साथीहरू छुट्ने भए । त्यसैले ६१ जनाको टिम तयार गर्नु प¥यो । हाम्रा योजना यही टिमभित्रबाट पूरा गर्छौँ।’ 

अध्यक्ष सेर्पालीले राजनीतिसँग वितृष्णा राख्ने युवाहरूलाई राजनीतिप्रति आशावादी बनाउनु वाईसीएलको पहिलो दायित्व रहने बताउँदै राजनीति भित्रको गलत प्रवृत्तिलाई चिर्न दक्ष युवाहरू संगठि गर्न आफू लागि पर्ने पनि बताए । उनले भने, ‘नेकपा माओवादी केन्द्रले २१औं शताब्दीमा नेपाली समाजवादको बाटो नामक् ऐतिहासिक कार्यदिशा पारित गरेको हो । त्यो कार्यान्वयनका निम्ति वाईसीएलको तर्फबाट, माओवादी आन्दोलनका युवा पंक्तिका तर्फबाट गर्ने भनेकै पार्टीको निर्णय हुबहु कार्यान्वयन गर्ने हो, जनतासम्म पु¥याउने र लोकप्रिय कार्यक्रममार्फत् पार्टीको जनमत वृद्धि गर्ने हाम्रो पहिलो प्राथमिकता हुन्छ ।’, 

सेर्पालीले थपे,‘सँगै उक्त लक्ष्य हासिल गर्न हामीलाई संगठन चाहिन्छ, युवाहरूको ठूलो उर्जाशील जमात चाहिन्छ । त्यही जमातलाई हामी संगठनभित्र आबद्ध गर्छौ । त्यसका लागि डिजिटल प्रविधिमार्फत् सदस्यता नवीकरण र वितरण गर्नेदेखि संगठनमा आबद्ध भएपछि धेरै काम गर्न र सिक्न पाइन्छ भन्ने कुराको पनि हामी अनुभूति गराउँछौं।’ 

अध्यक्ष सेर्पालीले वाईसीएल अब भिविन्न संयन्त्रबाट काममा सक्रिय रहने पनि बताएका छन् । विगतमा वाईसीएल सामाजिक आर्थिक रूपान्तरणका लागि काम गर्दै आएको र त्यसको निरन्तरताका लागि, सामाजिक रूपान्तरण, सामाजिक जागरण र सांस्कृतिक रुपान्तरणको अभियानमा समेत नेतृत्वदायी रूपमा अघि बढ्ने बताए । 

वाईसीएल काँग्रेससम्बद्ध तरुण दल र एमालेसम्बद्ध युवासंघ नेपालभन्दा भिन्न भएको पनि दावी गरे । वाईसीएलले नेपालको वर्तमान व्यवस्था ल्याउने नेतृत्वदायी भूमिका निर्माण गरेको र अन्य दलका संगठनले त्यो मात्रामा संघर्ष नगरेको उनको दाबी  छ । 

भविष्यमा पनि वाईसीएल जनताको सेवामा, नगारिकमाथि उत्तरदायी बनेर हिजोभन्दा राम्रो छवि बनाएर अघि बढ्ने अध्यक्ष सेर्पालीको योजना छ । अबका दिनमा वाईसीएल राज्यले दिने सेवामा मात्र भर नपरेर जहाँ समस्या छन्, त्यहाँ आफ्नै योजनामा समस्या निराकरणका लागि प्रतिबद्ध रहने पनि उनको भनाइ छ । 

वाईसीएलको छवि गुन्डागर्दी गर्ने, चन्दा असुल्ने, ठेक्कापट्टा लगायतका काममा मात्र छ भन्ने बुझाइलाई पनि आफूले चिरेर अघि बढ्ने उनको भनाइ छ ।  कोही कतै, कसैले त्रुटी गरेपनि संगठनले त्यसलाई स्वीकारेर, त्रुटिहरू सच्याएर नै अघि बढेकाले वाईसीएलको छविलाई नकारात्मक ढंगबाट व्याख्या गर्नु गलत भएको उनको तर्क छ । 

उनी भन्छन्, ‘वाईसीएलको पहिचान भनेको गुन्डागर्दी गर्नेभन्दा पनि नियन्त्रण गर्ने हो, ठेक्का पट्टा लिएर कार्यसम्पादनमा गलत गरेको छ भने त्यसलाई नियन्त्रण गर्ने भने वाईसीएल हो।’

अब वाईसीएल समाज र अर्थतन्त्रसँग जोडिएर अघि बढ्न पनि तयार भएको अध्यक्ष सेर्पालीको भनाइ छ । भन्छन्, ‘श्रम र रोजगारीमा जोड्न एक पालिका एक श्रम सहकारीको अवधारणामा वाईसीएल अघि बढ्छ ।’

नेकपा माओवादी केन्द्रबाट परिचालित सहायक संगठनमात्र नभएर वाईसीएललाई अब, स्वचालिन युवा संघठनका रूपमा, आर्थिक समृद्धिका लागि उत्पादनमा केन्द्रीत गराउनेमा पनि आफ्नो पूर्ण ध्यान रहने सेर्पाली बताउँछन् । उनका अनुसार, वाईसीएलको नयाँ कार्यसमितिले राष्ट्रियताको मुद्दामा सशक्त भूमिका निर्वाह गर्ने योजना पनि बनाएको छ । 

मिचिएका सीमा क्षेत्रहरू लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायत विवादित क्षेत्रमा पुगेर समस्या समाधानका लागि पहल गर्नेसम्मको योजना वाईसीएलले अघि सारेका बताउँदै उनले आगामी मङ्सिर ४ गते हुन लागेको संघ र प्रदेशको निर्वाचनमा गठबन्धनका लागि सशक्त भूमिका निर्वाहका लागि वाईसीएल तयार रहेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप