शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ब्याटल ग्राउण्ड बाँके २ : राप्रपाबाट धवलशमशेर र गठबन्धनबाट इस्तियाक, दुई गठबन्धनको संकेत

पर्ख र हेरको नीतिमा कांग्रेस, एमाले अन्योलमा
बिहीबार, १६ भदौ २०७९, ११ : १९
बिहीबार, १६ भदौ २०७९

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि बाँके–२ लाई पनि निकै महत्त्वका साथ हेर्न थालिएको छ । यो निर्वाचन क्षेत्रमा ठुला भनिएका राजनीतिक दलहरु ‘ब्याक फुट’मा देखिएका छन् । त्यसो त, यही निर्वाचन क्षेत्रबाट कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला निर्वाचित भएका थिए । तर, आसन्न निर्वाचनमा यो क्षेत्रमा गठबन्धनबाट जसपाका मोहम्मद इस्तियाक राई उम्मेदवार बन्ने चर्चा छ । कांग्रेसबाट उम्मेदवारी दिन आकांक्षी नभएका भने होइनन्, यद्यपि केन्द्रमा सिट बाँडफाँटका क्रममा यो निर्वाचन क्षेत्र जसपा नेपालको भागमा पर्ने आकलन गर्दै कांग्रेसका नेताहरु ‘पर्ख र हेर’को अवस्थामा छन् ।

यो निर्वाचन क्षेत्रबाट राप्रपाका महामन्त्री धवलशमशेर राणा पनि उम्मेदवार बन्ने चर्चा छ । प्रतिनिधिसभातर्फ उम्मेदवार बन्नकै लागि उनले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका थिएनन् । उनी नेपालगञ्ज उपमहानगरपालिकाका पूर्वप्रमुख हुन् ।

जसपाका नेता तथा भौतिक पूर्वाधार मन्त्री मोहम्मद इस्तियाक राईलाई गठबन्धनले उम्मेदवार बनाएको खण्डमा यहाँ एमालेले राप्रपालाई साथ दिने सम्भावना रहेको कतिपयको बुझाइ छ । राप्रपा र एमालेबीच चुनावी तालमेलको बारेमा सैद्धान्तिक सहमति भइसकेको बताइन्छ ।

राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले  एमालेसँग सहकार्य गरेर अगाडि बढ्ने तयारी भइरहेको रातोपाटीलाई बताए । उनले बाँके–२ मा एमालेले राप्रपाका धवल शमशेर राणालाई समर्थन गर्ने र अन्य क्षेत्रमा राप्रपाले एमालेलाई सहयोग गर्ने गरी वार्ता भइरहेको बताए । यस्तै एमाले बाँके जिल्ला अध्यक्ष किस्मत कक्षपतिले राप्रपालाई सहयोग गर्ने विषयमा केन्द्रमा छलफल भइरहेको जानकारी दिँदै आफूहरू पनि केन्द्रको निर्णय कुरेर बसेको रातोपाटीलाई बताए ।

अङ्कगणित यस्तो छ

बाँके क्षेत्र नम्बर २ मा डढुवा गाउँपालिको वडा नम्बर १ देखि ६ सम्म र नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १६ र १७ बाहेक १ देखि २३ सम्मका वडा यही निर्वाचन क्षेत्रमा पर्दछन् । दुई पटकसम्म नेपालगञ्जको मेयर बनेका राप्रपा नेता राणाको व्यक्तिगत प्रभाव रहेको यो क्षेत्रमा अघिल्लो निर्वाचनमा तत्कालीन संघीय समाजवादीका इस्तियाक राई निर्वाचित भएका थिए ।

२०७० सालको निर्वाचनमा यो क्षेत्रबाट उम्मेदवार बनेका धवल शमशेर राणा नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोईरालासँग ११ सय मतान्तरले पराजित भएका थिए । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा बाँके क्षेत्र नम्बर २ भित्रका स्थानीय तहका वडाअध्यक्षका उम्मेदवारले प्राप्त गरेको मत हेर्दा यहाँ नेपाली कांग्रेस पहिलो, एमाले दोस्रो र जसपा तेस्रो स्थानमा देखिन्छ ।

क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको १८ हजार ३७ मत छ भने एमालेको १५ हजार ४७८ मत छ । यस्तै जसपाको १३ हजार ८०९, राप्रपाको ८ हजार ४९४, माओवादी केन्द्रको ६ हजार ८५९, नेकपा एकीकृत समाजवादीको ८२१, लोसपाको ५६४ मत छm ।

यस आधारमा यो क्षेत्रमा सत्तारुढ गठबन्धनको ३९ हजार ५२६ मत देखिन्छ भने एमाले र राप्रपाको जोड्दा २३ हजार ९७२ मत देखिन्छ । राप्रपाका सहायक महामन्त्री क्रृषिराज देवकोटाले स्थानीय चुनाव र संघीय चुनावमा फरक मत आउने दाबी गर्दछन् । उनले नेताहरूको व्यक्तिगत प्रभाव र एजेण्डा आदिका आधारमा मत दिने भएकाले स्थानीय तहको तुलनामा राप्रपाको मत बढ्ने दाबी गरे ।

सुशील कोइरालाको क्षेत्र नछाड्न कांग्रेसमा दबाब

नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय सुशील कोइरालाको गृह क्षेत्र बाँके–२ हो । त्यसैले कांग्रेसका कतिपय स्थानीय नेता तथा कार्यकर्ताले यो क्षेत्र   पार्टीले छाड्न नहुने भन्दै नेतृत्वलाई उम्मेदवारीका लागि दबाब दिइरहेका छन् । क्षेत्रमा कांग्रेसको प्रभाव राम्रो रहेको र स्थानीय तह निर्वाचनमा पनि यो क्षेत्रबाट कांग्रेस पहिलो राजनीतिक शक्तिका रुपमा स्थापित भएको भन्दै उनीहरुले प्रतिनिधिसभामा कांग्रेसले उम्मेदवारी दिनुपर्ने तर्क गरिरहेका छन् ।

कांग्रेसका पूर्व सभापति कोइरालाकी भाइबुहारी किरण कोइराला बाँके कांग्रेसको पूर्व सभापति पनि हुन् । उनले बाँके–२ बाट प्रतिनिधिसभामा उम्मेदवारीको आकांक्षा राखेकी छन् । कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले जिल्लाका तीन वटै प्रतिनिधिसभा क्षेत्र र  ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेस एक्लै प्रतिस्पर्धा गर्न तयार रहेको बताए । तर चुनावी तालमेलमा केन्द्रको निर्देशन पालना गर्न भने पार्टी प्रतिबद्ध रहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप