मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्रमाको पूजा गर्दै मिथिला क्षेत्रमा चौठचन्द्र पर्व सम्पन्न

मङ्गलबार, १४ भदौ २०७९, २१ : ०४
मङ्गलबार, १४ भदौ २०७९

मिथिला क्षेत्रमा मंगलबार साँझ चन्द्रमाको श्रद्धा र विधिपूर्वक पूजा गर्दै चौरचन (चौठचन्द्र) पर्व सकिएको छ । भदौ शुक्लपक्षको चतुर्थीका दिन खासगरी मिथिला क्षेत्रमा मधेसी र थारु समुदायले विशेष महत्वका साथ मनाउने उक्त पर्व मंगलबार आज साँझ विधिपूर्वक पूजा गर्दै सकिएको हो ।

यसवर्ष तिथि फरक भए पनि हरितालिका तीज र चौठचन्द्र पर्व आज एकै दिन परेको छ । दिनभरि उपवास भएका परिवारका महिला सदस्यहरूले साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ । चौठचन्द्र पर्वमा सूर्यास्तपछि गाईको गोबरले आँगन लिपपोत गरी बनाइएको चतुष्कोण यज्ञस्थलमा दीप प्रज्वलन गर्दै उपवास बसेको व्रतालुले फलफूल र मिष्ठान्नको परिकारलाई प्रसादका रूपमा चन्द्रमालाई देखाएर पूजा गर्ने परम्परा छ ।                                                                                                                                                            

चन्द्रमाको पूजा हुने यो पर्वमा नयाँ माटोको भाँडामा जमाइएको दही, मिठाइ, नरिवल, केरा, अम्बा, पुरीलगायतका सामग्री प्रसादका रूपमा राखेर चन्द्रमालाई पूजा गर्ने गरिन्छ । पूजा सकिएपछि पूजाका लागि आँगनमा बनाइएको चतुष्कोण यज्ञस्थलमै बसेर घरका पुरुष सदस्यहरुले प्रसाद ग्रहण गर्ने परम्परा रहेको मिथिला संस्कृतिका जानकार पण्डित रामकुमार शास्त्रीले बताए । 

तीज पर्व सम्पन्न भएसँगै सुरु हुने यस पर्वलाई मिथिलामा निकै श्रद्धा र आस्थाका रूपमा लिइन्छ । कृष्ण जन्माष्टमीको १२ दिनपछि यो पर्व मनाइन्छ । छठपछिको दोस्रो ठूलो पर्वका रूपमा मनाइने यो पर्वलाई चौरचन, चौथीचान, चौरचण्ठ र चौथीचन्द्र पनि भन्ने गरिन्छ । 

यस पर्वको माध्यमबाट मैथिल कला संस्कृतिको समेत उजागर हुन्छ । खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पीठोको कलात्मक अरिपन बनाई त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ । 

चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्टान्न परिकार खाजा ९पिरुकिया० र खीर, माटोको छ्याँचीमा जमाइएको दही, पाकेको केराको घरीसहित अन्य फलफूल र वस्त्र आभूषण चढाइने परम्परा छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप