शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याटल ग्राउण्ड चितवन–१ : स्थानीय तहको सफलता दोहोर्‍याउला गठबन्धनले ?

बुधबार, १५ भदौ २०७९, १२ : ४३
बुधबार, १५ भदौ २०७९

प्रतिनिधिसभातर्फ चितवन क्षेत्र नम्बर १ नेकपा एमालेको गढ मानिन्छ, जहाँ २०४८ साल यता यो पाटी एक पटकमात्र पराजित भएको छ । तर, यस पटक एमालेका लागि यो क्षेत्र चुनौतीपूर्ण बनेको छ । किनकि, एकातिर सत्तारुढ गठबन्धनबीच तालमेल हुँदैछ भने अर्कोतिर एमाले आफै विभाजित भइसकेको छ । यो परिस्थितिमा एमालेलाई आफ्नो विरासत कसरी जोगाउँछ, त्यो हेर्न बाँकी छ ।

२०४८ को प्रतिनिधिसभा निर्वाचनमा चितवन–१ बाट एमालेका जागृत प्रसाद भेटवाल निर्वाचित भएका थिए । २०५१ को निर्वाचनमा पनि भेटवाल नै दोहोरिए । २०५६ मा भने यो क्षेत्रबाट नेपाली कांग्रेसकी सावित्री बोगटी निर्वाचित भएन ।

माओवादी केन्द्रको दबदबाका बीच २०६४ सालको संविधानसभा निर्वाचनमा पनि यो क्षेत्रबाट एमाले नै विजयी भयो । सो निर्वाचनमा एमालेका लालमणि चौधरी विजयी भए । दोस्रो संविधानसभा निर्वाचन र २०७४ को संसदीय निर्वाचनमा सो क्षेत्रबाट एमालेका सुरेन्द्र पाण्डे निर्वाचित भए ।

गठबन्धनको प्रभाव र एमाले विभाजनको असर

एमाले विभाजनपछि सो क्षेत्रका एक प्रदेशसभा सदस्यसहित केही स्थानीय नेता नेकपा एकीकृत समाजवादीमा गएका छन् । जसले गर्दा एमालेको संगठनात्मक अवस्थामा केही क्षति भएको छ ।

अर्कोतिर गठबन्धन घटकबीच चुनावी तालमेल हुँदा एमालेलाई थप असजिलो देखिन्छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि त्यसको केही उदाहरण नदेखिएको होइन । २०६४ को संविधानसभा निर्वाचनमा निर्वाचित एमाले सभासद् लालमणि चौधरी २०७४ को स्थानीय तह निर्वाचनमा खैरहनी नगरपालिकाको प्रमुखमा विजयी भएका थिए । तर, गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भने उनी पराजित भए । त्यसैले पार्टी विभाजन र गठबन्धनको प्रभावका सामु एमालेलाई यस क्षेत्रमा चुनौती बढेको प्रस्ट हुन्छ ।

गठबन्धनबाट को बन्ला उम्मेदवार ?

आसन्न निर्वाचनमा एमालेले चितवन–१ बाट सुरेन्द्र पाण्डेलाई नै उम्मेदवार बनाउने लगभग निश्चित देखिन्छ । तर, यसअघिको निर्वाचनमा अवसर नपाएका जेएन थपलिया पनि दाबेदारका रुपमा देखिएका छन् । थपलिया एमाले चितवनको पूर्व अध्यक्ष हुन् भने उनी बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारमा पौडेलको मुख्य राजनीतिक सल्लाहकार थिए ।

चितवन–१ मा माओवादी केन्द्रको उपस्थिति कमजोर देखिन्छ । त्यसैले पनि यो क्षेत्रबाट माओवादीले जित्न सकेको छैन । २०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदासमेत माओवादीले आफ्नो जनाधार कमजोर रहेकै कारण प्रतिनिधिसभा र प्रदेशसभामा यो क्षेत्रबाट उम्मेदवारी दिएको थिएन । वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभाको दुवै क्षेत्रमा एमालेको उम्मेदवारी थियो ।

तर, आसन्न निर्वाचनमा भने माओवादीले पनि यस क्षेत्रबाट उम्मेदवारीका लागि दाबी गर्ने माओवादी केन्द्र चितवनका सचिव द्रोण शिवाकोटी बताउँछन् । उनका अनुसार चितवन–१ माओवादी केन्द्रको कमजोर क्षेत्र भए पनि निर्णायक मत रहेकाले सबै पदमा दाबी रहने छ ।

माओवादी केन्द्रले सो क्षेत्रबाट पुरानै उम्मेदवारलाई उठाउन सक्ने उनले बताए । यद्यपि हालसम्म सो विषयमा छलफल तथा कुनै निर्णय नभएको उनले बताए ।

यता नेकपा एकीकृत समाजवादीले चितवन–१ मा आफ्नो दाबी नगर्ने बुझिएको छ । चितवन–१ को प्रदेशतर्फ मात्र एकीकृत समाजवादीले दाबी गर्ने बताइएको छ । चितवन–१ (ख)बाट निर्वाचित सांसद कृष्णप्रसाद शर्मा खनालले फेरि सोही क्षेत्रबाट उम्मेदवारी दिने नेकपा एकीकृत समाजवादीका नेता बताउँछन् ।

चितवन–१ बाट उम्मेदवारी दिन कांग्रेसमा भने आकांक्षीको लर्को नै लागेको छ । उम्मेदवारीका लागि पार्टीमा ६ जनाको आवेदन परेको कांग्रेसले जनाएको छ ।

चितवन–१ बाट चुनाव लड्न राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं अर्थशास्त्री स्वर्णिम वाग्ले, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थराज खनियाँ, नेता राजेन्द्रप्रसाद बुर्लाकोटी र भीमप्रसाद थपलियाको आवेदन परेको छ ।

बुर्लाकोटी यस अघि सो क्षेत्रबाट दुई पटक पराजित भइसकेका छन् । आवेदन परेका सबै नामलाई कांग्रेस चितवन–१ क्षेत्रीय समितिले जिल्ला समितिमा सिफारिस गरेको छ । जिल्ला समितिले आफ्नो राय सहित प्रदेश समिति र प्रदेशले आफ्नो राय समेत समावेश गरेर संघमा सिफारिस गर्नेछ । गठबन्धनबाट कसले उम्मेदवारी पाउँछ भन्ने विषयले समेत आसन्न निर्वाचनमा एमालेलाई कति चुनौती बढ्नेछ भन्ने निर्धारण गर्ने देखिन्छ ।

यस्तो छ विगतको निर्वाचन परिणाम

२०४८ सालको आम निर्वाचनमा चितवन–१ बाट एमालेका जागृत प्रसाद भेटवाल २५ हजार ७८४ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका शेषनाथ अधिकारीले १६ हजार ४५९ मत पाएका थिए ।

२०५१ सालमा भएको निर्वाचनमा पनि एमालेका भेटवाल नै विजयी भए । त्यतिबेला उनले १५ हजार ९२४ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी कांग्रेसका चुडामणि चौधरीले १२ हजार २३ र राप्रपाका रामशरण पाठकले ६ हजार ३३६ मत ल्याएका थिए ।

२०५६ को निर्वाचनमा भने चितवन–१ बाट कांग्रेसकी नेतृ सावित्री बोगटी १९ हजार ८७ मतसहित निर्वाचित हुँदा एमालेका भेटवालले १८ हजार १७६ मत पाएका थिए । सो निर्वाचनमा राप्रपाका शान्त कुमार चौधरीले ५ हजार २०५ मत पाए भने मालेका कृष्णराज पन्तले १ हजार १८४ मत पाएका थिए ।

त्यसको ८ वर्षपछि राजनीतिक परिवर्तनसहित २०६४ मा संविधानसभा निर्वाचन भयो । सो निर्वाचनमा सर्वाधिक सिट जितेर माओवादी ठुलो पार्टी बन्यो । तर, माओवादी दबदबाका बीच पनि चितवन–१ मा भने एमालेका लालमणि चौधरी विजयी भए । चौधरीले १७ हजार ९७१ मत ल्याउँदा माओवादीकी शोभा कट्टेलले १४ हजार २४९ मत ल्याएकी थिइन् भने कांग्रेसकी सावित्री बोगटीले ८ हजार ६८८ मत प्राप्त गरिन् ।

दोस्रो संविधानसभा निर्वाचनमा चितवन–१ बाट एमालेका सुरेन्द्र प्रसाद पाण्डे निर्वाचित भए । उनले ले १८ हजार ७६० मत ल्याएर चुनाव जित्दा कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले १३ हजार ७४५ मत पाएका थिए । माओवादीका यमबहादुर परियारले भने ४ हजार ७१५ मतमात्र पाए ।

२०७४ मा भएको संसदीय निर्वाचनमा यो क्षेत्रबाट वाम गठबन्धनले एमालेका सुरेन्द्र पाण्डेलाई नै उम्मेदवार बनायो । पाण्डे ५१ हजार ८० मतसहित विजयी हुँदा कांग्रेसका बुर्लाकोटी ३५ हजार ३६० मत पाएर पराजित भए ।

चितवन–१ को प्रदेशसभा तर्फको २ वटा सिटमा पनि वाम गठबन्धनकै उम्मेदवार विजयी भए । चितवन–१ (क)बाट एमालेका दावादोर्जे लामाले चुनाव जित्दा कांग्रेसका धनबहादुर गुरुङ पराजित भए । एमालेका लामाले २३ हजार २३ मत ल्याउँदा कांग्रेसका गुरुङले १५ हजार ९९४ मत पाए । चितवन–१ (ख)मा पनि एमालेका कृष्णप्रसाद शर्मा खनाल २७ हजार २३३ मतसहित निर्वाचित हुँदा कांग्रेसका उत्तमप्रसाद आचार्यले १८ हजार ५११ मत पाए । खनाल अहिले एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा आबद्ध भएका छन् ।

यस्तो छ स्थानीय तहको मत परिणाम

चितवन–१ मा ३ वटा स्थानीय तह छन् । सो क्षेत्रमा रत्ननगर नगरपालिका, राप्ती नगरपालिका र खैरहनी नगरपालिका पर्दछन् । २०७४ को स्थानीय तह निर्वाचनमा तीन वटै स्थानीय तहमा एमालेले जितेको थियो । तर २०७९ को स्थानीय तहको निर्वाचनमा भने पासा पल्टियो ।

२०७९ को स्थानीय तह निर्वाचनमा तीन वटै स्थानीय तहमा एमालेले पराजय भोग्नु पर्‍यो ।

खैरहनी नगरपालिकाको मेयरमा एमालेका लालमणि चौधरीलाई हराउँदै कांग्रेसका शशी कुमार खनियाले चुनाव जिते भने उपप्रमुखमा गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी लक्ष्मी ढकाललाई पराजित गर्दै एमालेकी कविता उप्रेती विजयी भइन् ।

नगर प्रमुख पदमा कांग्रेसका खनियाले १४ हजार ५४५ मत पाउँदा एमालेका चौधरीले १३ हजार ६९५ मत पाए भने उपप्रमुखमा एमालेकी उप्रेतीले १४ हजार १६४ मत पाउँदा माओवादी केन्द्रकी ढकालले ९ हजार ६७० मत पाइन् ।

यता राप्ती नगरपालिकाको प्रमुखमा गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवारले चुनाव जिते । नगरप्रमुख पदमा एमालेका गोविन्द्र प्रसाद कँडेलले १२ हजार ५१ मत ल्याउँदा एकीकृत समाजवादीका शमशेर लामाले १२ हजार ५२४ मत ल्याएर विजयी भए ।

उपप्रमुख पदमा एमालेकी मेनुका पाठकले १२ हजार ४४८ मत पाउँदा कांग्रेसका देवेन्द्र लामाले १२ हजार ६८२ मतसहित जित हासिल गरे ।

रत्ननगर नगरपालिकाको मेयर पदमा कांग्रेसका प्रलाद सापकोटाले २० हजार ७९६ मत पाएर चुनाव जित्दा एमालेका विमला देवी दवाडीले १२ हजार ७२८ मत पाइन् । उपमेयर पदमा भने एमालेका यादव प्रसाद पाठकले १३ हजार ५१४ मत ल्याएर जित हासिल गर्दा एकीकृत समाजवादीका बद्रीनाथ घिमिरेले १२ हजार ३५४ मत पाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप