बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कांग्रेसको निष्कर्ष : दुई/चार सिट तलमाथि गराएर भए पनि गठबन्धन जोगाउने

गठबन्धन नटुट्ने गरी वर्कआउट गर्न देउवाको निर्देशन
बुधबार, १५ भदौ २०७९, २१ : ११
बुधबार, १५ भदौ २०७९

नेपाली काँग्रेसले सिट बाँडफाँट मिलाउन सत्ता गठबन्धनका पाँचै दल लचक हुनुपर्ने निष्कर्ष निकालेको छ । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस शीर्ष नेताको बैठकले गठबन्धन जोगाएर जानुको विकल्प नभएको भन्दै सिट बाँडफाँटमा सबै दल लचक हुनुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकमा गठबन्धनको सिट बाँडफाँट कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला, सदस्यद्वय गगन थापा र ज्ञानेन्द्र कार्कीले अहिलेसम्म छलफलबारे बिफ्रिङ गरेका थिए । कार्यदलका रहेका सिटौला, थापा र कार्कीले पाँच  दलको दाबी र मोडालिटीको प्रस्ताव शीर्ष नेताको बैठकमा प्रस्तुत गरेका थिए ।

‘माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबाट धेरै दाबी आएको छ ।  अहिलेसम्म कांग्रेसले सय राख्ने कुरामा अडान छ । कतिसम्म कम्प्रमाइज गर्दा के हुन्छ ?,’ कार्यदलमा रहेका नेताहरूले राय मागेका थिए ।

माओवादी, एकीकृत समाजवादी र जसपाको दाबी धेरै सिट बाँडफाँट मिल्न नसक्ने खालको नभएको कार्यदलका संयोजक सिटौलाले सुनाएका थिए । उनले भने, ‘अहिलेसम्म सबैले आ—आफ्नो दाबी राखेका छौँ । तर टुङ्ग्याउन नसकिने खालको छैन । छलफल गर्दै जाँदा केही दिनमा टुंगिन्छ ।’ त्यसपछि नेताहरूले सिट बाँडफाँटका सन्दर्भमा सुझाव दिएका थिए । नेताहरूले भदौ २० गतेभित्र सिट बाँडफाँट टुङ्ग्याउन कार्यदलमा रहेका नेताहरूलाई सुझाए थिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि गठबन्धनका शीर्ष नेतासँग आफ्नो पनि कुरा भइरहेको भन्दै सिट बाँडफाँटमा सहमति गर्न गाह्रो नहुने बताए । उनले भने, ‘बाहिर आएजस्तो त्यस्तो अप्ठ्यारो छैन । कुरा मिल्छ । हाम्रो अडानमा केही तलमाथि हुनसक्छ । धेरै डराउनुपर्ने परिस्थिति छैन ।’ यस्तै नेता शेखर कोइरालाले पनि गठबन्धनभित्र सिट बाँडफाँट सकस नहुने बताए ।

उनले भने, ‘गठबन्धनमा रहेका पार्टीका नेताहरूसँग मेरो पनि छलफल भइरहेको छ । गठबन्धन गरेर जाने केन्द्रीय समिति बैठकको निर्णय  गरिसक्यो । अब गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय रहेन ।’ 

तर कांग्रेसले जित्ने सिट अर्को दललाई दिँदा गठबन्धनलाई नै क्षति हुने उनको भनाइ थियो । ‘कांग्रेसले जित्ने सिट अर्को दललाई दिँदा कांग्रेसलाई मात्रै होइन, गठबन्धनलाई नै क्षति हुने कुरा ध्यान रहोस्,’ उनले भने ।

गठबन्धनभित्र भाग पुर्‍याउने भन्दा पनि चुनाव जित्ने कुरालाई ध्यानमा राखेर सिट बाँडफाँट गर्न कोइरालाको सुझाव थियो ।

यस्तै सहमहामन्त्री महेन्द्र राय यादवले २/४ वटा सिट लतमाथि हुने कुराले गठबन्धन टुट्न नहुने धारणा राखेका थिए । उनले भने, ‘२/४ वटा सिट लतमाथि हुने कुराले गठबन्धन टुट्न हुँदैन । कांग्रेसको २/४ एउटा सिट तलमाथि हुन सक्छ । गठबन्धनमा रहेका अन्य पार्टीले पनि २/४ सिट तलमाथि भएर लिनुपर्छ ।’ 

गठबन्धनमा जित्नेलाई प्राथमिकतामा राखेर सिट बाँडफाँट हुनुपर्ने उनले बताए । यस्तै मधेसमा कांग्रेसलाई ५० प्रतिशत सिट चाहिने यादवको भनाइ थियो । प्रदेश र संघ गरी सबै निर्वाचन क्षेत्रमा कांग्रेस  र माओवादीका उम्मेदवार हुँदा मत ट्रान्सफर गर्न सजिलो हुने यादवले बताए ।

 देउवाको निर्देशन : गठबन्धन नटुट्ने गरी वर्कआउट गर्नु

सभापति शेरबहादुर देउवाले सिट बाँडफाँटमा गठबन्धनभित्र सबै पाटक लचक हुनुपर्ने बताए । देउवाले भने, ‘सबै मिलेर जाने हो । आगामी सरकार पनि गठबन्धनकै हुन्छ ।’

यस्तै सत्ता गठबन्धनलाई असर पर्ने गरी सार्वजनिक मन्तव्य नदिन नेताहरूलाई देउवाको निर्देशन थियो । ‘गठबन्धनको खिलाफमा कसैले नबोल्नू । गठबन्धन व्यक्तिगत निर्णय होइन, यो केन्द्रीय समिति बैठकको निर्णय हो । त्यसकारण सबैको एक स्वर हुनुपर्‍यो  ।’

देउवाले सिटौला, थापा र कार्कीलाई गठबन्धन नटुट्ने गरी वर्कआउट गर्न निर्देशन दिए । गठबन्धनमा रहेका सबैलाई सम्मान हुने गरी सिट मिलाउन देउवाले भनेका छन् । 

लोसापाबारे निधिको चासो

नेता विमलेन्द्र निधिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई गठबन्धनमा सामेल गराउन आजको छलफलमा पनि प्रस्ताव राखेका थिए । लोसपालाई गठबन्धनमा मेट्ने विषयमा आफू बाधक नहुने निधिले प्रस्ट पारे ।

‘लोसपालाई गठबन्धनमा ल्याउन म बाधक हो भने धनुषा ३ छोड्न तयार छु । लोसपा मेरै कारणले गठबन्धनमा नआउने स्थिति नहोस्  भन्ने म चाहन्छु,’ निधिले भने ।

धनुषा ३ लोसपालाई छोडेर आफू समानुपातिक बस्न तयार भएको उनको भनाइ थियो । बैठकमा नेता शेखर कोइरालाले निधिको प्रस्तावलाई समर्थन गरेका थिए । यस्तै सहमहामन्त्री यादवले पनि लोसपा गठबन्धनमा आउँदा राम्रै हुने बताए । 

लोसपालाई गठबन्धनमा ल्याउन इच्छुक रहेको भन्दै सभापति देउवाले लोसपाको नेताहरूसँग संवाद भइरहेको बताएका थिए ।

अर्जुननरसिंह केसीले ६० प्रतिशतभन्दा तल तालमेल नगर्न सुझाव दिएका थिए । उनले भने, ‘तालमेलमा कांग्रेसले संघ र प्रदेशमा ६० प्रतिशत लिने गरी सिट बाँडफाँट गरिनुपर्छ ।’

पाण्डेलाई देउवाको जवाफ

कांग्रेसले वर्तमान समानुपातिक सांसदलाई नदोहोर्‍याउने नीति लिएको छ । सोही अनुसार उम्मेदवार सिफारिस गर्न महामन्त्री गगन थापाले मातहतका निकायलाई परिपत्र गरेका छन् । सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले उक्त परिपत्रबारे चासो राखेकी थिइन् ।

अहिले समानुपातिक रहेका धेरै नेताहरूको व्यवस्थापन कसरी हुन्छ भन्ने उनको प्रश्न थियो । यता सहमहामन्त्री बद्री पाण्डेले प्रत्यक्षतर्फ चुनाव लड्नेका हकमा पनि कुनै मापदण्ड बनाउनुपर्ने तर्क राखेका थिए ।

उनले भने, ‘हामीले समानुपातिक सांसद एक पटक भन्दा बढी नदोहोर्‍याउने भन्यौँ । अब प्रत्यक्षमा पनि कति पल्ट त ? दुई पटक, तीन पटक वा चार पटक भन्नुपर्छ ? यसमा पनि हामीले निर्णय लिनुपर्छ ।’

पाण्डेले उक्त प्रस्ताव राखेपछि सभापति देउवाले तत्काल जवाफ फर्काएका थिए । ‘यो कुरा अब तपाईंको पालामा गर्नुहोला । यो मैले गर्न सक्दैन ,’ पाण्डेलाई देउवाको जवाफ थियो ।

महिलालाई टिकट दिन जोड

सहमहामन्त्री उपाध्यायले महिलालाई प्रत्यक्षतर्फ बढी भन्दा बढी उम्मेदवार बनाउनुपर्नेमा जोड दिएकी थिइन् । महिलालाई प्रत्यक्षतर्फ जिताएर ल्याउन सकिए पार्टीका सिनियर पुरुष नेतालाई समानुपातिक सांसद बनाउन सजिलो हुने उनको भनाइ थियो ।

‘केही सिनियर पुरुष नेताहरूले समानुपातिक आउने इच्छा देखाउनु भएको पाइन्छ । उहाँहरूलाई सांसद बनाउन महिलालाई उम्मेदवार धेरै बनाएर जिताउनुपर्ने हुन्छ,’ उपाध्यायले भनिन्, ‘त्यो गरिएन भने भोलि सिनियर नेताहरू नै सांसद बन्नबाट वञ्चित हुने खतरा हुन्छ ।’

प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार बाउन नेतृत्व उदार हुनुपर्ने उनको तर्क थियो । उपाध्यायको प्रस्तावलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले समर्थन जनाएका थिए ।  ‘महिलाहरूलाई धेरै उम्मेदवार बनाउन सकियो भने केन्द्रीय तहका केही नेता समानुपातिक बस्नका लागि सजिलो हुन्छ । भोलि प्रचार प्रसार गर्नका लागि पनि सजिलो हुन्छ,’ पौडेलको भनाइ थियो । शीर्ष नेताहरूको मुड बुझ्दा यसपटक महिला उम्मेदवार धेरै हुनेमा सहमहामन्त्री उपाध्याय आशावादी छिन् ।

‘प्रत्यक्षतर्फ महिलाले टिकट पाउने सन्दर्भमा आजको छलफल सकारात्मक देखेँ । अहिले संघमा उम्मेदवार हुन्छु भन्नेहरूलाई क्षेत्र हेरेर सम्भावना राम्रो देखिन्छ । आजको बैठकले मलाई उत्साहित बनाएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप