प्रेरक प्रसङ्ग : जहाँ शिष्टाचार त्यहाँ मान र सम्मान

person explore access_timeभदौ १६, २०७९ chat_bubble_outline0

प्रसङ्ग निकै पुरानो हो । एक पटक फ्रान्सका राजा हेनरी चतुर्थ केही सैनिक अधिकारीका साथ पेरिस नगरमा घुम्दै थिए । बाटोमा एउटा भिखारी देखा परे । कपडा च्यातिएको थियो, शरीर मैलो तर मन भने मैलो थिएन । राजालाई देख्नासाथ उनले शिरको टोपी निकालेर अभिवादन गरे । उनको व्यवहार देखेर राजा हेनरीलाई पनि के लागेछ कुन्नि उनले पनि घोडाबाट ओर्लेर टोपी झिकेर अभिवादन फर्काए ।


राजाको व्यवहार सैनिकहरूलाई मन परेन र आश्चर्य मान्दै सोधे–



‘महाराज ! यो के गर्नुभएको ? भिखारीले अभिवादन गर्‍यो त गर्‍यो । कुन ठूलो काम गर्‍यो । उसको कर्तव्य नै थियो तर सरकारबाट अभिवादन फर्काउन जरुरत थिएन । लौ मानौँ एक छिनलाई फर्काउनै मन लागेछ रे त्यतिसम्म त बुझियो तर सरकारबाट पनि किन उसले जस्तै टोपी फुकालेर अभिवादन फर्काउने काम भयो त्यो भने बुझ्न सकिएन ।’



‘ए हो र ?’ उनीहरूको कुरा सुनेपछि हेनरीले मुस्कुराउँदै भने–

‘यतिका वर्ष सङ्गत गर्‍यौ तैपनि मलाई र मेरो कर्तव्यलाई बुझेका रहेनछौ । यस देशका राजा हुँ, राजा भएका नाताले केही कर्तव्य पनि छन् । तिमीहरूले राजालाई मात्र चिन्यौ राजाको कर्तव्यलाई चिन्न सकेनौ । राजा भइसकेपछि जनताको दुःखसुखमा साथ दिनु पनि पर्छ र उनीहरू जति गरेका छन् सके त्योभन्दा बढी नसके पनि उनीहरूले गरेजति भने गर्नैपर्छ । के फ्रान्सका राजामा एउटा भिखारी जति पनि शिष्टाचार छैन भन्ने ठानेका छौ ? उसले आफ्नो गच्छे अनुसार अभिवादन गरेर आफ्नो शिष्टाचार पूरा गर्‍यो । मैले आफ्नो गच्छे अनुसार त्योभन्दा बढी शिष्ट भएर प्रस्तुत हुनुपथ्र्यो । त्यो त सकिएन नै तर उसले जति पनि नगरी कसरी कृतघ्न बन्न सक्छु ?’

राजाको कुरा सुनेर सैनिकहरूको होस खुल्यो । त्यस दिनदेखि उनीहरूले पनि त्यस्तै गर्न थाले ।

हो, जीवनमा शिष्टाचारको ठूलो महत्व हुन्छ, जसलाई कुनै धन, मान वा पद, प्रतिष्टा र पैसाले मापन गर्न सकिन्न । यसलाई मापन गर्ने त व्यवहारले नै हो । जतिसुकै ठूलो पदमा पुगेको भए पनि र जतिसुकै धनी भए पनि शिष्टाचार छैन भने उसलाई कसैले राम्रो मान्दैन तर शिष्टाचारको धर्म निर्वाह गर्ने गरेको छ भने जति नै गरीव भए पनि सम्मान र प्रशंसा भइरहेको हुन्छ ।

महाभारतमा एउटा कथा छ । राजकुमार दुर्योधन निकै धनी र मानी थिए । हस्तिनापुरका राजकुमार हुने नै भए । कुरु राजखानदानीका कारण मान पनि थियो शान पनि थियो । अहिलेसम्म पनि दशैँको टीका लगाउँदा दुर्योधनको जस्तो मान होस् भनेर मान्यजनहरूले हामीलाई आशीर्वाद दिने गरेका छन् तर उनको शिष्टाचार भने थिएन । त्यसैले उनलाई कसैले पनि राम्रो भन्दैनथे, मान्दैनथे । अगाडि पर्दा डरका कारण बोल्न नसके पनि उनलाई राम्रो मान्ने उनकै बाबुआमा र मामाबाहेक कोही थिएनन् ।

तथापि महात्मा विदुरलाई भने सबैले राम्रो मान्थे । किनकि उनले शिष्टाचारको धर्म निर्वाह गर्ने गरेका थिए । यद्यपि उनी दाशीपुत्र थिए । न पद थियो न पैसा । तैपनि सबैले राम्रो भनेका थिए, मानेका थिए । स्वयं भगवान् कृष्णसमेत दुर्योधनको दरबारको चौरासी व्यञ्जन लत्याएर उनको घरको साग खान पुगेका थिए ।

त्यस्तै रावण र विभिषणलाई पनि अर्को उदाहरणका रूपमा लिन सक्छौँ । रावण त्रिलोक विजयी थिए । पैसाको त के कुरा गर्ने सुनको लङ्का नै साथमा थियो । देवीदेवतासमेत नाम सुन्ने बित्तिकै थर्कमान हुने गर्थे तर उनमा शिष्टाचार थिएन । काट्ने, मार्ने, ठग्ने, लुट्नेबाहेक जानेकै थिएनन् । यहाँसम्म कि स्वयं भगवान् शिवको अर्धाङ्गिनीमा समेत आँखा लगाउन पुगेका थिए । माता सीताको त अपहरण नै गरेका थिए, जसले गर्दा उनलाई राम्रो मान्ने कोही तयार थिएनन् । यसको मूल कारण शिष्टाचारको अभाव नै थियो तर उनकै भाइ विभीषणसँग भने केही पनि थिएन । देशै निकालामा परेका थिए । तैपनि उनलाई सबैले मान्थे किनकि उनको साथमा शिष्टाचारको धन थियो ।

यी केही उदाहरण हुन् । खोज्दै जाने हो भने यस्ता सयौँ उदाहरण पाउन सकिन्छ । यसैबाट प्रष्ट हुन्छ ठूलो मानिस हुनुका लागि धन, मान, पद, पैसा र प्रतिष्ठा होइन शिष्टाचार चाहिन्छ । शिष्टाचार भए जहाँ पनि मान र सम्मान पाइन्छ । नभए घरैभित्रसमेत चैनको निद पाइन्न । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।