बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश : प्रदेशसभा छाडेर संघमा जान इच्छुक यी नेता

मङ्गलबार, १४ भदौ २०७९, १३ : २१
मङ्गलबार, १४ भदौ २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दलहरूबाट प्रतिनिधिसभातर्फ र प्रदेशसभातर्फ को को उम्मेदवार बन्ने भन्ने चर्चा सुरु भएको छ । यस क्रममा प्रदेशसभामा रहेका केहीले प्रतिनिधिसभामा जाने इच्छा राखेका छन् ।

लुम्बिनी प्रदेशसभाका ८७ सिटमध्ये हाल ८० सदस्य कायम छन् । तीमध्ये आगामी निर्वाचनमा आधा दर्जनको हाराहारीमा प्रदेश छोडेर संघको निर्वाचन लड्ने तयारीमा जुटेका हुन् ।

एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले संघमा जाने घोषणा गरेका छन् भने माओवादीबाट हाल मुख्यमन्त्री कुलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्ती, आन्तरिक मामिला मन्त्री तिलकराम शर्माले संघमा जाने मनसाय बनाएका छन् ।

यस्तै, नेपाली कांग्रेसबाट हाल प्रदेशसभामा रहेका कसैले पनि संघमा जाने इच्छा नदेखाएको नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक फखरुद्दिन खानले रातोपाटीलाई बताए ।

एमालेबाट शंकर पोखरेलसहित ४ जना संघमा जान इच्छुक

नेकपा एमालेबाट महासचिव शंकर पोखरेल, सार्वजनिक लेखा समितिका सभापति विष्णु पन्थी, पाल्पाका नारायण आचार्य, रुपन्देहीका भोजप्रसाद श्रेष्ठले संघमा जाने इच्छा देखाएका छन् । त्यसमध्ये शंकर पोखरेलले प्रतिनिधिसभातर्फ उम्मेदवारी पाउने निश्चित छ । उनले दाङ जिल्लाको क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने भएका छन् ।

एमालेबाट प्रदेशसभा छाडेर प्रतिनिधिसभातर्फ जान इच्छुक अन्य आकांक्षीहरुलाई भने प्रतिनिधिसभाको उम्मेदवारी पाउन सकस देखिन्छ । उनीहरूले दाबी गरेको क्षेत्रमा केन्द्रीय तहकै अन्य नेता यसअघिदेखि नै सक्रिय रहेका कारण उम्मेदवारीका लागि त्यति सहज नदेखिएको हो ।

एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले संघमा जाने चाहना राखे पनि पार्टीका केन्द्रीय नेताहरू सोही क्षेत्रमा भएका कारण धेरैजसोले प्रदेशमै खुम्चिएर बस्नु पर्ने अवस्था आउनसक्ने बताए ।

उनले प्रदेशसभातर्फ प्रत्यक्ष निर्वाचनमा जितेका सांसदहरूले सोही क्षेत्रमा दोहोरिन चाहेमा पार्टीले मुख्य प्राथमिकता दिने बताए ।

माओवादीबाट प्रतिनिधिसभातर्फ जान इच्छुक प्रदेशसभा सदस्यहरू

लुम्बिनी  प्रदेशमा माओवादीबाट संघतिर जान खोज्नेहरु अन्य दलको तुलनामा धेरै छन् । २०७४ सालको निर्वाचनमा प्रदेशसभातर्फ १४ प्रत्यक्ष सहित २१ सिट जितेको माओवादीमा अहिले १९ जना सांसद छन् । तीमध्ये ४ जनाले सकेसम्म केन्द्रमा जान खोजेका छन् ।

मुख्यमन्त्री कुलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्ती सकेसम्म केन्द्रमा जाने मनसायमा छन् । केसी र घर्ती मुख्यमन्त्री पाउने अवस्थामा मात्र प्रदेशमा बस्ने, अन्यथा प्रतिनिधिसभा वा राष्ट्रियसभामा जान इच्छुक रहेको उनीहरू निकट कार्यकर्ताको भनाइ छ ।

यस्तै प्युठानबाट जितेका कृष्णध्वज खड्का, बर्दियाका तिलकराम शर्मा पनि सकेसम्म केन्द्रमा जान खोजेका छन् । खड्काले हाल लुम्बिनी प्रदेशको आर्थिक मामिला मन्त्रालय सम्हालेका छन् भने शर्माले आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालेका छन् ।

माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले प्रदेशमा प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत जितेकाहरूलाई फेरि पनि प्रदेशसभामा पहिलो नम्बरमा राखेर टिकट वितरण गर्ने बताए । संघ वा प्रदेशसभातर्फ जता टिकट पाए पनि उनीहरूलाई जिताउने गरी पार्टी लागिपर्ने उनको भनाइ छ ।

नेपाली कांग्रेसमा प्रत्यक्षतर्फ जितेका सबै दोहोरिने तयारीमा

लुम्बिनी प्रदेशमा ७ प्रत्यक्ष र १२ समानुपातिक गरी नेपाली कांग्रेसका १९ सांसद छन् । समानुपातिकतर्फका सांसदहरु अब समानुपातिकमै नदोहोरिने भएपछि तीमध्ये कतिपयले प्रत्यक्षतर्फ उम्मेदवारी पाउने कसरत गरिरहेका छन् ।

प्रत्यक्षतर्फ जितेका ७ जना सांसद फेरि प्रदेशसभामा दोहोरिने तयारीमा छन् । कपिलवस्तु क्षेत्र ३ (ख) बाट निर्वाचित वीरेन्द्र कनौडियाले संघमा जाने इच्छा राखे पनि प्रतिनिधिसभातर्फ उम्मेदवारी नपाउने भएपछि प्रदेशमै बस्न बाध्य भएका छन् । उनी नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेतासमेत हुन् । उनी प्रदेशमै बसेर मुख्यमन्त्री दाबी गर्ने तयारीमा छन् ।

दाङ–३ को (क) बाट निर्वाचित डिल्ली बहादुर चौधरी हाल लुम्बिनी प्रदेशको सहरी विकास तथा पर्यटन मन्त्री छन् । उनी पनि सोही क्षेत्रबाट दोहोरिएर आउने तयारीमा छन् । बाँके–२ को (ख) बाट निर्वाचित सुरेन्द्र हमाल हाल वन तथा वातावरण मन्त्री छन् । उनी पनि सोही क्षेत्रबाट प्रदेशसभामा दोहोरिने तयारीमा छन् । यस्तै, शिक्षामन्त्री बसीउद्दीन खाँ रुपन्देही क्षेत्र ४ को (ख) बाट फेरि चुनावी मैदानमा उत्रने तयारीमा छन् ।

रुपन्देही ४ (क) बाट निर्वाचित अष्टभुजा पाठक, नवलपरासी २ (ख) बाट निर्वाचित वैजनाथ कलावर पनि सोही क्षेत्रबाट फेरि प्रतिस्पर्धामा उत्रने तयारीमा छन् ।

प्रदेशसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दीन खानले नेपाली कांग्रेसका प्रत्यक्षतर्फ निर्वाचित सबै सांसद आसन्न निर्वाचनमा उम्मेदवार बन्ने बताए । उनले भने, ‘हामीमध्ये केन्द्रमा जाने सम्भावना कसैको छैन, त्यसले सबैले प्रदेशसभामै उम्मेदवारी दिने तयारीमा जुटेका छौँ ।’

अन्य पार्टीको अवस्था

नेपाली कांग्रेसजस्तै अन्य साना पार्टीबाट पनि प्रदेशसभा छाडेर संघको चुनावी मैदानमा जाने कोही देखिँदैनन् ।

चार प्रदेशसभा सदस्य रहेको जसपामा कपिलवस्तु क्षेत्र १ (ख) बाट निर्वाचित सहसराम यादव भने फेरि उम्मेदवार बन्ने तयारीमा छन् । जसपाका अन्य ३ जना समानुपातिक सांसद भने प्रत्यक्षतर्फ कहाँबाट उम्मेदवार बन्छन् भन्ने अहिलेसम्म टुङ्गो लागेको छैन ।

यादवले गठबन्धन गरेर जाने भएकाले आफू प्रदेशमा बस्ने बताए । अन्य समानुपातिक सांसदको विषयमा पार्टीले निर्णय गर्ने उनको भनाइ छ ।

यस्तै लुम्बिनी प्रदेशमा एकीकृत समाजवादी पार्टीको तर्फबाट एकमात्र सांसद रहेकी रमा घर्ती अहिले प्रदेश सरकारमा छिन् । उनी समानुपातिकतर्फबाट उम्मेदवार बन्ने चर्चा छ ।

यस्तै स्वतन्त्र सांसद नवलपरासी– (ख) का अजय बहादुर शाहीले अझैसम्म उम्मेदवार बन्ने या नबन्नेबारे खुलाएका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप