बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘दुःखमा भन्दा खुसीमा आँसु झार्न सजिलो रहेछ’

शुक्रबार, १७ भदौ २०७९, १३ : ५५
शुक्रबार, १७ भदौ २०७९

आफूले देखेको सपान पूरा हुँदा कसलाई पो खुसी लाग्दैन र ? त्यसैले सोफिया भुजेल पनि अहिले धेरै खुसी छिन् । उनको सपना एक दिन ‘मिस युनिभर्स नेपाल’को ताज जितेर ‘मिस युनिभर्स’मा पुग्ने थियो । त्यो अहिले पूरा भएको छ ।
उनले केही दिनअगाडि राजधानीमा आयोजित ‘मिस युनिभर्स नेपाल’ सौन्दर्य प्रतियोगितामा १८ प्रतियोगीलाई पछि पार्दै ताज जित्न सफल भएकी हुन् । ताजसँगै उनले नगद १० लाख र विभिन्न गिफ्टसमेत हात पारेकी छन् ।
अक्सर मानिस आफ्नो सपना पूरा हुँदा  हाँस्छन् । उनी भने ताज पहिरिँदै गर्दा स्टेजमै रोएकी थिइन् । त्यो आँसु आफ्नो खुसीको भएको उनले बताइन् । 

‘सन् २०१९ देखिको मेरो सौन्दर्य प्रतियोगिता यात्रा थियो । यो समयकै लागि आफूलाई निखार्न म विभिन्न सौन्दर्य प्रतियोगितामा पनि भाग लिएको थिएँ,’ उनले भनिन्, ‘तीन वर्षको मिहिनेतपछि उपाधि हातपर्दा आँसु थाप्न सकिनँ ।’ सपना पूरा भएको बेला खसेको आँसु खुसीले झरेको उनले सुनाइन् ।

सन् २०१९ मा उनी बैङ्लोरबाट अध्यायन पूरा घर नेपाल फर्किएकी मात्र थिइन् । त्यतिबेला उनी ‘मिस नेपाल’मा सहभागी भइन् । त्यो समय पनि उनको सोच त ‘मिस नेपाल’ भन्दा पनि ‘मिस युनिभर्स’ नै थियो । त्यसैले त्यहाँ उनको मिहिनेत पुगेन वा उनले ध्यान दिन सकिनन् । उत्कृष्ट सेभेनमै अड्किइन् ।

त्यसपछि फेरि उनले ग्लोबल एसियन मोडलमा नेपालको प्रतिनिधित्व गरिन् । फिलिपिन्समा आयोजित यो कार्यक्रममा उनी उत्कृष्ट १० मा पर्न सफल भइन् । त्यहाँबाट फर्किएलगत्तै उनी २०२२ मै इजिप्टमाको ‘मिस इको इन्टरनेसनल’ मा सहभागी भइन् ।

त्यहाँबाट फर्किएपछि ‘मिस युनिभर्स’मा सहभागी भएकी उनले अहिले ‘मिस युनिभर्स’को शीर्ष उपाधि नै उठाउन सकिन् । यसको श्रेय उनी यस अगाडिका सबै प्रतियोगितालाई दिन्छिन् । भनिन् ‘सबै प्रतियोगितामा निखिरिँदै आएका कारण अहिले उपाधि जित्न सम्भव भएको हो ।’

हुन त एक समय उनको ‘मिस नेपाल’ बन्ने सोच नभएको भने होइन । तर सौन्दर्य प्रतियोगिताको बारेमा बुझ्दै जाँदा भने उनको ‘मिस नेपाल’ भन्दा ‘मिस युनिभर्स’प्रति मोह पलायो । कारण खुलाइन् ‘मिस युनिभर्सले नै हामी महिलालाई राम्रो सहभागिताको अवसर दिएको छ । यसमा अगामी वर्षबाट सबै प्रकारका महिलासमेत सहभागी हुन पाउँछन् ।’

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अधिकांश विजेताको लक्ष्य शीर्ष ताज स्वदेश भित्र्याउने हुन्छ । उनको पनि यो लक्ष्य छ । फरक यति हो, सबै प्रतियोगी ताजको अलवा नेपाली कलासंस्कृति र नेपाल चिनाएर फर्किन्छु भन्छन् । उनी भने नेपाली चिनाउँछु भन्छिन् । ‘म यो पटक नेपाली मानिस चिनाउँछु । नेपालको प्राकृति सौन्दर्य र हिमाललगायत धेरै कुरोको त विश्वलाई थाहा छ,’ उनले अगाडि थपिन्, ‘हामी नेपाली वल्र्डकै सबैभन्दा बेस्ट व्यक्ति हो । किनभने हामी संसारमा जहाँ भए पनि मद्दत गरिरेहका हुन्छन् । हामी नेपालीलाई मात्र होइन, विश्वका सबैलाई मद्दत गर्न अग्रसर छौँ । त्यो नेपालीपन म विश्वमा राख्छु ।’

अन्तर्राष्ट्रिय प्रतियोगिता सिकाइका रूपमा पनि सदुपयोग हुुने उनले बुझेकी छन् । कार्यक्रममा धेरै देशका फरक फरक व्यक्तिसँग भेट हुने भएकाले त्यो सिकाइ अविस्मरणीय हुने उनको भनाइ छ ।
उनका बुबाको हिमाल आरोणको समय प्रयोग हुने टेन्टको व्यवसाय छ । उनले बचेको समय यसमा पनि दिने गरेकी छन् । भविष्यमा भने उनको अर्कै व्यवसाय गर्ने सोच छ । त्यो के हो, अहिले उनले राख्न चाँहिनन् ।
पछिल्लो समय सौन्दर्य प्रतियोगिताका बारेमा नकारात्मक कुरा बजारमा फैलिएको छ । यस्तो अवस्थामा प्रतियोगिता बन्द गर्नुपर्ने आवाज उठ्नु स्वाभाविक हो । तर उनी यस्ता प्रतियोगिता बन्द गर्न नहुने बताउँछिन् ।  

‘सौन्दर्य प्रतियोगिताले मानिसलाई अगाडि बढ्ने हरेक कुरो सिकाउँछ । यो एउटा यस्तो राम्रो प्लेटफर्म हो, यसले मानिसलाई सही तरिकालेसमेत अगाडि बढ्न सिकाउँछ,’ उनले थपिन्, ‘प्रतियोगिता जिते पनि हारे पनि यसमा सिकेको कुरो भने सधैँ सदुपयोग गर्न सकिन्छ ।’

प्रस्ट बोली, हँसिलो अनुहार २६ वर्षीया जवान  सोफिया काठमाडौँकी स्थायी बासिन्दा हुन् । 

सोफियासँग गरिएको भिडियो संवाद

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप