शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चितवन –२ मा चासो : ‘बादल’ वर्षिने कि गठबन्धन गर्जिने ?

शुक्रबार, १७ भदौ २०७९, ०७ : ४८
शुक्रबार, १७ भदौ २०७९

आसन्न प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धन र एमालेबाट उम्मेदवार बन्न आकांक्षीहरुले सक्रियता बढाएका छन् । यो निर्वाचन क्षेत्रमा प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको करिबकरिब उस्तै प्रभाव रहे पनि गठबन्धनबीच तालमेल भएको अवस्थामा भने यो क्षेत्रको चुनावी प्रतिस्पर्धामा एमाले कमजोर हुने देखिन्छ ।

चितवन नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृह जिल्ला हो भने कुनै बेला उनका सहयात्री रहेका पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’को गृह जिल्ला पनि चितवन नै हो । बादल हाल नेकपा एमालेमा छन् । उनी एमाले उपाध्यक्षसमेत हुन् । चितवन–२ बादलको निर्वाचन क्षेत्र पनि हो ।

यता कांग्रेस पनि पछिल्लो समय सो क्षेत्रमा आफ्नो प्रभाव बढेको दाबी गर्दै आएको छ । विगतको निर्वाचनमा पनि कांग्रेसले सो क्षेत्रबाट संसदमा प्रतिनिधित्व गरेको देखिन्छ भने माओवादी केन्द्र र एमालेले पनि सो क्षेत्रबाट चुनाव जितेका छन् ।

एमालेबाट बादल, अधिकारी कि पोखरेल ?

चितवन–२ बाट उम्मेदवार छान्न एमालेलाई सकस हुने देखिएको छ । माओवादी छाडेर एमालेमा आएका रामबहादुर थापा ‘बादल’ स्वाभाविक रुपमा यो क्षेत्रबाट उम्मेदवार बन्न इच्छुक छन् । पार्टीको उपाध्यक्षको भूमिकामा रहेका कारण पनि उनको दाबी बलियो देखिन्छ ।

यद्यपि, एमालेमै लामो समय संघर्ष गरेका नेता पनि यस क्षेत्रबाटै उम्मेदवार बन्न दाबेदारी गरिरहेका छन् । एमालेबाट कृष्णभक्त पोखरेल, काशीनाथ अधिकारी र विजय सुवेदी यो निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्न प्रयासरत छन् ।

कांग्रेसबाट २ मन्त्रीसहित ११ जनाको आवेदन

चितवन–२ बाट प्रत्यक्षतर्फ चुनाव लड्न कांग्रेसका बहालवाला २ जना मन्त्रीसहित ११ जनाले इच्छा जाहेर गरेका छन् । यस क्षेत्रबाट उम्मेदवारीका लागि ११ जनाले आवेदन दर्ता गराएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी, कांग्रेसका चितवन जिल्ला सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, निवर्तमान उपसभापति कैलाश कोइराला, निवर्तमान सह–सचिव राजन कार्की, नेता प्रकाश अधिकारी, तरुण दल चितवनका अध्यक्ष राजन ताम्राकार, भरत सापकोटा र इन्दिरा कुमारी सडौला सापकोटाले उम्मेदवारीका लागि आवेदन दिएका छन् ।

राज्यमन्त्री श्रेष्ठले चितवन–१ बाट पनि प्रत्यक्ष तर्फबाट उम्मेदवार बन्न आवेदन दिएका थिए । यता माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुले भने सो क्षेत्रमा खासै चासो राखेका छैनन् । 

माओवादी केन्द्रले चितवन–३ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उम्मेदवार बनाउने भएकाले चितवन–२ मा भने खासै चासो राखेको छैन । माओवादी केन्द्रका एक नेताका अनुसार चितवन–३ प्रचण्डलाई गठबन्धनबाट निर्विकल्प उम्मेदवार बनाउनका लागि चितवन–२ मा माओवादी केन्द्रबाट कसैले दाबी नगरी बाटो खुला गरिदिएको हो ।

तर, उम्मेदवार नै नभएर सो क्षेत्रमा माओवादीले दाबी नगरेको भन्ने बुझाइ गलत हुने उनले बताए । सो क्षेत्रको प्रदेशसभातर्फ भने माओवादी केन्द्रले दाबी गर्ने उनको भनाइ छ ।

एकीकृत समाजवादीले पनि चितवन–२ मा संघीय क्षेत्र छोडेर प्रदेशसभातर्फ नै दाबी गर्ने भएको छ । एकीकृत समाजवादीको खासै प्रभाव नरहेको सो क्षेत्रको प्रदेशसभामा भने उम्मेदवार उठाउने तर कसलाई उम्मेदवार बनाउने भन्नेबारे छलफल नभएको सो पार्टीका एक नेताले बताए ।

गठबन्धन भर्सेस एमाले : कसको अवस्था कस्तो ?

सत्ता गठबन्धनसँग एक्लै चुनाव लड्ने तयारीमा रहेको एमाले अहिले पार्टी विभाजनको मारमा छ । २०७८ भदौमा विभाजित भएको एमालेलाई अघिल्ला निर्वाचनको तुलनामा अहिले निकै सकस देखिन्छ ।

चितवन–२ मा एमालेलाई राप्रपाले सघाउने सम्भावना छ । यद्यपि, गत वैशाखमा सम्पन्न निर्वाचनको परिणामलाई आधार मान्ने हो भने राप्रपाले सघाउँदा समेत एमालेलाई चितवन–२ मा जित निकाल्न सहज भने देखिँदैन ।

चितवन–२ मा इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र भरतपुर महानगरपालिकाका १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ गरी १० वटा वडा पर्दछन् । २०७४ को स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिको नेतृत्व माओवादी केन्द्र र कांग्रेसको गठबन्धनले जितेको थियो भने कालिकाको नेतृत्व एमालेले जितेको थियो । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको नेतृत्व कांग्रसले लिएको थियो ।

२०७९ को स्थानीय तह निर्वाचनमा भने चितवन–२ को समीकरण बदलिएको छ । भरतपुरको नेतृत्व कांग्रेस–माओवादीको गठबन्धनले जित्दा अन्य २ वटा स्थानीय तहको नेतृत्व एमालेको पोल्टामा परेको छ ।

भरतपुरको मेयरमा माओवादी केन्द्रकी रेणु दाहालले ५२ हजार २८ मतसहित जित्दा उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ५२ हजार ८०३ मतसहित जिते । भरतपुरको मेयरमा एमालेका विजय सुवेदी ३९ हजार ५८२ मतसहित पराजित भए भने उपमेयरमा एमालेको सहयोगमा राप्रपाकी हिमला गुरुङले ३० हजार ६११ मत पाइन् ।

यता कालिका नगरपालिकाको मेयरमा एमालेका विनोद रेग्मी १० हजार ७१४ मत सहित निर्वाचित हुँदा कांग्रेसका शिवराम केसी १० हजार ५७१ मतसहित पराजित भए । उपमेयरमा एमालेकी विमला तामाङले १० हजार ४४९ मतसहित चुनाव जित्दा गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार सविता लामाले ९ हजार ६८८ मत पाइन् ।

उता इच्छाकामना गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसकी गीता कुमारी गुरुङले ४ हजार ६०८ मत पाउँदा एमालेका दानबहादुर गुरुङ ६ हजार ११० मत सहित विजयी भए । उपाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार प्रताप गुरुङ ५ हजार ४४ मतमा सीमित हुँदा एमालेकी माया सिलवालले ५ हजार ३४४ मतसहित चुनाव जितिन् ।

विगतका ६ वटा संसदीय निर्वाचनमा कसको अवस्था कस्तो ?

सो क्षेत्रमा विगतका ६ वटा निर्वाचन परिणामलाई हेर्ने हो भने कम्युनिस्टले ४ पटक चुनाव जित्दा कांग्रेसले २ पटकले जितेको देखिन्छ । सो क्षेत्रबाट कम्युनिस्टको चार पटकको जितमध्ये माओवादीले एक पटक, एमालेले २ पटक र नेकपा एकीकृतले एक पटक संसदमा प्रतिनिधित्व गरेको छ ।

२०४८ मा भएको आम निर्वाचनमा नेकपा एकीकृतले चितवन–२ बाट चुनाव जितेको थियो । सो पार्टीको तर्फबाट उम्मेदवार बनेका भीमबहादुरले श्रेष्ठले २५ हजार ७१६ मत ल्याएर चुनाव जित्दा कांग्रेसका गंगाधर लम्सालले २४ हजार १४० मत पाएका थिए ।

त्यसपछि २०५१ मा भएको संसदीय निर्वाचनमा एमालेका काशीनाथ अधिकारीले १७ हजार ५९२ मत ल्याएर चुनाव जित्दा कांग्रेसका टेकप्रसाद गुरुङ १२ हजार ३८९ मतमा सीमित रहेर पराजित भए । सो निर्वाचनमा चितवन–२ बाट राप्रपाका नन्दप्रसाद भट्टराईले ४ हजार ४६ मत पाएका थिए ।

२०५६ मा भएको आम निर्वाचनमा भने चितवन–२ मा एमालेले आफ्नो जितलाई कायम राख्न सकेन । सो निर्वाचनमा चितवन–२ बाट कांग्रेसका एकनाथ रानाभाट २१ हजार ७२७ मतसहित विजयी हुँदा एमालेकी उम्मेदवार सिताकुमारी पौडेलले १९ हजार ५०२ मत ल्याइन् । यस्तै, मालेका डम्बर श्रेष्ठ ३ हजार ७७४ र राप्रपाका कृष्णबहादुर लामा १ हजार ३१३ मतमा सीमित भए ।

२०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा यस क्षेत्रबाट माओवादी केन्द्रका रामबहादुर थापा ‘बादल’ले २१ हजार ४०९ मत सहित चुनाव जिते । उक्त निर्वाचनमा कांग्रेसका एकनाथ रानाभाटले १३ हजार ९ मतमात्र प्राप्त गरे । एमालेका काशीनाथ अधिकारीले ११ हजार ३१२ मत पाए भने मालेकी भगवती घिमिरेले २ हजार १७९ मत पाइन् ।

२०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा चितवन–२ बाट कांग्रेसका शेषनाथ अधिकारी १७ हजार ८१० मतसहित निर्वाचित भए । एमालेका कृष्णप्रसाद शर्मा खनालले १६ हजार ८११ मत पाएका थिए भने माओवादी केन्द्रका विश्वभक्त दुलाल ‘आहुती’ले ९ हजार ३२० मत पाएका थिए ।

२०७४ मा भएको संसदीय निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भयो । उक्त निर्वाचनमा चितवन–२ बाट एमालेका कृष्णभक्त पोखरेलले ४४ हजार ६७० मत सहित जित हासिल गरे । कांग्रेसका शेषनाथ अधिकारीले २७ हजार ३१४ मत पाएका थिए भने विवेकशील साझाका भुपेन्द्रराज बस्नेतले १ हजार २४५ मत पाए ।

चितवन–२ को प्रदेशसभातर्फ एउटा सिट माओवादी केन्द्र र अर्को सिट नेकपा एमालेले जित्यो । चितवन–२ (क)बाट माओवादी केन्द्रका घनश्याम दाहालले २० हजार ३८१ मतसहित चुनाव जित्दा कांग्रेसका जितनारायण श्रेष्ठ १५ हजार ६६३ मतसहित पराजित भए । चितवन–२ (ख)मा भने एमालेका विजय सुवेदी २१ हजार ५७२ मतसहित निर्वाचित हुँदा कांग्रेसका प्रकाश अधिकारी १२ हजार ६७० मतमा सीमित भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप